शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भ्रमणका उपलब्धिलाई ओझेलमा पार्न राँगाको विषय उछालियो : मन्त्री लिम्बू

शुक्रबार, २६ जेठ २०८०, १९ : २५
शुक्रबार, २६ जेठ २०८०

विराटनगर । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले प्रधानमन्त्रीको भारत भ्रमणलाई अनावश्यक रुपमा होच्याउने गरी प्रतिपक्षले भैंसीको कुराको उछालेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगर आइपुगेका मन्त्री लिम्बूले त्यस्ता विषयलाई चर्चामा ल्याउनुको अर्थ नै नरहेको बताए । ‘सात वर्ष अघि नै नश्ल सुधारका लागि ल्याउन खोजिएको मुर्रा जातको राँगा अहिलेको प्रधानमन्त्रीको भ्रमणका बेला आउने भएको मात्र हो,’ उनले भने, ‘तर अन्य उपलब्धिलाई शून्य झै बनाएर भैंसी लिएर आयो भन्ने गरी ट्रोल गरियो ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणका बेला विद्युत व्यापारमा भएको उपलब्धि, नेपाल–भारत भुक्तानीका लागि दुवै देशका वालेट एपहरू चल्ने सहमति र रेल्वेमा लगायतमा भएका सहमतिलाई नदेख्ने प्रवृत्तिले ‘आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङको जुम्रा चैं देख्ने’ भन्ने भनाइ चरितार्थ गरेको उल्लेख गरे ।

मन्त्री लिम्बूले दुबै देशको सम्बन्धलाई मजबुत बनाउन भएको भारत भ्रमण ‘मेरो पालामा यस्तो भएको थियो, तेरो पालामा यस्तो भयो’ भनेर खिसिट्यूरी गर्ने प्रवृत्ति राम्रो नभएको बताए ।

उनले प्राप्त उपलब्धिलाई कार्यान्वयनमा लैजाने र दुवै देशको सम्बन्धलाई सुमधुर बनाउन सबै लाग्नु पर्ने बताए ।

नेपाली कुटनीतिको परम्परा सम्झदै मन्त्री लिम्बूले राजा वीरेन्द्रले पनि भारत भ्रमणबाट फर्कदा आम्रपाली भन्ने जातको आँपको बिरुवा उपहार स्वरुप लिएर आएको बताए । उनले भने, ‘त्यो आँप ल्याएर यहाँ कलमी गरेपछि त्यसको व्यापक विस्तार गरियो ।’

त्यस्तै अमेरिकाबाट पनि गाईको नश्ल सुधारका लागि साँढे र चीनबाट हेम्पासार जातको सुँगर यसअघि नै ल्याएको उनले बताए ।

नागरिकता विधेयकमा एमालेले गरेको टिप्पणीलाई मन्त्री लिम्बूले मैले गर्दा ठिक र तैले गर्दा बेठिक भन्नु बाहेक अर्काे तर्क नभएको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप