शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कला

बुद्ध कलाको इतिहास र वर्तमान

शनिबार, २७ जेठ २०८०, १९ : ५०
शनिबार, २७ जेठ २०८०

गौतम बुद्ध, उनी अघि र पछिका अरु बुद्धहरू (ज्ञानी, महात्मा) र बोधिसत्वहरूको कला सिर्जना गर्नुलाई बुद्ध कला (बुद्धिस्ट आर्ट)का रूपमा बुझिन्छ । यसबाहेक बौद्ध धर्मका प्रतीकात्मक विम्बहरू (विशेष गरेर वज्र, माने, घण्ट, ध्वजा–पताका आदि) पनि बुद्धिस्ट आर्ट नै हुन् । 

वास्तुकलाका स्तूप, चैत्य (गुहा–चैत्य र संरचनात्मक–चैत्य), गुम्बा, विहार, बोधिगृह, (बोधिवृक्षको पर्यायवाची), शिलालेख (शिलालेखमा पनि चित्रकला खोपिएका हुन्छन्), चक्र–फलक, मण्डला, धर्म–चक्र, धर्म–स्तम्भ आदि पनि बौद्ध कला नै हुन् । समष्टिमा भन्नुपर्दा बुद्धिस्ट आर्ट मूलतः बुद्धको जीवनका अनेक गाथा, लोकोक्ति, वृत्तान्त, ऐतिहासिक र पौराणिक आख्यानले भरिभराउ भएको अद्भूत कला हो । यी र यस्तै प्रतीक वा विम्ब लिएर बौद्ध कलाको विकास भएको देखिन्छ । 

सिद्धार्थ गौतम नगर परिक्रमा गर्न घोडाको प्रयोग गर्दथे, अचानक उनीमा ज्ञानको बोध भएपछि उनले परिचायक छन्दलाई घोडा फर्काउन आदेश दिएको प्रसङ्ग छ । यसको सिधा प्रत्यक्ष सम्बन्ध कपिलवस्तु छाडेर जाने (महाभिनिष्क्रमण) सँग जोडेर व्याख्या गर्ने गरिन्छ । कलाकारका लागि यही घोडा गहकिलो प्रतीकात्मक विम्ब बन्यो । निरञ्जन नदीको किनारामा रहेको पिपलको वृक्षमुनि बसेर तपस्या गर्दा बुद्धत्व प्राप्त भएको हुँदा यही वृक्ष कलाकारका लागि अर्को प्रतीकात्मक विम्ब बन्न गयो । धर्मचक्र बुद्धको सारनाथमा भएको प्रथम उपदेशको द्योतक हो, (विम्ब हो) । दृश्यात्मक रूपमा यो विम्बले महत्त्वपूर्ण ठाउँ ओगट्यो । 

डा. वृजभूषणले आफ्नो पुस्तक ‘प्राचीन भारतीय प्रतिमा विज्ञान एवं मूर्तिकला’मा बोधिसत्वको गहन व्याख्या गरेका छन्, ‘महायान बौद्ध धर्मको सबैभन्दा ठूलो विशेषता नै बोधिसत्वको परिकल्पना हो । बोधि प्राप्त गर्न इच्छा राख्ने व्यक्ति, यो अवस्था प्राप्त गर्ने साधकको जीवन नितान्त उदात्त र व्यापक हृदयको हुन्छ । उनको ‘स्व’को परिधिभित्र विश्वको सम्पूर्ण जीव समाहित हुन्छ । यसको गुण हुन्छ, महामैत्री अनि महाकरुणा ।’ 

मूलतः कला र धर्मको अनुपम मिलनबिन्दुको रूपमा चैत्यलाई हेरिन्छ । वास्तुकलाको शुभारम्भको अवधारणामा बन्न पुगेको यो चैत्य नै वास्तुकलाको आधारबिन्दु थियो । वास्तुकलाको विकास क्रममा मन्दिर, गुम्बा आदि बनेको विश्वास गरिन्छ । यसैले यसलाई चैत्यगृह पनि भन्ने प्रचलन छ । तथापि मानव बस्ने घरको अवधारणा र यस्ता वास्तुकला बनेको निकै अगाडि हो । 

सिन्धुघाँटी सभ्यतालगायत विश्वमा भएका अनेकौँ मानव सभ्यताकोे इतिहास, मानव समाजको संरचनागत विकासका ऐतिहासिक अभिलेख प्रशस्तै प्राप्त भएका छन् । सिन्धुघाँँटीमा अनेक नगर सुव्यवस्थित थिए । वास्तुकलाका अनेक रूप उपयोगी कलाका रूपमा, परिमार्जित रूपमा रहेको यसले स्पष्ट सङ्केत समेत गर्छ । मन्दिर पछि बनेका हुन्, तर मान्छे बस्ने घरचाहिँ पहिले बनेका हुन् भन्ने तर्क तत्कालीन सामाजिक र धार्मिक, मूल्य–मान्यता र अवस्थाले छर्लङ्ग पारेको छ । 

एउटा विशेष कालखण्डमा आएर धर्ममा ‘भक्ति आन्दोलन’ भएको इतिहास छ । कण्ठस्थ पारी धर्म उपदेश प्रवाहित गर्ने परम्पराबाट ज्ञान प्रसार हुँदै आयो, पछिल्लो कालमा लेखनबाट सञ्चारित हुन थाले । औपचारिक अध्ययन (पढ्ने–पढाउने, लेख्न–लगाउने) परम्परा विशेष काल खण्डमा आएर संस्थागत रूपमै विकास भएको देखिन्छ । यसका ज्वलन्त उदाहरणमा तक्षशिला र नालन्दा विश्व–विद्यालय हुन् । जहाँ बौद्धधर्मलाई अध्ययन–अध्यापन गराइन्थ्यो । नेपाल, तिब्बत र चीनबाट समेत यहाँ प्रशस्तै रूपमा बौद्धधर्म गुरुहरू, महात्माहरू अध्ययनका लागि आउँथे । जसको अभिलेख पाइन्छन् । 

लिपि विकास भई ग्रन्थ तयार गर्ने परम्परा ईशाको उत्तरकालतिर सुरु भएको देखिन्छ । जहाँबाट भक्ति आन्दोलनको शुभारम्भ भयो भन्ने गरिन्छ । अझ पछिल्लोकालमा आएर ग्रन्थका अगाडिको गातामा चित्र (मिनियचर चित्र)ले सजाउन थालियो, यसरी ग्रन्थचित्रको पनि विकास भयो । बुद्धसम्बन्धी यस्ता चित्र सयौँको रूपमा प्राप्त भएका छन् । बौद्धधर्ममा ईशापूर्व पहिलो शताब्दीतिर मात्र मानव स्वरूपका बौद्ध मूर्ति बनेको इतिहास छ ।  

गौतम बुद्धको जीवनमा अनेकौँ घटना छन् । उनले ज्ञान प्राप्तिका लागि अनेकौँ प्रयोग गरे । यसैमध्ये पनि प्रमुख घटना एउटा कालक्रममा समावेश गर्दै बुद्धको जीवनीको कथात्मक रूप (न्यारेटिभ फर्म)मा अभिलेखन गरिएको छ । यही विशेष घटनालाई आधार बनाएर कलाकारले अनेकौँ कला बनाएका छन् । यस्ता घटनामा विशेष गरेर जन्म, महाभिनिष्क्रमण, (गृहत्याग) सम्बोधि (बुद्धत्व प्राप्ति) प्रथम धर्मचक्र प्रवद्र्धन (प्रथम उपदेश), महापरिनिर्माण (मृत्यु) आदिलाई लिने गरिन्छ ।

कलाविद् एएल श्री वास्तवले राम्रो तर्क दिएर ‘भारतीय कला’ नामक एक अलग्ग पुस्तक प्रकाशनमा ल्याएका छन् । एसियाका अनेकौँ मुलुकमा बौद्ध कला कलागत–प्रवृत्तिमा फरक फरक ढंगले देखापरेका छन् । एस्थेटिकल्ली जजमेन्टका हिसाबमा कलाविद्ले यसको एक अलग्ग व्याख्या विश्लेषण गर्ने गर्छन् । यही सन्दर्भमा कला शैली र प्रवृत्तिको सन्दर्भ उठेको हो । 

भारतमा अलग अलग ठाउँमा बनेका एकैजस्तो देखिने बौद्ध कला पनि शैलीगत हिसाबमा फरक छन् । कुषाणकालमा दुई अलग सहर गान्धार (अहिले यो ठाउँ अफगानिस्थानमा पर्छ) र मथुराका कला शैलीगत रूपमा नितान्त फरक थिए । गान्धार कला युनानी कलाको शैलीमा देखापरेको थियो । युनानी, इरानी र भारतीय कला–संस्कृतिको समिश्रण कलाका रूपमा स्थापित भएको थियो मथुरा कला । यस्ता अनेकौँ उदाहरण छन् । 

मूलतः भारतबाट साउद्रेन (दक्षिणी) रुट र नर्देन (उत्तरी) रुट भनेर बुद्धिजम् भारतबाहिर ईशाको पहिलो शताब्दीमा फैलिएको हरेकजसो विद्वान्ले भनेको पाइन्छ । तथापि बौद्ध धर्म अपनाउने जुनसुकै सम्प्रदाय वा देश जाँदा त्यहाँ बनेका हरेकजसो मूर्ति, वास्तुकला वा चित्रकलाको शैली र प्रवृत्ति नितान्त फरक ढंगबाट बनेको देखिन्छ । खासगरी बाह्य कलेवर, मुखाकृति, शारीरिक बनोट, सिँगार्न प्रयोग भएका बुट्टा, लहरेदार पात, रुखका हाँगाबिँगा, फूलका पत्र आदि ठाउँ अनुसार नितान्त फरक ढंगबाट बनेको देखिन्छ । कलाको सन्दर्भ उठिरहेका बेला यस्ता कलागत विशेषतालाई गौर गर्नुपर्ने हुन्छ । उदाहरणका लागि महायानी सम्प्रदायकै बौद्ध आर्ट नेपाल र जापानमा बनेका छन् । यी दुवै कला बाह्य स्वरूपमै फरक फरक प्रकृतिका रूपमा देखिन्छन् । लक्षण फरक छन् । विशेषता पनि फरक फरक देखिन्छन् । 

दक्षिणी रुटमा थेराभदा सम्प्रदायका रूपमा वा यसैको डोमिनेसनमा बौद्ध धर्म म्यानमार, श्रीलंका, थाइल्यान्ड, कम्बोडिया, लाओस आदिमा फैलिएका थिए । उत्तरी रुटमा बौद्ध धर्म महायान सम्प्रदायका रूपमा सेन्ट्रल एसिया, नेपाल, तिब्बत, भुटान, चीन, कोरिया जापान, भियतनाम आदिमा फैलिएको विश्वास गरिन्छ । यसरी विश्वभरि फैलँदै जाँदा स्थानीय कला (इन्डिजनस आर्ट)को रूपमा बौद्धिस्ट कला जहाँ बन्यो, त्यहाँकै ठाउँ विशेषलाई सुहाउने वा मिल्दो हिसाबले विकास भयो । यसका अनेकौँ भेद–उपभेद विकसित भएका छन् । यसलाई विस्तारमा व्याख्या गर्न यहाँ सम्भव हुँदैन । 

बुद्धकै जीवनकालमा धेरै किम्बदन्ती र धर्मगाथाका आधारमा यस्ता कला बन्न थालेको भन्ने गरिन्छ । तथापि चन्द्रगुप्तका नाति सम्राट अशोकको समय (ईशापूर्व तेस्रो शताब्दी)देखि बौद्ध कला फैलिएको प्रमाण पाइन्छन् । यसलाई बुद्धिस्ट आर्टको शुभारम्भ भएको धेरै विद्वान्को भनाइ देखिन्छ । भारतको आधिकारिक इतिहास यहाँबाटै सुरु गरिन्छ । 

ईशापूर्व चौथो शताब्दीमा चन्द्रगुप्त मौर्यले स्थापना गरेको मौर्यवंश अनि यहीँबाट भारतीय कलाको विशेषता पल्लवित हुन थालेको भारतीय विद्वानको मत छ । यसपछिको गुप्तकालमा आएर भारतीय कलाको आफ्नो अलग्ग पहिचान स्थापना भएको भन्ने भनाइमा खोजकर्ताहरु एक मत छन् ।

यसभन्दा झन्डै एक हजार वर्षपूर्व अस्तित्वमा रहेको सिन्धुघाँटी सभ्यताको अन्त भयो । कलाको इतिहास खोतल्न त्यहाँसम्म पुग्नुपर्ने हुन्छ । सिन्धुघाँटीको सभ्यता ईशापूर्व १५०० मा अन्त भएको मानिन्छ । सम्राट अशोकको कार्यकालभन्दा अगाडि पनि बौद्ध कला बन्दै नबनेको होइन, तथापि सम्राट अशोकलेस्तम्भ कलादेखि स्तूप र विहार निकै बनाए । कसै कसैले उनले ८० हजारको हाराहारीमा यस्ता कला बनाउन लगाएको आकलन गरेका छन् । यसर्थ बौद्ध कलाको चर्चा–परिचर्चा यहीँबाट हुने गर्छ । यसपछि शुंग, सातवाहन कालमा बौद्ध कला तीव्र गतिमा विकास भएको मानिन्छ । 

बौद्ध कला जन्मनुअघि पनि भारत वर्षमा कलाको लामो परम्परा रहेको देखिन्छ, तर यसबीचको झन्डै हजार वर्षको अन्धकार युगका कारण सिन्धुघाँटीको कला र यता मौर्य राजवंश स्थापना भएपछि बनेका कलाबीचको सम्बन्धलाई राम्ररी जोड्न सकिएको छैन । तापनि यही अवधिमा उदय भएका यक्ष–यक्षणीका मूर्ति बन्ने गरेको प्रसङ्ग उठ्न छाडेको देखिँदैन । यस कारण बौद्ध कलालाई राम्ररी बुझ्न प्राचीन कलाको लक्षण, विशेषता केलाउनुपर्ने हुन्छ । यसर्थ यसको शैलीगत प्रवृत्तिलाई हेर्न बुझ्न सिन्धुघाँटीमा प्राप्त कलालाई जोडेर हेर्नुपर्छ । 

सिन्धुघाँटीमा भेटिएका मूर्ति र कला सम्पदालाई व्राह्मणीकल धर्मका आराध्य देवदेवीसँग प्रत्यक्ष जोडेर हेर्ने गरिन्छ । यसबेला प्राप्त भएका नारी मूर्तिलाई मातृदेवी वा महिमातासँग जोडेर हेरिन्छ । यसर्थ भारतको कला इतिहासमा ईशापूर्व तेस्रो शताब्दीमा उदाएका कला खास अर्थका साथ देखापर्छन् । यसबारे फिलिप रावसनले आफ्नो पुस्तक ‘इन्डियन आर्ट’मा व्याख्या गरेका छन् । 

रावसनका अनुसार, सम्राट अशोकले ईशापूर्व २३२ मा धार्मिक क्षेत्रमा स्यान्ड स्टोनबाट यस्ता कलात्मक पिलर (स्तम्भ) बनाएका थिए । कलिङ्गको लडाइँपछि लाखौँ मान्छे हताहत भएका कारण बौद्धधर्म अँगाल्न पुगेका सम्राट अशोकले आफ्नो जीवनको उत्तराद्र्धमा यस्ता बौद्ध आर्ट अनगिन्ती रूपमा बनाए । स्यान्ड स्टोनबाटै बनेका त्यतिबेलाका केही चिल्ला कमला पिलरलाई ब्रह्माण्डको प्रतीकात्मक विम्बका रूपमा बुझ्न सकिन्छ । यसै बेलादेखि शिलालेख प्रशस्तै रूपमा पाउन थालिएको छ । यी पत्थर कसरी चिल्लो–पालिसदार बने ? यसबारे कसैले स्पष्ट व्याख्या गर्न सकेका छैनन् । किनकि यस्ता पालिसदार कला भारतीय कला इतिहासमा यसअघि र यसपछि कसैले बनाएको देखिँदैन । 

राजवंश (मौर्य वंश) र धर्मलाई समेटेर स्तम्भमा कलाहरु बनेका छन् । यी कलामा प्रतीकात्मक रुपमा सिंहको मूर्ति, साँढे, हात्ती, घोडा, पत्रैपत्र भएको कमलको फूल आदिलाई समावेश गरिएको छ । जुन प्रतीकात्मक जनावरलाई आजको दिनसम्म साउथ एसियाका अधिकांश राष्ट्रका कलामा यथेष्ट रूपमा प्रयोग गर्दै आएको देखिन्छ– कतै लोककला, कतै परम्परागत कला, कतै हस्तकला र कतै उपयोगी कलाका रुपमा । भारतका धेरै भागमा बनेका यस्ता पिलर नेपालको लुम्बिनी क्षेत्रमा समेत स्थापित गरिएको छ । 

त्यतिबेला ब्राह्मी लिपिमा स्पष्टसँग लेखिएको आलेख पनि पिलरमा राखिने हुँदा ऐतिहासिक अभिलेखीकरणमा सघाउ पुगेको देखिन्छ । यता साउथ एसिया देखापरेको सबैभन्दा जेठो लिपि ब्राह्मी हो । 

बौद्ध धर्ममा गौतम बुद्धको जन्म हुनुअघि कैयौँ बुद्धले जन्म लिइसकेको बौद्ध धर्मावलम्बीले विश्वास गर्छन् । यो मान्यता अलिपछि विकास भएको हो । गौतम बुद्धको जन्मपछि पनि यसका मत, सिद्धान्त, मान्यता समयानुकूल परिवर्तन हँुदै गएको देखिन्छ । बौद्धधर्म अनेक सम्प्रदायमा विभाजित हुँदा आराध्यदेवको रूपमा अनेक नामका कला कलाकारले निर्माण गरेका छन् । 

उदाहरणका लागि स्थवीर सम्प्रदायको मतमा स्थापित बौद्ध धर्मका नियम कठोर रूपमा पालन गरे बुद्धत्व प्राप्त हुन्छ भन्ने मान्यता थियो । जब कि महासंघिक सम्प्रदायको मत थियो– बुद्धत्व भनेको हरेक मानवको आत्मामै पहिलेदेखि नै विद्यमान हुन्छ, केवल यसलाई जागृत गर्नु र विकास गर्न मात्र आवश्यक छ । यी दुई फरक मतले पनि बुद्ध धर्मलाई हेर्ने दृष्टिकोणमा फरकपन आयो । यही मतानुसार कलाकै स्वरूप, लक्षण र विशेषता फरकपनका साथ देखिँदै आएका छन् । 

पछिल्लो कालमा आएर यही महासंघिकबाटै महायानको विकास भएको मानिन्छ । महायान सम्प्रदायको विकास हुँदासम्म सिद्धान्तमा आमूल परिवर्तन भर्ई परम सत्यस्वरूप बुद्धले मानव समाजको कल्याणका लागि अनेक रूप धारण गर्छन् भन्ने मान्यता स्थापित भएको देखिन्छ । यही बेलादेखि बौद्ध धर्ममा बोधिसत्वको परिकल्पनाले प्रवेश गरेको मानिन्छ । यही बेलै मूलतः भक्ति आन्दोलन, अवतारवादको जगजगीका कारण आदिबुद्ध, बोधिसत्वको अवधारणा स्थापित भएको मानिन्छ । फलतः सुन्दर मुखाकृतिका साथ सशरीर ध्यानमग्न बुद्धका मूर्ति बन्न थाले । बसेका र उठेका बुद्ध बनाउनुको पछाडि पनि अनेक धर्मशास्त्रीय सिद्धान्त र मान्यतालाई आधार मानिएको थियो । यी सबैलाई व्याख्या–विश्लेषण गर्न यो सानो आलेखमा सम्भव हुँदैन । सुरुका वेला गान्धार (अहिले पाकिस्तानमा पर्छ) पछि मथुरामा यस्ता बुद्धका मूर्ति बन्न थालेका हुन्, (कसै कसैले मानवरूपी बुद्धको मूर्ति पहिला मथुरामा बनेको पनि भन्छन्) । 

आजको दिनसम्म आइपुग्दा बौद्ध दर्शनमा आधारित हुँदै कलाकारले कलाको सिर्जना गरेका छन् । कलाकारको अकासिँदो कल्पनाका कारण चित्रपटमा कलाको संयोजन, संगठन, रंग र रेखा अलौकिक रूपमा देखिन्छन् । आजका कलाकारले कल्पनाका माध्यमबाट बुद्धका हजारौँ रूपलाई उतारेका छन् । 

एनिकोनिक बौद्ध कला 

बौद्ध कलाको कुरा गर्दा यसलाई मूलतः अनेक खण्डमा बाँडेर हेर्ने चलन छ । विभिन्न खण्डमा विभाजित हुँदा एउटा खण्ड ‘एनिकोनिजम् इन् बौद्धिजम’ खण्डको रूपमा देखाप¥यो । जहाँ एनिकोनिक सिम्बोलको प्रयोग भई कलाको निर्माण हुने गथ्र्यो । यस बेलाको कलाको मुख्य विशेषताका रूपमा बौद्ध धर्मको प्रतीक भौतिककलाको रूपमा आउँथ्यो । शुभारम्भमा नितान्त प्रतीकात्मक विम्ब (वज्र, बेल, स्तूप र बौद्ध मन्दिर आदि) बौद्ध कलामा प्रयोग गरिन्थ्यो । यी कला मूर्तिकला वा वास्तुकलाभित्र पर्ने गर्छ । चित्रकलामा बुद्धिस्ट आर्ट अलिपछि देखापरेको हो । पछि मानवीय आकारलाई प्रयोग गरेर बनाइएका ‘न्यारेटिभ सिन’हरूमा पनि यस्ता प्रतीकात्मक विम्बको प्रयोग भएको देखिन्छ । सुरुका बेला बौद्धिस्ट कलामा मानवीय अनुहार, शारीरिक आकारले ठाउँ पाएको देखिँदैन । मानवका आकार बन्नुअघि यस्ता विम्ब बढी मात्रामा प्रयोग हुन्थे । यस्ता प्रतीकमा बोधि रुख, छाताका साथमा घोडाहरू, खाली सिंहासन, धर्मचक्र, कमलको फूल आदिका प्रतीकात्मक कला बनाउन थालेको देखिन्छ । यस्ता एनिकोनिक सिम्बोल राखेर बनाइने प्रतीकात्मक कलागत प्रवृत्ति झन्डै ईशाको दोस्रो शताब्दीको अन्तसम्म रह्यो । 

यसअघि कलाको इतिहासमा मानव आकृतिलाई बनाउने प्रचलन नभएको होइन । मोहनजोदारो शिलामा २००० ईशापूर्व बनेको सग्लो मान्छेको टाउको (चार इन्चको) को मूर्ति प्राप्त भएको इतिहास छ । २५०० ईशापूर्व सिन्धुघाँटीको सभ्यतामा त अनेक मानव आकृतिका मृणमूर्ति (माटाका मूर्ति) प्राप्त भएका छन् । 

बुद्धका मूर्ति पछिसम्म नदेखिनुको कारणमा श्रीवात्सवको भनाइ फरक छ । उनका अनुसार, महात्मा बुद्धले निर्वाण प्राप्त गरिसकेको प्रसंग उठाउँदै त्यस बेला महात्मा बुद्धलाई सामान्य मान्छेजस्तो गरी हेरिएको छैन । त्यति बेला प्रतीककै रूपमा लिइएकाले पनि पछि महायानी सम्प्रदाय, वज्रयान सम्प्रदायसम्म आइपुग्दा बनेका अनेकौँ कलामा अझ शास्वत मानवको रूपमा प्रतिविम्बित गरिएको छैन । उनी लेख्छन्, ‘महात्मा बुद्धलाई शरीरको बन्धनबाट आँक्न सकिँदैन । वज्रयानमा सहस्त्र हातपाउसहित क्रोध र शान्त बुद्धलाई प्रस्तुत गर्दा पनि प्रतीकात्मक अनेक विम्ब स्थापित गरिएका छन् । 

कलाविद् एएल श्रीवास्तवका अनुसार, सुरुको कालमा बुद्धलाई बढीजस्तो प्रतीकको माध्यमबाट अंकित गर्ने कोसिस भएको देखिएको छ । कहीँ पनि बुद्धलाई मानवको रूपमा देखाइएको छैन । त्यस बखतका यी प्रतीक अलग्ग र स्पष्ट रूपमा रहेका छन् । यस्ता प्रतीकमा आसन, धर्मचक्र, त्रिरत्न, पदचिह्न, बोधिवृक्ष र स्तूप आदि हुन् । 

यस्ता सिम्बोल बढी मात्रामा प्रयोग हुनुमा कलाविद् डा. वृजभूषण श्रीवास्तवले राम्रो गरी व्याख्या गरेर पुस्तकै निकालेका छन् । उनका अनुसार, बौद्ध धर्मको प्रारम्भिक स्वरूप हीनयानमा व्याख्या भएको छ, जस अनुसार जन्म र मृत्यु अद्भूत भए पनि बुद्ध अन्य मानवभन्दा नितान्त फरक थिएनन् । बौद्ध धर्मको यो चरणमा परिनिवृत्त बुद्धले संसारमा हस्तक्षेप गर्न सक्दैनन् र गर्दैनन् भन्ने विश्वास गरिन्थ्यो । बुद्ध आफैँ भगवान थिएनन् । उनले आफैँ भनेका छन्, निर्वाणका लागि प्रत्येकले आफैँ प्रयास गर्नुपर्छ । हीनयानमा बुद्धपूजा (भक्ति भाव, याचना प्रार्थना आदिको सन्दर्भमा) बाट वरदान पाउन सकिन्न, तर बुद्धको ध्यान गर्दा चित्त शुद्ध हुन्छ, अनि मानवका लागि निर्वाणको दिशातर्फ अग्रसर हुन यसले यथेष्ट मार्ग दर्शन गर्छ । यसर्थ हीनयानमा बुद्धको मूर्त रूपमा पूजा गर्ने प्रश्नै उठ्दैन । यसर्थ बुद्धको प्रतीकात्मक विम्बको प्रचलन स्थापित भएको हुन सक्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप