मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक सर्वेक्षणमा कस्ता छन् उद्योग क्षेत्रका परिसूचक ?

आइतबार, १४ जेठ २०८०, १६ : ००
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । 

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९/८० मा औद्योगिक क्षेत्र (उत्पादनमूलक उद्योग)को उत्पादन २ प्रतिशतले ऋणात्मक रहने अनुमान छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ५.३ प्रतिशत रहने अनुमान छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक उत्पादनको वृद्धिदर वार्षिक औसत ३.३ प्रतिशत र कुल गार्हस्थ्य योगदान वार्षिक औसत ५.६ प्रतिशत रहेको छ ।

मुलुकको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक विकासका लागि एकल बिन्दु सेवाको सुरुवात भएको छ । यस्तै, आर्थिक सर्वेक्षणमा वैदेशिक लगानीलाई सहज बनाउन लगानीको सीमा २ करोड रुपैयाँ हुने गरी पुनरावलोकन भएको छ । गैर आवासीय नेपालीका लागि लगानीको सीमा हटेको छ ।

नवीनतम ज्ञान, सोच सीप र क्षमता भएको उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत सुरुवाती उद्यममा उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ स्वीकृत भएको छ । यस्तै, २०७९ फागुनसम्म कुल ८ हजार ९४७ उद्योग दर्ता भएका छन् भने उक्त उद्योगमध्ये ठुला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५.१ प्रतिशत, २३.१ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ ।

२०७९ फागुनसम्मको कुल प्रस्तावित लगानी २७ खर्ब ८३ अर्ब मध्ये ठुला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८४.४ प्रतिशत, १० प्रतिशत र प्रतिशत र ५.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म उद्योग विभागमा १८३ उद्योग दर्ता भई १ खर्ब ५५ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट १२ हजार ७ सय ४८ रोजगारी सिर्जना हुने अनुमान छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा २०१ उद्योग दर्ता भई २ खर्ब २८ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो भने ती उद्योगको सञ्चालनबाट सिर्जना हुनसक्ने रोजगारी अनुमानित १९ हजार ५५ रहेको थियो ।

२०७९ फागुनसम्म दर्ता भएका उद्योगको कूल स्वीकृत लगानी २७ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ । साथै, यस्ता उद्योगको सञ्चालनबाट सिर्जना हुनसक्ने रोजगारी अनुमानित ६ लाख ७० हजार २ सय ५५ छ । २०७९ असारसम्म दर्ता भएका ठुला, मझौला र साना उद्योगको स्वीकृत लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ र यस्ता उद्योगको सञ्चालनबाट सिर्जना हुने रोजगारी अनुमानित ६ लाख ५७ हजार रहेको थियो ।

यसका साथै, लगानी बोर्डबाट २०७९ असारसम्ममा ३३ ठुला पूर्वाधार परियोजनामा १० खर्ब ४० करोड २६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप