मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
करको भार

विदेशिनेलाई कर नै कर !

चालु आर्थिक वर्षमा विदेश भ्रमणमा ९१ अर्ब ६० करोड रुपैयाँ बाहिरियो
बुधबार, २४ जेठ २०८०, ०९ : १६
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । सेवा आयतर्फ निरन्तर घाटा लागेसँगै सरकारले आगामी आर्थिक वर्षदेखि वैदेशिक भ्रमणमा लगाम लगाउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमार्फत सेवातर्फको भ्रमण शीर्षकलाई थप कडाइ गर्दै ५ प्रतिशत शुल्क (ट्याक्स) लगाउने घोषणा गरेको हो । जसले नेपालीहरूलाई विदेश भ्रमण निरुत्साहित गर्नुका साथै विदेशी मुद्रा सञ्चिति समेत हुने सरकारको अपेक्षा छ ।

तीव्र आर्थिक सङ्कटका बीच आर्थिक वर्ष २०७९/८० को ९ महिनामा मात्र भ्रमण शीर्षकमा कुल ९१ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकको तथ्याङ्क छ । गत आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म ६५ अर्ब ५४ करोड रुपैयाँ बाहिरिएकोमा यस वर्ष भ्रमण शीर्षकमा ३९.८ प्रतिशतले खर्च बढेको हो ।

पछिल्ला दिन सबैभन्दा बढी शैक्षिक भ्रमणका नाममा मुलुकबाट पैसा बाहिरिएको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा शैक्षिक व्ययतर्फ ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ५३.८६ प्रतिशत बढी हो ।

आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा शैक्षिक भ्रमण वा वैदेशिक शिक्षाको नाममा कुल ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको थियो ।

समग्रमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा खुद सेवा आय ५६ अर्ब २६ करोड रुपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खुद सेवा आय ७९ अर्ब २८ करोडले घाटामा थियो ।

घाटा कम गर्ने रणनीति

भ्रमण शीर्षकमै वार्षिक खर्ब हाराहारीमा मुद्रा बाहिरिन थालेपछि सरकारले यसलाई नियन्त्रण गर्ने रणनीति अघि सारेको हो । यसै रणनीति स्वरूप सरकारले आर्थिक विधेयकमार्फत भ्रमण शीर्षकमा ५ प्रतिशत करको व्यवस्था गरेको हो । यसअघि शैक्षिक भ्रमणका लागि २ प्रतिशत करको व्यवस्था गरिए पनि अन्य भ्रमणमा करको व्यवस्था थिएन । जसले नेपालीहरू प्रतिस्पर्धामै विदेश भ्रमणमा जाने क्रम तीव्र भयो । यसैलाई रोक्न पनि सरकारले भ्रमण शीर्षकमा ५ प्रतिशत करको व्यवस्था गरिदिएको हो ।

आर्थिक विधेयक, २०८० को अनुसूची २२ को १ मा वैदेशिक पर्यटन शुल्कको व्यवस्था गर्दै ‘विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिनेछ’ भनिएको छ ।

यस्तो शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्री गरेको बखत नै कट्टी गरी आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने उल्लेख छ । यस्तो शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनुपर्ने समेत आर्थिक विधेयकमा उल्लेख छ । यसले विदेश भ्रमण निरुत्साहित हुने सरकारको अपेक्षा छ ।

अहिलेकै भ्रमण खर्चलाई आधार मान्ने हो भने शैक्षिक छाडेर कुल ९१ अर्ब ४१ करोडमध्ये २४ अर्ब ४१ करोड रुपैयाँ विशुद्ध भ्रमणका लागि नै बाहिरिएको देखिन्छ । यसको ५ प्रतिशत मात्र कर असुल्ने हो भने पनि १ अर्ब २२ करोड रुपैयाँ उठ्ने देखिन्छ । तथापि, भर्खर मात्र करको व्यवस्था भएकाले आगामी दिनमा भ्रमण शीर्षकबाट राम्रै राजस्व सङ्कलन हुन सक्छ ।

तर, यता शैक्षिक भ्रमणलाई यसअघि नै करको दायरामा ल्याइसकेको सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत थप १ प्रतिशतले कर वृद्धि गरेको छ । विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएकोमा सरकारले आर्थिक विधेयक, २०८० मार्फत शुल्क वृद्धि गर्दै ३ प्रतिशत पुर्‍याइदिएको हो ।

योसँगै अब विदेश पढ्न विद्यार्थीले कुल विदेशी मुद्रा सटहीको ३ प्रतिशत रकम अनिवार्य राजस्वको रूपमा सरकारलाई बुझाउनुपर्नेछ । आर्थिक विधेयक, २०८० को अनुसूची ८ को १ मा शिक्षा सेवा शुल्कको व्यवस्था गर्दै भनिएको छ, ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा ३ प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिनेछ’ भनिएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत शैक्षिक शुल्कको नयाँ व्यवस्था गर्दै सरकारले २ प्रतिशतको शुल्क निर्धारण गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक शैक्षिक शुल्कमार्फत ८० करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा सबैखाले शैक्षिक करमार्फत १२ अर्ब ४० करोड ९० लाख रुपैयाँ सङ्कलन भएको केन्द्रीय बैंकले जनाएको छ ।

थप १ प्रतिशतको वैदेशिक रोजगार सेवा शुल्कको व्यवस्था

साथै आर्थिक विधेयक, २०८० मार्फत सकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त व्यक्तिले असुल्ने रकमबाट १ प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्कसमेत लिने जनाएको छ ।

आर्थिक विधेयक, २०८० को अनुसूची २३ को १ मा वैदेशिक रोजगार सेवा शुल्क सम्बन्धी व्यवस्था गर्दै सरकारले भनेको छ, ‘प्रचलित संघीय कानुन बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ’ भनी उल्लेख गरेको छ ।

तर, यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमै खर्च गरिने समेत विधेयकमा उल्लेख छ । यसअघि श्रम स्वीकृति शुल्क लाग्ने गरे पनि अतिरिक्त वैदेशिक रोजगार सेवा शुल्कका नाममा यस्तो शुल्कको व्यवस्था गरिएको थिएन ।

विदेशिनेलाई लाग्ने कर

t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप