सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ को आवेदन खुला

सोमबार, ०४ असार २०८०, १२ : ५९
सोमबार, ०४ असार २०८०

लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाले प्रदान गर्ने ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार २०२३’ का लागि आफ्नो आवेदन पठाउन वा अरू कसैको सामग्री सिफारिस गर्न सिफारिस समितिले आवेदनका लागि आव्हान गरेको छ ।

पुरस्कारमा सहभागी हुन चाहने पत्रकारहरूले सन् २०२२ जुन महिनाको १ तारिखदेखि सन् २०२३ को मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफूद्वारा लिखित (एक वटा मात्र)  (बाइलाइनसहित) लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिङ्क वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति सन् २०२३ जुन ३० तारिख अपराह्न ५ बजेभित्र पठाइसक्नुपर्नेछ ।

बेलायतमा कार्यरत नेपाली पत्रकारहरूलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्ने उद्देश्यले स्थापित यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५ सय दुई पाउन्ड नगद र सम्मान पत्र वा संयुक्त रूपमा दुई जनालाई जनही २ सय ५१ पाउन्ड नगद र सम्मापत्रसहित प्रदान गरिनेछ।

शाखाले गत साता डा. बच्चुकैलाश कैनी संयोजक र सदस्यहरू नवीन पोखरेल एवं लक्ष्मी राई (लारा) रहेको एक सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले प्राप्त आवेदनका आधारमा पुरस्कृतको नाम सिफारिस गर्नेछ ।

पुरस्कारका लागि आवेदन गर्ने ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार २०२३’ सिफारिस समितिले निम्न आधारहरू तोकेको छ:

१. बेलायतभित्र वा बाहिरबाट सञ्चालित वा प्रकाशित सञ्चारगृहमार्फत् नेपाली वा अंग्रेजी भाषामा कम्तीमा ३ वर्ष लगातार काम गरेको अनुभवसहितका बेलायतमा रहेका नेपाली वा नेपाली मूलका पत्रकारहरूले यस पुरस्कारका लागि आवेदन गर्न सक्नेछन् ।

२. पुरस्कारमा सहभागी हुन चाहने पत्रकारहरूले सन् २०२२ जुन महिनाको १ तारिखदेखि सन् २०२३ को मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफूद्वारा लिखित (एक वटा मात्र)  (बाइलाइनसहित) लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिङ्क वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति सन् २०२३ जुन ३० तारिख अपराह्न ५ बजेभित्र [email protected] मा पठाउनुपर्नेछ। उक्त अवधिपछि प्राप्त सामग्रीलाई पुरस्कारका लागि समावेश गरिनेछैन।

३. बेलायतका नेपालीहरू, भूपू गोर्खा तथा  गैरआवासीय नेपालीहरूको जनजीवनलगायत उनीहरूका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख तथा समाचारहरूलाई पुरस्कार छनोटमा प्राथमिकता दिइनेछ। त्यस्तै, नेपाल र नेपालीहरूका लागि उपयोगी हुने बेलायतका अनुभव र अभ्यासका बारेमा प्रकाशित सामग्रीलाई पनि प्राथमिकता दिइनेछ।

४. सञ्चारकर्मीले आफूले लेखेको सामग्री आफै पठाउन वा अरू कसैले सिफारिस गरिदिन सक्नेछन्। तर सिफारिसकर्ताले आफूले सिफारिस गरेको व्यक्ति र उनीद्वारा प्रकाशित समाचारको लिङ्क वा स्क्यानिङ प्रति माथि उल्लेखित इमेल ठेगानामा तोकिएको समयसीमाभित्र पठाउनुपर्नेछ।

५. सिफारिस समितिमा रहेका व्यक्तिहरूले यस पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।

६. पुरस्कार नेपाल पत्रकार महासंघ यूकेको वार्षिकोत्सव समारोहमा वितरण गरिनेछ ।

७.पुरस्कारका सम्बन्धमा पुरस्कार सिफारिस समितिको निर्णय अन्तिम हुनेछ।

उत्कृष्ट सामग्रीलाई आउँदो जुलाई ९ मा हुन् गइरहेको पत्रकार महासंघ युके शाखाको १२औँ वार्षिकोत्सव एवम् च्यारिटी डिनर नाइटमा सम्मान तथा पुरस्कृत गरिनेछ । एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार २०२१ पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गरेका थिए भने गतवर्ष सन् २०२३ मा पत्रकारद्धय नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रूपमा प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप