आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड

सोमबार, २९ वैशाख २०८२, २२ : ००
सोमबार, २९ वैशाख २०८२

आज २०८२ वैशाख २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रधानमन्त्रीकै सामु देखिए पक्राउ पुर्जी जारी भएका सांसद, प्रचण्डले भने– लुटेरा निर्वाचन प्रणाली चाहिन्न, भैरहवामा ओली–वैद्य जम्काभेट, ‘थारु’लाई छुट्टै पहिचान नदिन सर्वोच्चले लियो चार आधार, सशस्त्रमा एक एआईजीका लागि ८ जनाको दाबी लगायत छन् ।

१. प्रधानमन्त्रीकै सामु देखिए पक्राउ पुर्जी जारी भएका सांसद
अदालतबाट पक्राउ पुर्जी जारी भएका प्रदेश सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै देखिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अतिथि बनेर सहभागी भएका पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको हल्ला फैलिनासाथ उनी फरार भए ।

२. प्रचण्डले भने– लुटेरा निर्वाचन प्रणाली चाहिन्न
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीलाई ‘लुटेरा निर्वाचन प्रणाली’ भनेका छन् । करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली नचाहिने उनले बताए ।

३. भैरहवामा ओली–वैद्य जम्काभेट
प्रधानमन्त्री केपी शर्मा ओली र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट भएको छ । सोमबार ओली बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा र वैद्य काठमाडौँ आउँदै गर्दा विमानस्थलमा जम्काभेट भएको हो ।

४. ‘थारु’लाई छुट्टै पहिचान नदिन सर्वोच्चले लियो चार आधार
सर्वोच्च अदालतले ‘थारू’लाई छुट्टै पहिचान दिन अस्वीकार गरिदिएको छ । अदालतले थारूलाई जनजाति आदिवासीअन्तर्गतबाट झिकेर छुट्टै पहिचान दिन नपर्ने चार वटा आधार देखाएको छ । यसैबिच सर्वोच्च अदालतले व्यवसायी मिनबहादुर गुरुङबाट एमालेले जग्गा दान लिन पाउने गरी गरेको फैसलाको समेत पूर्णपाठ आएको छ ।

५. सशस्त्रमा एक एआईजीका लागि ८ जनाको दाबी
सशस्त्र प्रहरी बलमा एक एआईजी पदका लागि ८ डीआईजीले दाबी गरेका छन् । भावी आईजीपी बन्नका लागि यो बढुवा महत्त्वपूर्ण हुने भएकाले धेरैले चासोका साथ लिएका छन् ।

६. तीन वर्षमा बन्नुपर्ने संसद् भवन साढे पाँच वर्षमा पनि सकिएन
संघीय संसद भवन निर्माण तीन वर्षमा सक्ने गरी सम्झौता भएकोमा साढे पाँच वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याथ थपिएकोमा फेरि निर्माण सम्पन्न गर्ने समयावधि थप हुने तरखरमा छ ।

७. लुम्बिनी पुगेर प्रधानमन्त्रीले गरे भारत–पाकिस्तान युद्धको चर्चा
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भारत–पाकिस्तान युद्धबारे समेत चर्चा गरेका छन् ।

८. गणतन्त्रविरुद्ध पूर्वपञ्च एकजुट
राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलन निस्तेज भएपछि पूर्वपञ्चहरू एक ठाउँमा उभिएका छन् । पूर्वपञ्चहरूले १४ बुँदे सहमति गरी जेठ १५ गते गणतन्त्र स्थापनाकै दिन पारेर अनिश्चितकालीन आन्दोलन सुरु गर्ने भएका छन् ।

९. पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
सार्वजनिक लेखा समितिअन्तर्गत पोखरा विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन गर्न गठित उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्यो । यद्यपि समितिको प्रतिवेदनमा छानबिन गरी कारबाहीका लागि सिफारिस गरेका व्यक्ति र भ्रष्टाचार भएको तरिका र निष्कर्षमा तालमेल भने देखिँदैन ।

१०. फेरि बजेट घटाउने दबाबमा लुम्बिनी सरकार
लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई आर्थिक वर्षको बजेट घटाइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि बजेट घटाउने दबाबमा प्रदेश सरकार छ । बजेट कार्यान्वयनका अवस्थाबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप