शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

असहाय तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन मन्त्रालयको निर्देशन

शुक्रबार, १९ जेठ २०८०, २० : २०
शुक्रबार, १९ जेठ २०८०

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले असहाय तथा विपन्न नागरिकका लागि १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रवार मन्त्रीस्तरिय निर्णय गर्दै प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अस्पतालहरूलाई असहाय तथा विपन्न नागरिकका लागि १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार प्रचलित मापदण्ड बमोजिम अस्पतालहरुमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीहरूका लागि कुल शय्याको १० प्रतिशत छुटाई निःशुल्क उपचार अनिवार्य रूपमा गराउन सूचनामा भनिएको छ । यस्तै उपलब्ध सेवाहरुको विवरण तथा लाग्ने शुल्क समेत खुलाएको वडापत्र देखिने गरी संस्थाको अग्रभागमा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।  

जनस्वास्थ्य सेवा नियमावली दफा १२ को उपदफा (२) बमोजिम मन्त्रालय वा मातहतका निकायबाट सञ्चालन अनुमति लिएका एवं नवीकरण गरिएका  स्वास्थ्य संस्थाबाट प्रचलित कानुन र मापदण्डका भएका उपचार तथा सम्पूर्ण सेवाहरु अनिवार्य कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबै गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाए ।

यसैबीच मन्त्रालयले प्रदेशभित्रका सर्पदंश उपचार केन्द्रहरुमा एन्टि स्नेक भेनमको आवश्यक मौज्दात व्यवस्थापनका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । यस्तै मन्त्रालयले एन्टि स्नेक भेनम अभाव नहुने गरी व्यवस्थापन गर्न सर्पदंश उपचार केन्द्रहरुलाई पत्रचार गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप