शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

भैँसीपूजा, भैँसी उपहार र मोदी चतुर्‍याइँ

सोमबार, २२ जेठ २०८०, ०९ : ०६
सोमबार, २२ जेठ २०८०

यतिखेर खासगरी सामाजिक सञ्जालमा बहस र व्यंग्यको विषय बनेको देखिन्छ, ‘प्रचण्डले गरेको भैँसी पूजा ।’ के यो चर्चा सत्य हो ? के साँच्ची नै प्रचण्डले भैँसी पूजा गरेकै थिए ? 

यो बहस त्यतिबेलादेखि चल्दै आयो, जतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री भएका थिए । यो विषयमा न अहिलेसम्म प्रचण्ड स्वयं बोलेका छन्, न उनको पार्टी । राजनीतिमा यो व्यंग्य यति उचाइमा पुग्यो– प्रचण्डसँग कुनै धर्मको विषय जोडिनेबित्तिकै भैँसी पूजाको चर्चा सुरु भइहाल्छ । 

प्रचण्ड हालै भ्रमणमा जाँदा भारतले १५ वटा भैँसी नेपाललाई उपहारस्वरूप दिने भएको छ, न प्रचण्डले भैँसी मागेका थिए, न प्रचण्डको भारत भ्रमण टोलीसँग भैँसी उपहारको कुनै साइनो छ । संयोगले यहीबेला भारतद्वारा नेपाललाई उपहारस्वरूप दिइएको मुर्रा जातको भैँसीको सन्दर्भ प्रचण्डको भैँसी पूजातिर सोझिएको छ । यति मात्र भएन, गेरुवस्त्र लगाएर भारतको मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध ज्योर्तिलिङ्ग महाकालेश्वर मन्दिरमा प्रचण्डले पूजा गरेपछि भैँसी पूजाको उपमा जोडेर सामाजिक सञ्जाल तरंगिन पुग्यो । कुनै बेलाका उनकै सहयात्री बाबुराम भट्टराईले प्रचण्डले पूजा गरेका तस्बिर राखेर उपहास गर्दै सामाजिक सञ्जालमा लेखे, ‘हामी कता जाँदै छौँ ? देश कता जाँदै छ ?’ 

धेरैलाई जिज्ञासा लाग्न सक्छ– नेपाल–भारत सम्झौताका मूल विषय छाडेर यो अर्थहीन बहस किन उब्जियो ? के प्रचण्डले भैँसीपूजा गरेकै हुन् ? 

भैँसी पूजाको वास्तविकता

संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डलाई ०६६ माघ २९ गते सुनसरीस्थित वराह क्षेत्रको चतराधाममा निमन्त्रणा गरिएको थियो । यो हिन्दुधर्मावलम्बीको प्रसिद्ध स्थानका रूपमा परिचित छ । जहाँ अधिकांश होम, पूजा, भजनकीर्तन, आयुर्वेद प्रशिक्षण लगायत चल्ने गर्छ । सोही दिन त्यहाँ आयुर्वेद औषधिको दशदिने शिविर उद्घाटन हुँदै थियो, जसको प्रमुख अतिथिका रूपमा बोलाइएका थिए, प्रधानमन्त्री प्रचण्ड । 

त्यहाँ भैँसी, बाख्रा, हात्ती, घोडा, गोरु, गाई जनावर राखिएका थिए । यी जनावरको स्पर्शले मानिसमा सकारात्मक प्रभाव पर्ने आयोजकले प्रचण्डलाई सुनाएका थिए । 

आयुर्वेद र ज्योतिषशास्त्र अनुसार नीलमको माला लगाएर भैँसीको छायामा दुई घन्टा बसी ध्यान गर्दा शनिको किरण सकारात्मकतामा बदलिन्छ भन्ने एकखाले विश्वास छ ।  आयोजक गुरुहरूले भनेबमोजिम प्रचण्डले ती पशुको स्पर्श गरे, केहीबेर त्यहाँ बसे । यो सबैको तारतम्य मिलाउने पुजारी थिए, कृष्णदासजी महाराज, जो पनि निकै विवादित र गुमनाम भए । त्यस दिन प्रचण्डले कुनै पूजा नगरेको स्वयं आयोजकले धेरैपटक स्पष्टीकरण दिइसकेको छ । 

प्रचण्ड एक नास्तिक मात्र होइनन्, आफ्ना बुवा मुक्तिरामको मृत्युमा किरिया नबस्ने गैरआध्यात्मिक जडसूत्रवादी नेता पनि हुन् । जुन उनका राजनीति सहयात्री बाबुराम भट्टराईकै लाइनमा रहेर धार्मिक अतिवादमा तिखो प्रहार गर्ने व्यक्तिमा गनिन्छन् । 

अन्त्यमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूधर्मका एक अनुयायी मात्र होइनन्, उनी जब्बर हिन्दुवादी नेता पनि हुन् । उनी सन् २००१ देखि गुजरात राज्यको मुख्यमन्त्री हुँदा उनलाई हिन्दूधर्मको पक्षपाती नेताको आरोप लागेको थियो । १४ वर्ष गुजराजको मुख्यमन्त्री भएर विकासका काम गर्दा उनले हिन्दुधर्मको जबर्जस्त पक्षपोषण गरिरहे । सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्रीमा निर्वाचित हुँदा समेत उनलाई गैरहिन्दुले विरोध जारी राखेका थिए, तर कुशल, चलाख र चतुर्‍याइँका हेडमास्टर मोदीले अहिलेसम्म भारतमा हिन्दुधर्मलाई केन्द्रबिन्दुमा राखेर सबै धर्मावलम्बी समेटेर लान सफल भएका छन् । उनको यो कुशलताबाट स्वयं उनका विरोधी कंग्रेस आईका नेता समेत नतमस्तक छन् ।

उनले प्रधानमन्त्रीकै रूपमा नेपालको तीनपटक भ्रमण गरे । जनकपुरधामदेखि पशुपतिनाथ मन्दिरसम्म, लुम्बिनीदेखि मुक्तिनाथसम्म उनले धार्मिक यात्रा समेत गरे । 

नरेन्द्र मोदी दक्षिण एसियामा हिन्दुधर्म स्थापित गर्न चाहन्छन् र उनी यसलाई संसारभर फैलाउने कोसिसमा छन् । उनले प्रचण्डलाई मात्र हिन्दु मन्दिरको दर्शन–पूजा गराएका होइनन्, विश्वका कैयौँ सरकार प्रमुखलाई समेत यिनले मन्दिर पुर्‍याएका विगतका उदाहरण छन् । उनले अमेरिका, बेलायत, रसियाका सरकार र राष्ट्रप्रमुखलाई गणेश, शिव, हनुमानजी लगायत प्रतीकात्मक मूर्ति उपहार दिएर पठाउने गरेका छन् । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले मोदीसँगको भेटपछि भनेका थिए, ‘मोदी एक वैज्ञानिक आध्यात्मिक नेता हुन्, यसैले संसारले थेग्न नसकेको धार्मिक बहुसंख्यक नागरिकलाई उनले समेटेर लान सफल भएका छन् ।’ 

मोदीको चतुर्‍याइँ एक कुशल प्रशासकमा हुनुपर्ने गुण हो । जुन नेपालका नास्तिक वा आस्तिक नेताले सिक्न सक्छन् । नेपाललाई हेर्ने मोदी दृष्टिकोणप्रति हाम्रा अनेकन् असहमति छन्, तर बहुधार्मिक र धर्मनिरपेक्ष मुलुकमा सबै नागरिकलाई एउटै मालामा समान हैसियतमा राख्न मोदी आइडिया नेपालले पनि सिक्न सक्छ । यो स्वयं मोदीले आफ्नो शासनकालमा प्रमाणित गरिदिएका छन् । 

नेपाल स्वयं बहुसंख्यक हिन्दु, बौद्ध धर्मावलम्बी भएको मुलुक भएकाले अन्य कम जनसंख्या भएका धर्मावलम्बीलाई समेट्न उदार आध्यात्मिक चिन्तनको आवश्यक पर्छ । किरात, मुस्लिम, इस्लाम, जैन, क्रिस्चियन वा अन्य विभिन्न धर्मका नागरिकसँग हिन्दु र बौद्ध धर्मका ठूला मालाहरूमा अटाउन सक्ने उदारता कायम गर्नैपर्छ । प्रचण्ड स्वयंले महाकालेश्वर मन्दिरमा पूजा गरेर मोदीको मन, भारतीय जनता मात्र खुसी बनाएका छैनन्, सबै धर्मका आस्थावान नेपालीमा पनि सकारात्मक प्रभाव परेको छ । यो कुनै भैँसी पूजा र भैँसी उपहारसँगको साइनो होइन । धर्मनिरपेक्ष नेपालमा हिन्दु धर्मको ठूलो मालाभित्र सबैलाई समेट्ने एक धार्मिक सहिष्णुताको धागो हो । धर्ममा हुने उपहास र छेडखानी आतंकको नमुना मात्र हुन् । यसैले जतिसुकै नास्तिक भए पनि धर्मनिरपेक्ष मुलुकको सरकार प्रमुख भएको नाताले बहुसंख्यक नागरिकको प्रतिनिधित्व गर्दै आस्थाबाट टाढा भाग्न मिल्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप