बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

बिहीबार, २५ जेठ २०८०, १६ : ५५
बिहीबार, २५ जेठ २०८०

काठमाडौं । धनगढीमा आयोजना हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन बिहीबार सार्वजनिक गरिएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

‘सारथी अस्पताल वर्ष प्रशिक्षक’ विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । चन्दको प्रशिक्षणमा सुदुरपश्चिमले नवौं राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण पदक जितेको थियो । सुदुरपश्चिमले जितेको १० स्वर्णमध्ये पाँच स्वर्ण जिताउने प्रशिक्षक हुन्, चन्द । उनकै प्रशिक्षणमा नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ वर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताएकी थिइन् ।

नवौं राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुन जीवन गौतम । भारात्तोलनमा उनको प्रशिक्षणमा सुदूरपश्चिमले भारात्तोलनमा तीन स्वर्ण पदक जितेको थियो । क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु—१९ विश्वकपमा छनोट भएको छ । उनले आठ वर्षपछि नेपाललाई यु—१९ विश्वकपमा पु¥याएका हुन् । उनकै नेतृत्वमा नेपाली महिला क्रिकेट टोलीले पनि विभिन्न प्रतियोगिता खेलेको थियो ।

‘निसर्ग हस्पिटल वर्ष युवा खेलाडी’को मनोनयनमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । पालले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनले पहिलो सहभागीताको राष्ट्रिय खेलकुदमा १७ वर्षको उमेरमा स्वर्ण पदक जितेका हुन् ।

अनुले उमेर समुहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएकी छन् । उनले यु—१९ विश्वकप महिला एसिया छनोटमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले घरेलु उमेर समुहको प्रतियोगितामा पनि सुदूरपश्चिमलाई जिताउन भुमिका निर्वाह गरेकी छन् । क्रिकेटका धामीले नेपाललाई यु—१९ विश्वकपमा छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका छन् ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप