शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा छड्के, जब सेवाग्राहीबाट घेरिए मन्त्री बस्नेत

बिहीबार, २५ जेठ २०८०, २१ : २१
बिहीबार, २५ जेठ २०८०

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत बिहीबार दिउँसो एकाएक हेटौंडा अस्पताल पुगे । अस्पतालमा छड्के अनुगमनका क्रममा आकस्मिक रुपमा हेटौंडा आइपुगेका मन्त्री बस्नेतले त्यहाँ करिब एक घण्टा बिताए ।

१२ः३० बजेको टन्टलापुर घाममा मन्त्री बस्नेतसहित बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका सचिव बद्री खड्कासहित हेटौंडा अस्पतालको अनुगमनमा पुगेका थिए । मन्त्री बस्नेतको टोली अस्पतालको आकस्मिक कक्षको गेटमा पुग्दा समेत अस्पताल प्रशासनका कर्मचारीहरु बेखबर थिए ।

जब मन्त्री बस्नेतको टोली अस्पतालको गेटमा उभिएपछि भिड जम्मा भयो, अनिमात्र अस्पताल प्रशासनले छड्के अनुगमन बारे सुइँको पायो । मन्त्री बस्नेतको टोली आकस्मिक कक्षमा प्रवेश गर्दैगर्दा हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटा हतारहतार आइपुगे ।

मन्त्री बस्नेत बिरामी भेट्न अघि बढे । यस क्रममा अस्पतालका व्यवस्थापक सुरेन्द्र बडू पनि देखा परे । संघीय मन्त्री बस्नेत र प्रदेश मन्त्री जोशी एक वृद्धा बिरामीको बेड नजिक पुगे ।

मन्त्री बस्नेतले बिरामी वृद्धालाई सोधे, ‘के भयो तपाईँलाई ?’

वृद्धा जवाफ फर्काउने कोसिस गर्दै थिइन् तर बोल्न सकिनन् । किनकि उनी अक्सिजन मास्कको सहारामा थिइन् । तर त्यहाँ न कोही चिकित्सक थियो, न त नर्स ।

आफन्तसहित सुरक्षा निकाय र सर्वसाधारणले घेरिएकी उनी अझै बोल्ने प्रयत्नमा थिइन् । त्यसै क्रममा डा. सापकोटाले ड्यूटी डाक्टर खोजे । यसैबीच एक जना एक्स रे रिपोर्ट सहित बिरामी भएको स्थानमा आए, र मन्त्री बस्नेतलाई बिरामीको अवस्थाबारे जानकारी गराए । मन्त्री बस्नेतले उपचारमा कुनै पनि कमजोरी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

त्यसपश्चात मन्त्री बस्नेत प्रयोगशाला तर्फ अगाडि बढे । उनी प्रयोगशालामा नपुग्दै सेवाग्राहीको घेराबन्दीमा फसे । सेवाग्राहीहरु प्रयोगशालामा स्वास्थ्य परीक्षणका लागि लामो लाइनमा थिए । सोही लाइनमा रहेका सेवाग्राहीले मन्त्री बस्नेतलाई घेरेका थिए ।

सेवाग्राहीले प्रयोगशालाबाट रिपोर्ट आउन ढिला हुने गरेको गुनासो गरे । उनीहरुले एक पटक चेक जाँचका लागि टिकटदेखि डाक्टर भेट्ने र प्रयोगशालामा समेत लाइन बस्नुपर्दा बिरामीको उचारमा ढिला हुने गरेको बताए ।

प्रयोगशालामा मात्र २ पटक लाइन बस्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ थियो । सेवाग्राहीहरुले अस्पतालमा बिमा बापतको औषधि पनि नपाएको गुनासो गरेपछि मन्त्री बस्नेतले सँगै उभिएका अस्पतालका मेसु डा. सापकोटालाई प्रश्न गरे ।

मन्त्री बस्नेततो प्रश्न र सेवाग्राहीको गुनासोले डा. सापकोटा जवाफविहीन बने । मन्त्री बस्नेतले अस्पतालको व्यवस्थापन र बिमा बापत प्राप्त हुने औषधिको सहज उपलब्धता गराउन निर्देशन दिए ।

सेवाग्राहीको भिड छिचोलेर मन्त्री बस्नेत प्रयोगशालातर्फ अघि बढ्दै थिए । त्यत्तिकैमा डा. सापकोटाले प्रसूति गृहतर्फ मन्त्री बस्नेतको ध्यान केन्द्रित गराए । मन्त्री बस्नेतको टोली प्रसूति कक्षमा प्रवेश ग¥यो । तर प्रसूति  कक्ष  खालीजस्तै थियो ।

मन्त्री बस्नतले ‘बिरामी खोइ त ?’ भनेर प्रश्न गरेपछि मेसु डा. सापकोटाले पुरानो भवनबाट हालै सरेको र व्यवस्थापकीय काम भइरहेको जानकारी गराए । मन्त्री बस्नेतले प्रसूति कक्षको हरेक कोठा निरीक्षण गरे ।

उनी जब डेलिभरी कक्षमा प्रवेश गरे, उनको आँखा त्यहाँ राखिएको बेड लगायतका सामग्रीमा प¥यो । सो कक्षमा खिया लागेका ट्रे, टेबल र बेड थिए । मन्त्री बस्नेतले अस्पतालको उक्त अवस्था देखेपछि ‘कति सुरक्षित छ यो कक्ष ?’ भन्ने प्रश्न गरे । डा. सापकोटा पुनः जवाफविहीन बने ।

बस्नेतले अस्पतालको सरसफाइमा ध्यान दिन र सुरक्षा सावधानी अपनाउन निर्देशन दिए ।

उक्त कक्षबाट बाहिरिएर मन्त्री बस्नेतको टोली क्रमशः बहिरंग कक्ष, टिकट काउण्टर र फार्मेसीतर्फ पुग्यो । सो समयमा टिकट काउण्टरमा भिड थियो । टिकट काउण्टरको ढोका अगाडि उभिएर मन्त्री बस्नेतले आवश्यक परेको खण्डमा काण्टर थपेर अस्पतालको सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिए ।

फार्मेसी कक्षमा प्रवेश गर्नासाथ मन्त्री बस्नेतले फार्मेसी इन्चार्जको खोजी गरे । तर, फार्मेसी इन्चार्ज भेटिएनन् । डा. सापकोटाले फार्मेसी इन्चार्ज स्टोरमा गएको जानकारी गराए ।

मन्त्री बस्नेतले बोलाउन निर्देशन दिएपछि फार्मेसीबाट औषधि वितरण गरिरहेकी एक महिला आइन् । उनले आफ्नो परिचय दिँदै फार्मेसी सेवाको बारेमा जानकारी गराइन् ।

सोही क्रममा मन्त्री बस्नेतले बिमा बापतको औषधि सेवाग्राहीले किन पाउनु नसकेको भनेर प्रश्न गरे । फार्मेसीकी सहइञ्चार्ज ती महिलाले जवाफ दिन सकिनन् ।  डा. सापकोटाले सहजीकरण गर्दै अस्पतालमा प्राप्त बिमामा रहेका एक हजार १०० प्रकारका औषधि वितरणमा समस्या नरहेको बताए । केही औषधि आपूर्ति केन्द्रबाट प्राप्त हुन समय लागेका कारण वितरण गर्न नसकिएको उनको भनाइ थियो ।

सोही क्रममा केही समय अघि अस्पतालबाट नेपाल सरकारले निःशुल्क वितरण गर्न पठाएको औषधि विक्री भएको विषयमा प्रश्न उठेपछि मन्त्री बस्नेतले सो विषयको बारेमा पारदर्शी रुपमा जानकारी गराउन प्रदेशको मन्त्रालय र अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री बस्नेतले सो विषयको छानबिन गरी तयार भएको प्रतिवेदन सार्वजनिक गर्न पनि निर्देशन दिए ।

फार्मेसीबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले मन्त्री बस्नेतसँग प्रश्न गरे । उनले केही समय छलफल गरेर प्रश्नहरुको जवाफ दिने बताए । त्यस पश्चात मन्त्री बस्नेत अस्पताल भवनको दोस्रो तला चढे । उनलाई डा. सापकोटाले एकद्वार संकट व्यवस्थापन केन्द्र कक्षमा पु¥याए ।

पैसा अभावमा कसैले ज्यान गुमाउन नपरोस् : मन्त्री बस्नेत

सो कक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकै कारण कोही मानिसको अकालमा ज्यान जाने अवस्था आउन नहुने बताए ।

‘स्वास्थ्य मन्त्रालय मानवीय समवेदनासँग जोडिएको मन्त्रालय हो । एक मिनेटको गल्तीले हजारौंको ज्यान जान सक्छ, राम्रो कामले हजारौंलाई बचाउन पनि सक्छौं’, मन्त्री बस्नेतले भने, ‘सबै अस्पताललाई व्यवस्थित गर्न नसक्दा धेरैले दुःख पाइरहेका छन् । अस्पतालसँगै जनताले उपचार पाउने पद्धतिमा सुधार गर्न जरुरी छ ।’

सबै क्षेत्रमा सुधार गरौं भन्ने उद्देश्यसहित आफू वीर अस्पतालदेखि निजी अस्पतालसम्मको अनुगमन गर्दै हिँडेको उनले बताए ।

मन्त्री बस्नेतले कामै नगर्ने, बिदामा बस्ने, सरुवा भएको ठाउँमा नजाने, आवश्यकता भन्दा बढी सामग्री किन्ने लगायतका प्रवृत्ति स्वास्थ्य क्षेत्रमा देखिएको बताए । सबै मिलेर बेथितिको अन्त्यमा लाग्नुपर्ने उनको भनाइ थियो ।

अस्पतालले दिने सेवाको विषयमा आम सर्वसाधारणले बुझ्ने गरी जानकारी गराउन उनले निर्देशन दिए । अस्पतालले विपन्न व्यक्तिहरुका लागि राज्यले दिएको निःशुल्क शय्या बापतको १० प्रतिशत हिस्सा छुट्याएर सेवा प्रवाह गर्न मन्त्री बस्नेतले आग्रह गरे ।

‘जनतालाई दिनुपर्ने सेवा बाहेक मलाई केही चाहिएको छैन । राम्रो गर्न केही कमी भए खबर पाउँ, आवश्यक सहयोगका लागि मन्त्रालय तयार छ । विपन्न गरिबहरूका लागि सरकारले छुट्याएको १० प्रतिशत हिस्सा कार्यान्वयन गरेर सेवा प्रवाह गर्नुहोला,’ उनले भने ।

सोही क्रममा अस्पतालका मेसु डा. सापकोटाले दैनिक १२ सयदेखि १५ सय बिरामीलाई सेवा पु¥याउँदै आएको जानकारी गराए । हेटौंडा अस्पताल नयाँ भवनमा आएसँगै धेरै समस्या समाधान हुँदै गएको उनले बताए ।

मन्त्री बस्नेतले अस्पतालका मेसु सापकोटालाई आवश्यक सहयोगका लागि तयार रहेको बताए । अस्पतालको सेवा सुधार र सर्वसाधारणको स्वास्थ्यलाई ध्यान दिन उनले निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप