सिंगापुरमा रोजगारी पाउने सपना देखाएर ठगिएका पारसको व्यथा : पानी माग्दा पनि दिएनन्
काठमाडौँ । कुनै बेला आफूलाई नेपालकै कान्छो पत्रकार बताउने सुजन आचार्य ठगी काण्डमा मुछिएका छन् । सिंगापुरमा आफ्नो फाईभ स्टार होटेल रहेको र त्यसमा नेपाली कामदार चाहिएको भन्दै उनले ३९ जनाबाट ४ करोड ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ ।
मासिक ४ लाखसम्म तलब पाउने भन्दै उनले प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँसम्म ठगी गरेका थिए । आचार्यले एक जनालाई आफ्नो फन्दामा पारेर अन्यलाई पनि ती व्यक्तिमार्फत फसाएका हुन् ।
यतिबेला सिंगापुरमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले ठगी प्रकरणमै अनुसन्धान तथा कारवाहीका लागि पक्राउ पुर्जी जारी गरेको छ । वैदेशिक रोजगार विभागमा पीडितहरूले उजुरी दिएपछि प्रहरीले उनको खोजी गरेको हो ।
आचार्यको साथमा प्रेमिका भनेर चिनाउने बेली डान्सर बिनु शाक्यलाई पनि प्रहरीले खोजिरहेको छ । पीडितहरूले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो पीडा व्यक्त गरेका थिए ।
ती मध्येका कैलालीका पारस अधिकारीलाई फिलिपिन्समा अध्यागमनले पक्राउसमेत गरेको थियो । फिलिपिन्स अध्यागमनको नियन्त्रणमा रहेका उनी तीन दिनपछि मुक्त भएका थिए । उनी आफ्नो भतिज अनिल अधिकारीमार्फत आचार्यको ठगी प्रकरणमा पीडित बनेका थिए । आफ्नो यात्रा र ठगी प्रकरणबारे पारसले राखेको धारणा जस्ताको त्यस्तै-
भतिज (अनिल अधिकारी) सँग मेरो घर परिवारको कुराकानी भएछ । सिंगापुरमा ४ लाखभन्दा बढी सेलरी दिने, एक हप्ताभित्रै उडाउने भनेको रहेछ । तर मैले त्यत्तिकै विश्वास गरिनँ । अनि घर परिवारलाई पहिलो कुरा ‘श्रम स्वीकृति हुन्छ कि हुँदैन’ भनेर सोध्न भनेँ । तर, श्रम स्वीकृति हुँदैन भनेछ ।
त्यसो भए कुनै पनि हालतमा जानु हुँदैन, यसो गरियो भने हामी फस्छौँ भनेँ । भतिजले नै कुनै पनि हालतमा पैसा डुब्दैन भन्यो ।
१२ लाख रुपैयाँ जम्मा गरेको एक हप्ताभित्र सिंगापुर उडाउँछु भनेर सुजन आचार्यले आश्वासन दिने गरेका रहेछन् । मैले साइप्रसका लागि प्रोसेस गरिरहेको थिएँ । अनि १२ लाख तिरेर मासिक ४ लाख रुपैयाँ सेलरी भनेपछि मान्छे स्वाभाविक रूपमा लोभिन्छ ।
मेनपावरका साइप्रसका लागि ७० हजार रुपैयाँ डिपोजिट गरेर पासपोर्ट समेत राखेको थिएँ । मैले त्यहाँबाट पासपोर्ट निकालेँ । ७० हजारमध्ये ४० हजार फिर्ता लिएर ३० हजार मेनपावरलाई नै छोडिदिएँ । त्यहाँबाट आएको पैसा पनि केही दिनमा सिंगापुर जाने हो भनेर खानपिन गरेर सकेँ ।
सुरूमा उसले ५० प्रतिशत (६ लाख रुपैयाँ) नेपालमा उठाउने र ५० प्रतिशत (६ लाख रुपैयाँ) सिंगापुर आएपछि दिनुपर्छ भनेको थियो । डिल गरेपछि मैले एड्भान्स दिएँ । त्यसपछि ५० प्रतिशत पैसा दिएँ ।
जुन दिन फ्लाइट छ भनियो, त्यो दिन अन्तिम समयमा ब्ल्याकमेलिङ गर्न थाल्यो । घरमा जग्गा बैंकमा राखेर ड्याडीले १० लाख रुपैयाँ निकाल्नुभयो । अनि ६ लाख रुपैयाँ दिएँ । त्यसपछि बाँकी पैसा उतै गएर दिने भनिएको थियो । तर, अब उड्ने दिन उसले फोन गरेर बाँकी पैसा पनि दिन भन्यो ।
१० लाख रुपैयाँ घर जग्गा धितोमा राखेर ऋण निकालेर बुझाइसकेको थिएँ । अब उसले भनेको २ लाख रुपैयाँ बाँकी थियो । तर, फ्लाइट हुने दिन उसले फेरि फोन गरेर २ लाख रुपैयाँ जसरी पनि बुझाउनुपर्ने भन्यो ।
दिउँसो ३ः४५ बजेको टिकट थियो । त्यो भन्दा अगाडि डलर साट्नका लागि नपुग्ने भयो भन्दै उसले जसरी पनि २ लाख रुपैयाँ दिनुपर्ने भन्दै अडान लियो ।
त्यो बेला एकाएक २ लाख रुपैयाँ निकाल्ने कुनै विकल्प थिएन । एक जना अंकलबाट सापटी मागेर तिरेँ । त्यसपछि सिंगापुर उडेँ । त्यो बीचमा १/२ पटक मेरो फ्लाइट नै क्यान्सिल गराएको थियो ।
एयरपोर्टमा १५० डलर साटेँ । मेरो होटेल बुक थिएन । अनि डलर पनि नभएको र होटेल बुक पनि नभएपछि इमिग्रेसनले जान दिँदैन । सुजनले मैले एयरपोर्टमा सबै मिलाएको छु, तपाई सिंगापुर आइ नपुग्दै होटेल बुक गरेको म्यासेज आउँछ भनेको थियो । तर, सिंगापुर पुगिसक्दा पनि म्यासेज आएन ।
एक छिनपछि म्यासेज त आयो तर, अर्कैको नाममा बुक गरेको । अनि सुजन केही दिनका लागि बाहिर जानुपर्नेछ भनेर गयो । हामीलाई त्यहीँ राखियो ।
त्यो बेला उसले तपाईँको भिसा टाइम २९ दिनको हुन्छ । त्यो बेला तपाईँको इ–पास आउँछ अनि काममा जान पाउनुहुन्छ भनियो । त्यही आधारमा चुप लागेर बसेका थियौँ ।
दिनमा ५० डलर दिन्थ्यो । सुत्ने होटलमा तर खाना खान अर्को ठाउँ जानुपर्ने, पानी खान अर्को ठाउँ जानुपर्थ्यो । त्यो पैसाले खाना खान पुग्दैन थियो ।
पैसा कहिले काहीँ बिनु शाक्यले पनि दिन्थिन् । पैसा लिन कहिलेकाहीँ आधा घण्टा हिँडेर जानुपर्ने ठाउँमा बोलाउँथ्यो । त्यति गर्दा पनि हामी गएर लिएर आउँथ्यौं । तर के गर्नु, त्यो पैसाले त खाना खान पुग्दैनथ्यो । कतिदिन त हामी एक छाक खाएर पनि बस्यौँ । साह्रै दुःख गरेर बस्यौँ ।
कतिपय दिन त बिरामी पर्दा समेत पानी खाएर बस्यौँ । दुई जना कोठामा भएकाले बिरामी पर्दा एकले अर्कालाई केयर गरेर बसेका थियौँ । जति दुःख पाए पनि राम्रो जागिर पाइन्छ भन्ने आसले चुप लागेर बस्यौँ ।
तर, भिसाको डेट सकिने बेला आयो । कुनै वास्ता गर्दैन । हामी बसेको २०÷२१ दिन भइसकेको थियो । एक दिन हामी बसेकै रूपमा सुजन आयो । आउनुभन्दा अगाडि म्यासेज गरेर ‘ठुलै बरबाद भयो सर । कहाँ हुनुहुन्छ, म त्यही आइहालेँ’ भन्यो ।
कोठामा ऊ आइसकेपछि ‘के भयो सर ?’ भन्दा ‘अब त बरबादै भयो नि’ भन्यो । ‘हाम्रो कम्पनीमा जम्मा ३४ जनाको कोटा हो । हाम्रोमा अहिलेसम्म २६÷२७ जना मात्र पुग्यो । कोटाअनुसार पुगेन भने हामी भोलि नै नेपाल जानुपर्छ’ भन्यो ।
भिसाको टाइम सकिने बेला त्यस्तो भनेपछि हामी पनि आत्तियौँ । भोलि नै मान्छेहरू खोजेर एडभान्समा पैसा उठाइदिनुहोस् भन्यो । अब भोलि नै कसरी मान्छे खोज्ने र कसरी पैसा उठाउने भन्यौँ । त्यसपछि ‘ल यत्रो १२ लाख डुब्नुभन्दा त कोहीलाई भनौँ न’ भनेर घरतिर कुरा गर्यौं ।
त्यसपछि मेरो एक जना भान्जासँग कुरा गरियो । लकडाउनले गर्दा सबैतिर डुबेका थिए । घर, गाडी, विभिन्न क्षेत्रमा लगानी गरेर राम्रै प्रोफाइल बनाएका भान्जा कोरोनाका कारण डुबेका थिए । अहिले भाडाको घरमा बसिरहेका छन् ।
उहाँलाई भनेपछि उहाँ सिंगापुर आउन तयार हुनुभयो । भान्जाले एक जना दाइलाई समेत भन्नुभयो । यसरी हामीले ५ जना जति थप पुर्यायौं ।
त्यो गर्दागर्दै मेरो भिसाको म्याद सकियो । अनि सुजनले २/४ दिन फिलिपिन्स गएर बस्नुहोस्, यता काम भएपछि आउनुहोला भन्यो ।
उसैले टिकट काटेर फिलिपिन्स पठायो । होटेल बुक थिएन । अनि पैसा पनि दिएन । फिलिपिन्स भिजिटमा गएको छु, तर, मसँग एक पैसा पनि छैन । मैले उसलाई ‘तपाईँको मास्टर कार्ड दिनुस्’ भनेँ । कार्ड त दियो तर, पैसा थिएन । उसले मलाई ‘तपाई गएपछि म पछि मास्टर कार्डमा पैसा लोड गरिदिन्छु’ भन्यो ।
फिलिपिन्स गएँ । फिलिपिन्स इमिग्रेसनले रोकिदियो । डकुमेन्टहरू सबै ठिक थियो । तर, पैसा देखा भन्यो । मसँग त क्यास पैसा थिएन ।
मास्टर कार्डमा पैसा छ । पैसाको लागि कुनै समस्या हुँदैन भने । तर, इमिग्रेसन कर्मचारीले मेरा सबै डकुमेन्ट लगेर भित्र गए । टुरिस्ट भनेर आएको छ, पैसा छैन भनेपछि उनीहरुले केरकार गरे । मैले ‘हैन, म घुम्न आएको, मास्टर कार्डमा पैसा छ’ भन्दा पनि उनीहरूले मानेनन् । त्यो बेला २ घण्टा जति भित्रै राखिदियो ।
१५ मिनेटभित्र मास्टर कार्डबाट पैसा झिकेर ल्याउनु अनि इमिग्रेसन पास गरिदिन्छु भनेको थियो । तर, मास्टर कार्डमा पैसा नै हालेन ।
एक छिनमा भित्रबाट रिटर्न टिकट दियो । र, अब फर्किनुपर्छ भनियो । पछि एक जना सेक्युरिटी आयो, उसले जता भयो त्यतै जानुपर्ने भयो । एउटा बन्द कोठामा लगेर राख्यो । पानी माग्दा पनि दिएन । खाना नखाएको एक दिन पूरै भइसकेको थियो । कोठाभन्दा बाहिर जान पाउँदैन थिएँ ।
मेरो सबै डकुमेन्ट सेक्युरिटीले लिइसकेको थियो । त्यसपछि मलाई जबसम्म नेपालको एयरपोर्टमा झर्दैन, तबसम्म के हुन्छ भन्ने डर लागिरहेको थियो ।
फोनको टाइम लिमिटेड हुन्थ्यो । १५ मिनेटभन्दा बढी चलाउन मिल्दैनथ्यो । त्यो बेला फेरि कल गर्न मिल्दैनथ्यो । खाली म्यासेज मात्र गर्न मिल्थ्यो । अलिबेर कुरा गर्न खोज्यो कि फोन मागिहाल्थ्यो ।
मैले त मेरो जिन्दगी सकिए जस्तो सोचेको थिएँ । कसैलाई केही नभनेर श्रीमतीलाई भने खबर गरेँ ।
फिलिपिन्सबाट सिंगापुर आउँदा पनि त्यसरी नै सेक्युरिटीसँगै प्लेन नेपाल नउड्दासम्म सँगै रहेँ । उनीहरूले जहाँजहाँ हिँड भन्यो, त्यहीँत्यहीँ जानुपर्थ्यो । सिंगापुरबाट नेपाल डिपोर्ट गरिदियो । मलाई फिलिपिन्सबाट सिंगापुर हुँदै काठमाडौँ आइपुग्दा सम्म अब नेपाल नै फर्किन पाउँदिन कि जस्तो लागेको थियो । तर, डिपोर्ट गरेपछि आइपुगेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा
-
बढ्दो मधुमेह र हृदयाघातबाट बच्न युवाहरूले गर्नुस् यी काम
-
हप्तामा एक दिन गर्नुस् यो काम, २०० भन्दा बढी रोगबाट बचिनेछ
-
बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित
-
अतिप्रशंसा र विवादबिच घेरिएको रतन टाटा र टाटा समूहको इतिवृतान्त
-
देवी दुर्गाको ‘खोइछ’ भरिँदै