आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कारबाही फुकुवा

८ जनप्रतिनिधिलाई कांग्रेसको रेड कार्पेट

तीन दर्जन नेताको कारबाही फुकुवा
बुधबार, ३१ जेठ २०८०, १४ : ५९
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसले स्वतन्त्रबाट जितेका ८ जना जनप्रतिनिधिलाई कारबाही फुकुवा गरेर पार्टीमा भित्र्याएको हो ।

केन्द्रीय अनुशासन समितिले मंगलबार जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको हो ।

यस्तै जिल्ला समन्वय समिति दैलेखको प्रमुख नमराज शाही, बर्दिबास–१ का वडाध्यक्ष भोला खड्का, बर्दिबास–७ का वडाध्यक्ष रामस्वगारथ यादव, बर्दिबास–१४ का वडाध्यक्ष विजय कुमार महतो पनि कांग्रेसमा फर्किएका छन् ।

स्थानीय तह निर्वाचन लगत्तै कांग्रेसमा स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय चुनाव जितेकालाई फिर्ता ल्याउन आवाज उठेको थियो ।गत वर्ष असारमा बसेको केन्द्रीय समिति बैठकमा नेता विमलेन्द्र निधि, बलबहादुर केसी, अजयबाबु सिवाकोटी लगायतले पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिलाई फिर्ता ल्याउन माग राखेका थिए ।

manoj shah

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह नेपाली कांग्रेसमै फर्किएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन विपरीत जनकपुरधाम उपमहानगरको मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसले साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

कांग्रेस जनकपुर उपमहानगरपालिका कार्यसमितिका सभापति साहले पार्टीबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।

कांग्रेसले जनता समाजवादी पार्टीका लालकिशोर साहलाई समर्थन गरेपछि साहले विद्रोह गरे । पार्टीको उपमहानगर सभापति पदको माया मारेर स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव पनि जितेका थिए ।

चुनाव जितेपछि मेयर साह कांग्रेसको गतिविधिमा सामेल हुन थालिसकेका थिए । पार्टीको आदर्श, सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील रहने भन्दै पार्टीमा निवेदन दिएपछि उनमाथिको कारबाही फुकुवा भएको हो ।

मेयर क्षेत्रीसहित महोत्तरीका २६ नेता फर्किए

 

कांग्रेसमा विद्रोह गरी महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर जितेका प्रह्लादकुमार क्षेत्रीसहित २६ जनाको कारबाही फुकुवा भएको छ ।

कांग्रेसका तत्कालीन महाधिवेशन प्रतिनिधिहरु मेयर क्षेत्री, उपमेयर तारादेवी महतो, रामलोचन ठाकुर, अशोक लामा, पुन्ने प्रसाद गौतम र अशोक कोइरालाको पूर्ववत् जिम्मेवारी कायम भएको छ ।

यस्तै बर्दिबास–१ का वडाध्यक्ष भोला खड्का, बर्दिबास–७ का वडा सभापति तथा वडाध्यक्ष रामस्वगारथ यादव, बर्दिवास–१४ का वडाध्यक्ष विजय कुमार महतो पनि कांग्रेसमा फर्किएका छन् ।

कांग्रेसले मेयर क्षेत्रीका प्रस्तावक बसेको बर्दिबास नगर सभापति युवराज पोखरेल र समर्थक बसेका नगर सचिव विनोद ढुंगेल तथा उपमेयर महतोका प्रस्तावक बसेका नगर सचिव अनिल कुमार महतोको कारबाही पनि फुकुवा गरेको छ ।

atytga

महोत्तरी प्रदेश १ (क) सभापति गंगाप्रसाद राउत, उपसभापति जगन्नाथ महतो, सचिव, वृज विहारी महतो, बर्दिबास नगर उपसभापति नवराज कोइराला, कांग्रेस नगर सहसचिव तथा बर्दिवास–४ का वडाध्यक्षका प्रत्याशी टेकेन्द्रराज लामा, तरुण दल जिल्ला सचिव तथा बर्दिबास नगरपालिका कार्यपालिका सदस्य विन्देश्वर साहको कारबाही पनि फुकुवा भएको छ ।

यस्तै प्रदेश प्रतिनिधि श्यामप्रसाद महतो, बर्दिबास–११ को वडाध्यक्षका प्रत्याशी वोधबहादुर कटुवाल, प्रदेश प्रतिनिधि तथा बर्दिबास– ३ को वडाध्यक्षको प्रत्याशी यज्ञप्रसाद ढुंगेल, बर्दिबास– १ का सभापति भुलनसेन ठकुरी, बर्दिबास–१२ का सभापति रमेश सिंह, क्रियाशील सदस्य पोषण थापा, तरुण दल कार्यवाहक सभापति दिपेन्द्र शिवभक्ति र क्षेत्रीय सदस्य कृष्णकुमार श्रेष्ठको साबिकको पद कायम भएको छ ।

क्षेत्रीले कांग्रेसबाट टिकट नपाएपछि उनीहरुको सहयोगमा स्वतन्त्र प्यानल बनाएका थिए । कांग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खेसेर चिरञ्जीवी हमाललाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

हमालको जमानत जफत हुँदा क्षेत्रीको प्यानलले मेयर र उपमेयरसहित १, ७, १३ र १४ मा वडाध्यक्ष पनि जितेको थियो । उनीहरु अब कांग्रेसमा क्रियाशील हुन पाउने भएका छन् ।

मेयर कठायत र प्रमुख शाहीमाथिको कारबाही पनि फुकुवा

जिल्ला समन्वय समिति दैलेखको प्रमुख नमराज शाहीमाथि गरिएको कारबाही पनि फुकुवा भएको छ । कांग्रेसका तत्कालीन जिल्ला उपसभापति शाहीले स्वतन्त्र उम्मेदवारी दिएर जिल्ला समन्वय समिति प्रमुख जितेका थिए । एमालेको समर्थनमा शाहीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार कांग्रेसकी दुर्गा कुमारी श्रेष्ठलाई हराएका थिए ।

n

स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले शाहीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । कारबाही फुकुवा भइसकेपछि उनी पार्टीको पूर्ववत् पदमा फर्किएका छन् । यस्तै जुम्लाको चन्दननाथ नगरपालिकाको मयेर राजुसिंह कठायत पनि कांग्रेसमा फर्किएका छन् । कांग्रेसले टिकट नदिएपछि पार्टीको महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्रमा उम्मेदवारी दिएका कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठबन्धन गरेका थिए । उनले कांग्रेसका अधिकारिक उम्मेदवार पदम शाहीलाई पराजित गरेका थिए । 

कांग्रेसमा फर्किन चाहेको भन्दै निवेदन दिएपछि मेयर कठायतमाथिको कारबाही फुकुवा भएको छ । अब उनी स्वतः कांग्रेसको महासमिति सदस्यमा फर्किएका छन् । यस्तै उनीहरुका समर्थक र प्रस्तावकमाथिको कारबाही पनि फुकुवा भएको छ ।

अनुशासन समितिका सदस्यसचिव प्रेम केसीले जिल्लाको सिफारिसपछि तीन दर्जन नेताको कारबाही फुकुवा गरिएको बताए । उनीहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सक्रियतापूर्वक पार्टीको पक्षमा लागेपछि कारबाही फुकुवा गरिएको उनको भनाइ छ ।

‘संघ र प्रदेशको चुनावको दौरानमा उहाँहरुको काम सन्तोषजनक देखिए सम्बन्धित क्षेत्रको उम्मेदवार, जिल्लाको सिफारिस आएको खण्डमा पार्टीले पुनर्विचार गर्ने भनेको थियो । सोही अनुसार कारबाही फुकुवा भएको हो,’ केसीले भने ।

सचिव केसीका अनुसार कांग्रेसको अनुशासन समितिले अहिलेसम्म प्रदेश र प्रतिनिधिसभाका बागी उम्मेदवारबारे केही बोलेको छैन । कांग्रेसमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर सर्लाही–४ बाट अमरेशकुमार सिंह र जुम्ला प्रदेशसभा – १ बाट देवेन्द्रबहादुर शाही विजयी भएका थिए ।

प्रतिनिधिसभा उम्मेदवार सिंहले कांग्रेसका निवर्तमान जिल्लासभापति नागेन्द्र कुमार रायलाई हराउँदा प्रदेशसभा उम्मेदवार शाहीले कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई हराएका थिए ।

सिंह र शाहीले कांग्रेसमा फर्कउन पाउँ भनी निवेदन दिए कारबाही फुकुवा गर्न सकिने कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बताए । ‘हामी कांग्रेसमा हिजो पनि थियौँ । आज पनि छौँ, भोलि पनि कांग्रेसमै रहन्छौं भनेर निवेदन दिने जनप्रतिनिधिको कारबाही फुकुवा हुन्छ,’ उनले भने ।

ढुंगानाका अनुसार चितवन– ३ मा मंसिर ४ को निर्वाचनमा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएका तत्कालीन केन्द्रीय सदस्य दिनेश कोइरालामाथि कारबाहीबारे पनि चाँडै थप निर्णय हुनेछ । वैशाख १० मा भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा उनी खुलेर लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप