सुमीको मानव सेवाघर : बेवारिसहरूका लागि परिवार बन्दै
बारा । मानसिक सन्तुलन गुमाएर सडक किनारको फोहोरमा जीवन जिउन बाध्य थिइन् बारा, निजगढकी देउती बुढाथोकी । उनी आफू नजिक पर्ने जो कोहीलाई पनि ढुंगा हान्ने अनि गाली गर्ने गर्थिन् ।
गएको फागुनमा देउतीलाई मानव कल्याण समाजले उद्धार गरी मानव सेवाघरमा ल्यायो । तीन महिनाको न्यानो सेवा पाएर देउती अहिले सामान्य अवस्थामा फर्किएकी छिन् ।
मानसिक सन्तुलन गुमाएर झुत्राझात्री फोहोर कपडामा बेरिएर सडक पेटीमा बरालिँदै हिँडेको दृश्य हामी जताततै देख्छौँ । तर हामीलाई त्यसको खासै वास्ता हुँदैन । फोहोरमा बस्ने अनि फोहर नै खाएर बाँच्ने त्यस्ता मानिसको पीडा हामीले कल्पना गरेभन्दा निकै कष्टकर हुन्छ । आश्रयविहीन सडक मानवको पीडा बुझेर उनीहरूलाई उद्धार गर्दा प्राप्त हुने आनन्दको अनुभूति भने एउटा असल सेवकले मात्रै गर्न सक्छ ।

मानसिक सन्तुलन गुमाएर बारा निजगढ आसपासको सडकमा बरालिँदै अरूलाई ढुंगा हान्दै हिँडेको अवस्थामा फेला पारेर उद्धार गरिएका अर्का हुन् युवराज तिमिल्सिना । उनी पनि तीन महिनादेखि सेवाघरका सदस्यहरूबाट पाएको सेवाको प्रभावले अहिले आफ्नो नाम भन्न सक्छन् ।
मानव कल्याण समाजको निजगढस्थित सेवाघरमा देउती र युवराजजस्तै १८ जना महिला तथा पुरुषहरू छन्, जसलाई स्थानीय पालिका तथा प्रहरीको सहयोगमा मानव कल्याण समाजका सदस्यहरूले सडकबाट उद्धार गरेर सेवाघरमा ल्याएका हुन् ।
आफ्नो परिवार र समाजबाट टाढिएर पहिचान गुमाएका सडकमा बेवारिसे अवस्थामा हिँडेकाहरूलाई उद्धार गर्न अहिले मानव सेवा समाजले बारा जिल्लाभर नै अभियान चलाएको छ । सेवाघरमा उद्धार गरेर ल्याइएकाहरू मध्ये ९० प्रतिशत मानसिक रूपमा सन्तुलन गुमाएकाहरू छन् । सबैका आ–आफ्नै कथा, व्यथा छन् ।

मानव सेवा समाज भक्तपुरकी संस्थापक अध्यक्ष सुमी मानवले सेवाघरमा आउनेहरू अधिकांश मानसिक रूपमा सन्तुलन गुमाएकाहरू भएकाले उनीहरूलाई चौबीसै घण्टा निगरानी र विशेष प्रकारको स्वास्थ्य सेवाको आवश्यक पर्ने बताउँछिन् ।
भक्तपुरबाट सुरुवात
सडक मानवको दुःख र पीडालाई भित्रैबाट बोध गरेपछि सुमीले केही युवाहरूको सहयोगमा ७ वर्षअघि यो अभियान सुरु गरेकी हुन् । २०७५ सालदेखि भने औपचारिक रूपले भक्तपुरमा संस्था नै दर्ता गरेर सेवा बिस्तारमा लागेकी सुमीको टोलीले अहिलेसम्म ८ सय जना सडक मानवको उद्धार गरेको छ ।
जसमध्ये हालसम्म ३ सय जनालाई परिवारमा पुनर्स्थापना गराइसकेको छ भने ६५ जना आमाबुवाले सेवाभवनमै देहत्याग गरेका छन् । भक्तपुर सेवाघरमा अहिले ४२ जना वालवालिका र आमाबुवा गरी तीन सय जनाले आश्रय लिएका छन् ।

सेवाघरमा आएका वृद्धवृद्धालाई आमाबुवा र बालबालिकालाई छोराछोरी एउटै परिवारको सदस्य भएकाले सबै सदस्यहरूको थर मानव राखिएको सुमी बताउँछिन् । मानव सेवाघरका सदस्यहरूको सेवा पाएर त्यहाँ बसेका वृद्धवृद्धा खुसी र आनन्दको अनुभूत गर्छन् ।
६ जिल्लामा बिस्तार
भक्तपुरबाट सुरु भएको मानव सेवा समाजको सेवाघर अहिले बाराको निजगढसहित ६ जिल्लामा बिस्तार भएको छ । भाडाको घरमा बसेर सेवा सुरु गरेको संस्थालाई अहिले निजगढ नगरपालिकाले वडा नं ४ स्थित चुरेको फेदीमा ८ कट्ठा जग्गासमेत उपलब्ध गराएको छ, जहाँ हाल सेवाघर निर्माण हुँदैछ ।
बारा, निजगढका स्थानीय समाजसेवी रविराज दंगाल मानव सेवा समाजले सडकमा पहिचान गुमाएकाहरुलाई राख्न दीर्घकालीन रूपमा संरचना निर्माणमा स्थानीय सबैले सहयोग गर्नुपर्ने बताउँछन् । उनका अनुसार जीतपुर सिमराले वार्षिक बजेटमार्फत सेवाघरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण