बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के छ भ्रष्टाचारको वास्तविक कारण ?

बुधबार, १० जेठ २०८०, १५ : १४
बुधबार, १० जेठ २०८०

पछिल्लो नेपाली राजनैतिक घटनाक्रम अन्तरगत नक्कली भुटानी शरणार्थी काण्डले सर्वाधिक चर्चा पाएको छ । हुन त यस्ता काण्ड नेपाली समाजमा नयाँ भने होइन । विगतमा पनि यस्ता धेरै काण्ड तपाईं हामीले देखि भोगी आएका छौं । शरणार्थीलाई पुनर्वास गराउने जिम्मा पाएको तालुकदार निकाय गृह मन्त्रालयका जिम्मेवार व्यक्तित्वहरूबाट यस्तो निम्न स्तरको ठगी धन्दा चलाउनु लज्जाजनक कुरा हो । 

जिम्मेवारी र नेतृत्वको आधारबाट भन्ने हो भने यस काण्डको जिम्मा स्वयं तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीले पनि लिनुपर्ने हुन्छ । हामीलाई थाहा छैन, खै के के गरे, म संंलग्न छैन भनेर उम्किन मिल्दैन । प्रत्यक्ष वा परोक्ष रुपमा उनीहरुको पनि संलग्नता वा ग्रीन सिग्नल थियो होला भनेर अनुमान गर्न सकिन्छ । 

हालसम्म प्रहरीले वारेण्ट जारी गरेको मध्ये पूर्व गृहमन्त्री वालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री तथा एमाले केन्द्रीय सचिव टोपवहादुर रायमाझीलगायत ठूला माछा ढोक्सामा परिसकेका छन् । 

काण्डैकाण्डको राजनीति

खास गरी, वहुदलीय व्यवस्थाको पुनरस्थापनापछि भ्रष्टाचारको अझ धेरै काण्ड सार्वजनिक हुँदै आएको देखिन्छ । संसदीय अभ्यास यता लाउडा काण्ड, धमिजा काण्ड, सुडान घोटला काण्ड, सिक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड, ३३ किलो सुन काण्ड, यति समूह र गिरीवन्धु टी स्टेटको जग्गा विक्री काण्ड निकै चर्चामा रहेको छ । 

त्यस्तै, ललिता निवास काण्ड, वतास काण्ड, वाइड वडी जहाज काण्ड, चकलेटमा भन्सार छुट काण्ड, कालीगण्डकी डाइभर्सन काण्ड, पप्पु कन्सट्रक्शन काण्ड, सांसद अपहरण काण्ड, पानी ट्याङकी काण्ड, स्वस्थ्य सामग्री खरिदसम्वन्धी ओम्नी काण्ड पछिल्लो उदाहरण हुन् । 

अरुको त के कुरा गर्नु यता नयाँ गर्छौं भनेर आएका रास्वपाका सांसद ढाका कुमार श्रेष्ठले कोर टिमलाई वुझाउने नगदनारायण खोजी काण्ड पनि कम चर्चामा छैन । अर्थात् यस्ता काण्डमा मात्रामा धेरथोर होला तर कुनै पार्टी, समूह र व्यक्ति कोही पनि अछुत देखिदैन । यो नै हाम्रो राष्ट्रिय राजनीतिको नितान्त विडम्वनापूर्ण कथाव्यथा हो ।

प्रणालीमै समस्या

भ्रष्टाचार गर्नु अपराध हो । यसो गर्नु भनेको जीवन वर्वाद गर्नु हो । समाजबाट वहिष्कृत हुनु हो । लामो संघर्षपछि आर्जन गरिएको प्रतिष्ठा र ईज्जत लिलाम गर्नु हो । वदनामी कमाउनु हो । सवैको नजरबाट तल झर्नु हो । सवैको गाली खानु हो । सवैले छिः भनेर थुकी माग्नु हो । अझ त्यसमा पनि राजनैतिक जीवनमा होमिएकाहरुको लागि त यो मृत्युवरण गरेतुल्य हो । राजनैतिक जीवनलाई समाप्त गर्नु हो । भ्रष्टाचारबारे यति न्युनतम् कुरा सबैलाई थाहा छ । 

अब भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाइन्छ । म भ्रष्टाचार पटक्कै गर्दिन र अरुलाई पनि गर्न दिन्न । कसैले गरेछ भने तुरुन्तै कारवाही गर्नेछु भनेर सार्वजनिक फोरमहरुमा प्रत्येक नेताहरुले सस्तो प्रतिवद्धता जाहेर गरिरहन्छ । तर पनि भ्रष्टाचार अन्त्य हुँदैन किन ? यस्ता यक्ष प्रश्नहरुको सही जवाफमा मात्र भ्रष्टाचार अन्त्यको वस्तुवादी अस्त्र भेट्न सकिन्छ । 

    वस्तुतः भ्रष्टाचार कुनै अमूक व्यक्ति, समूह र पार्टीको मात्र सवाल होइन । यो समाजको आम समस्या हो । भ्रष्टाचारको भाष्य निर्माण समाजलाई दिशानिर्देश गरिरहेको पद्दति र प्रणालीमा निर्भर हुन्छ । अर्थात् राजकीय प्रणालीद्वारा निर्देशित हुन्छ । 

पुँजीवादी लोकतन्त्र भनेको मूलतः तेरो मेरो निहीत निजी स्वार्थद्वारा निर्देशित समाज व्यवस्था हो । यसमा निजत्व प्रधान हुन्छ । आत्मकेन्द्रीत व्यक्तिवादी स्वार्थ प्रधान हुन्छ । हरेक सामाजिक सत्ताहरुमा आफू र आफन्तलाई प्राथमिकतामा राखिन्छ ।  यस्तो राजकीय व्यवस्थामा आपैmले मात्र अरुले भन्दा धेरै कमाउने वा कुम्ल्याउने चिन्तन् हावी हुन्छ । तव जता जाँदा पनि नगदनारायणको खोजी हुन्छ । नेतालगायत आम नागरिकमा यसैको नराम्रो प्रभाव परेको हो । 

     अर्कोतिर पुँजीवादी संसदीय प्रणालीको प्राण भनेकै आवधिक चुनाव हो । तर यो आवधिक चुनाव असाध्यै खर्चालु वन्दै गइरहेको छ । यसले सिंगो संसदीय प्रणालीमाथि नै गम्भीर प्रश्न उठाइरहेको छ । 

सही विचार, दृष्टिकोण र दर्शन भन्दा पनि औसत विधिमार्पmत् जसरी पनि चुनाव जित्नैपर्ने भाष्य हावी भएको छ । ईमान्दारिता, विवेक, आस्था र आदर्श भन्दा पनि साम, दाम, दण्ड र भेदको रणनीति मौलाइरहेको छ । यसले आम मानिसको दिमागलाई भ्रष्टीकृत र प्रदूषित पारिरहेको छ ।

चुनाव मात्र होइन, यस्तो पुँजीवादी प्रणालीमा अन्य सामाजिक भोजभतेर पनि असाध्यै खर्चालु, आडम्वरी र ढोंगी हुने गर्दछ । तब हरेक मान्छेलाई अत्याधिक लोभ जाग्ने गर्दछ । समाज रुपवादी छ । कसले कति तामझाम र तडकभडक देखायो त्यसैमा उसको नायकत्व र प्रभुत्व मापन गर्ने गरिन्छ । यस्तो समाजमा आडम्वरी, रवाफ र घमण्ड आधारभूत पूर्वशर्त बन्न पुग्छ । अरुलाई देखाउनकै लागि ठूलो धनराशी खर्च गरिने यही प्रणालीगत त्रुटीका कारण भ्रष्टाचार हाम्रो समाजको अभिन्न अंग भइरहेको छ ।  

गल्ती आत्मसात गरिदैन

     वस्तुतः गलत वा नराम्रो विचार र आचार लिनु नै भ्रष्टाचार हो । नेपाल संस्थागत र नीतिगत भ्रष्टाचार भइरहेको मुलुक हो । वारम्वारको घटनालाई नियाल्दा यहाँ अपवादबाहेक तल–माथि वा ठूला–साना सबैले धेरथोर अनियमितता गरि नै रहेको देखिन्छ । ठूलो विटा पैसा कुम्ल्याउनु मात्र भ्रष्टाचार होइन । कसैले विधि प्रक्रियालाई नजरअन्दाज गर्दै भनसुन गरिदिनु न भन्नु पनि भ्रष्टाचार नै हो । 

कानुनसंगत जेल वा हिरासतमा पुगेको व्यक्तिलाई विना प्रक्रिया शक्ति दुरुपयोग गरेर रिहा गर्नु भनेको पनि भ्रष्टाचार नै हो । लाइनमा नबसी कुपन लिनु पनि भ्रष्टाचार नै हो । प्रक्रिया र विधि मिच्न सक्ने वा पहुँच देखाउन सक्नेलाई यहाँ वीरवहादुर ठान्ने जुन सामाजिक मनोवृत्ति छ,  त्यो सरासर गलत हो । यही मनोविज्ञान संस्थागत हुने अवतार नै भ्रष्टाचार हो । यो हाम्रो नीतिगत आम समस्या हो । 

कसैले गल्ती गरिहाल्यो भने त्यस वापतको दण्डसजाय भोग्छु भन्नु नैतिक इमान्दारिता हो । तर नेपालमा त्यस्तो साँस्कृतिक अभ्यास छैन । यहाँ त वरु उल्टै त्यही भ्रष्टाचारीको अझ ठुल्ठुला कुरा हुन्छ । उसलाई जोगाउन पनि ठूलो शक्ति लाग्छ । पछिल्लो समय केपी ओलीले टोपवहादुर रायमाझीको विषयमा अनि शेरबहादुर देउवाले खाणको अभिव्यक्त गरेका भनाइहरुबाट यसको पुष्टि हुन्छ । 

यसबाट के पुष्टि हुन्छ भने दलबल पुग्दा वा दलबल हुनेहरु विरुद्ध मुद्धा हाल्न र दोषी उपर सजाय गराउन सकिदैन । शक्तिको चरम् दुरुपयोग भनेको यही हो । 

निष्कर्ष

भ्रष्टाचार अन्त्य गर्ने हो भने पुँजीवादी संसदीय प्रणालीको विकल्प खोज्नुपर्ने हुन्छ । निजी स्वामित्व, खर्चालु चुनाव र आडम्वरी उपभोगवादी सामाजिकीकरण नै भ्रष्टाचारको कारक पक्ष हुन् । यस्तो प्रणालीमा अरुले भन्दा वढी कमाउने, अरुले भन्दा रवाफ र रुप देखाउने अनि जसरी पनि चुनाव जित्ने वा वहुमत ल्याउने चक्करमा ईमान्दार विरासत वोकेको पार्टी र व्यक्तिहरु पनि चिप्लिन्छन् । 

प्रणालीमा रहेको समस्याकै कारण यहाँ भ्रष्टाचार लगायतका अपराधमा संलग्नहरुसमेत शक्ति, सत्ता र पैसाको वलमा निर्दोष बनिरहेका छन् भने कतिपय पहुँच नहुनेहरुले नराम्ररी दुःख पनि पाइरहेका छन् । 

अपराधीलाई कारवाही भन्दा पनि यो वा त्यो वहाना, कारण र पार्टीगत वा व्यक्तिगत लाञ्छना र अन्तरविरोधको लेपन लगाउँदै निर्दोष करार गरेर चोख्याउने चलन पटक्कै राम्रो होइन । हाम्रो राजनैतिक रङ्गमञ्चमा बलवुताले भ्याएसम्म यस्तै नाटक मञ्चन हुँदै आएको छ ।  

मूलतः यस्ता विकृति र विसंगतिहरुको समूल अन्त्य आजको अपरिहार्य आवश्यक्ता हो । त्यसको लागि हामी आ–आफै सच्चिनु एउटा कुरा हो भने प्रणालीगत समस्याको निदान खोज्नु अर्को समाधान हो । होइन भने भ्रष्टाचार अन्त्य र सुशासनको कुरा बनीबनाउ चाहना वा मीठो सपना मात्र हुनेछ । मतदातालाई व्ल्याकमेलिङ गर्ने गुलियो ललीपप मात्र वन्नेछ । यता भित्र–भित्र  नीतिगत तथा व्यक्तिगत भ्रष्टाचार भइ नै रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप