बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : नयाँ सत्ताको खेल सुरू, किनबेचको हल्ला !

परामर्शका लागि मुख्यमन्त्री कार्की काठमाडौं उक्लिए
शुक्रबार, २६ जेठ २०८०, ०६ : ५७
शुक्रबार, २६ जेठ २०८०

विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेसँगै सत्ताको दौड सुरु भएको छ । मुख्यमन्त्री कार्की आफ्नो सत्ता जोगाउन अनेक उपायको खोजीमा छन् । यसै क्रममा उनी संघीय राजधानी काठमाडौं उक्लिएका छन् भने अन्य विपक्षी दलहरु सुविधाजनक बहुमतका लागि आन्तरिक छलफल तीब्र बनाएका छन् ।

मुख्यमन्त्री कार्की राजनीतिक परामर्शका लागि काठमाडौं गएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले अर्को गठबन्धनमा नजान भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष कुरा गरेका छन् । 

त्यस क्रममा मुख्यमन्त्री कार्कीलेसरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताइएको छ । भण्डारीले अहिलेको परिस्थितिमा नीति तथा कार्यक्रम आउने परिस्थिति खासै नदेखिएको बताए । 

यता, नेपाली काँग्रेस र माओवादी केन्द्रले भने प्रदेशका सभामुख बाबुराम गौतम र प्रदेशप्रमुख पर्शुराम खापुङसँग परामर्श गरेका छन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा पुगेको काँग्रेस र माओवादीको टोलीले नयाँ सरकार गठनका लागि हुनसक्ने सम्भावित कदमको विषयमा खापुङलाई जानकारी दिएको बताइएको छ । 

यसका साथै उनीहरुले सभामुखले राजीनामा दिने या नदिने, प्रदेश प्रमुखले सरकार आह्वान गर्दा संविधानको कुन धारा प्रयोग गर्ने लगायतका विषयमा छलफल गरेको बताइएको छ । 

यसैबीच आफ्नो नेतृत्वको एक मात्र सरकार ढल्ने भएपछि एमालेले अन्य पार्टीका सांसद फकाउन थालेको बताइएको छ । अघिल्लो प्रदेशसभामा माओवादी संसदीय दलका उपनेता टंक आङ्बुहाङलाई मन्त्री बनाएर एमालेमै राखेजस्तै कसैलाई मन्त्रीको लोभ देखाएर मन्त्री बनाउने आश्वासन दिइरहेको बताइएको छ । 

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको (सभामुखसहित)१३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । राप्रपाले साथ दिइरहेको खण्डमा एमालेलाई ४६ सांसद पुग्छ । थप सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । त्यसका लागि १ जना सांसद जसरी भएपनि फकाउने र बहुमत पुर्याउने तयारीमा एमाले लागेको बताइएको छ । 

संवैधानिक प्रक्रियाअनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री कार्कीले असार १५ गते भित्रमा विश्वासको मत लिने बताएका छन् । बजेटपछि विश्वासको मत लिने मुख्यमन्त्री कार्कीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप