शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

जब मुख्यमन्त्रीले  दिए प्रदेश प्रमुख शर्मालाई रित्तो फाइल....

आइतबार, १४ जेठ २०८०, १८ : ०४
आइतबार, १४ जेठ २०८०

हेटौँडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्य सूची थियो । सोहीअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभा सचिवालय पुगेका थिए ।

दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा १०१ जना सांसद उपस्थित थिए । निर्धारित समयमा नै सुरु भएको उक्त बैठकमा प्रस्तुत गर्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सिलबन्दी गरेको एक फाइल प्रदेश प्रमुख शर्मालाई हस्तान्तरण गरे । बाहिरबाट र्यापरले बन्द गरिएको उक्त फाइल खोल्न शर्मालाई मुख्यमन्त्रीसहित मर्यादा पालकले सहयोग गरे ।

सिलबन्दी गरिएको उक्त फाइल प्रदेश प्रमुख शर्मालाई हस्तान्तरण गरेपछि मुख्यमन्त्री जम्कट्टेल आसनतर्फ फर्किए र प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न समय तोक्न आह्वान गरे । तर वाक्य पूरा हुन नपाउँदै सभामुख पाठक बीचमा नै रोकिए । उनी बोल्दाबोल्दै रोकिनुको कारण थियो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई हस्तान्तरण गरेको फाइलमा सरकारको नीति तथा कार्यक्रम नै थिएन । मुख्यमन्त्री जम्कट्टेलले रित्तो फाइल प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

bagmati (2)

मुख्यमन्त्री जम्कट्टेल फाइल हस्तान्तरण गरेर आसनमा नपुग्दै यी घटनाहरू भएका थिए । उक्त सिलबन्दी फाइल खोलेर आसनमा फर्किएका मुख्यमन्त्री बस्न नपाउँदै प्रदेश प्रमुखले फाइल रित्तो भएको भन्दै बैठकमा देखाएका थिए । जसका कारण प्रदेशसभा बैठक केही समय प्रभावित बन्यो । सांसदहरू एक अर्कालाई हेराहेर गर्दै थिए ।

संसद्मा वाचन गर्न प्रदेश प्रमुख शर्मालाई उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि मुख्यमन्त्री जम्कट्टेल स्वयम् आसनबाट उठेर फाइल लिन हिँडेका थिए । मुख्यमन्त्री जम्कट्टेलले सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रमको कपी नै मुख्यमन्त्रीले प्रदेश प्रमुख शर्मालाई उपलब्ध गराएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले मानवीय त्रुटि र व्यवस्थापकीय कमजोरीका कारण उक्त परिस्थिति सृजना भएको बताए । उनले काम गर्ने सिलसिलामा कमी कमजोरी हुने भन्दै त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताए ।

bagmati (4)

नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारका तर्फबाट प्रदेश प्रमुख माथि अपमान भएको टिप्पणी गरेका छन् । उनले सरकारले प्रदेश प्रमुखको मर्यादाको ख्याल नै नराखी अपमान गरेको बताए । व्यवस्थापकीय कमजोरीको नाममा सरकारले अक्षम्य गल्ती गरेको उनको भनाई छ । सरकारले बिना तयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप