शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टाइटानिक हेर्न गएको बेपत्ता पनडुब्बीमा छन् बेलायती अर्बपति, पाकिस्तानी व्यापारी र उनका छाेरा

मङ्गलबार, ०५ असार २०८०, १४ : १३
मङ्गलबार, ०५ असार २०८०

मध्य एट्लान्टिक महासागरमा एउटा व्यापक खोज अभियान चलिरहेको छ । खोजीमा जुटेका दलले एउटा पनडुब्बीको तलास गरिरहेका छन् जुन पर्यटकहरूलाई विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिकको भग्नावशेष देखाउन निस्किएको थियो । 

आइतबारदेखि पनडुब्बी सम्पर्कविहीन भएको थियो र त्यसयता नै यसको खोजी कार्य जारी छ । अमेरिकी कोस्ट गार्डका अनुसार पानी भित्र गएको एक घण्टा ४५ मिनेटपछि पनडुब्बीसँगको सम्पर्क टुटेको थियो ।

टुर कम्पनी ओसनगेटको यो सानो पनडुब्बीमा पाँच जना सवार थिए । कम्पनीले पनडुब्बीको खोजीका लागि हरेक विकल्प प्रयोग गरिरहेको बताएको छ ।

आठ दिने यो पर्यटकीय यात्राको टिकटको मूल्य साढे दुई लाख डलर (३ करोड २७ लाख रुपैयाँ) पर्छ ।

यस भ्रमणको क्रममा, पनडुब्बीले टाइटानिक जहाजको भग्नावशेष नजिकै समुद्रमा ३८०० मिटर मुनी डुब्की लगाउँछ ।

usअधिकारीहरूका अनुसार सरकारी निकायहरू, अमेरिकी र क्यानडाली नौसेनाहरू र व्यावसायिक रूपमा समुद्रको गहिराइमा जाने कम्पनीहरू यो  खोज अभियानमा संलग्न छन् ।

टाइटानिकको भग्नावशेष उत्तरी अमेरिकाको महासागरको सबैभन्दा नजिक रहेको क्यानडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर टाढा एट्लान्टिक महासागरमा छ ।

यद्यपि यो पनडुब्बीको खोजी अभियान अमेरिकाको बोस्टनबाट चलिरहेको छ ।

हराएको पनडुब्बी ओसन गेट कम्पनीको टाइटन सबमर्सिबल हो जुन एउटा ट्रक जत्तिकै ठुलो छ र यसमा पाँच जना सवार छन् । सामान्यतया यो पनडुब्बीमा आपत्कालीन अवस्थामा चार दिनसम्म अक्सिजन हुन्छ ।

सोमबार दिउँसो अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन माउगरले पत्रकार सम्मेलनमा भने, ‘पनडुब्बी खोज्नका लागि हामीसँग ७० घण्टादेखि ९६ घण्टासम्म समय छ भन्ने अनुमान गरिरहेका छौँ ।’

जुन क्षेत्रमा यो खोजी अभियान चलिरहेको छ त्यो धेरै टाढा भएकाले अभियानमा कठिनाइ भइरहेको पनि उनले बताए ।

रियर एडमिरलले उद्धार कार्यमा संलग्न व्यक्तिहरूले यो कार्यलाई व्यक्तिगत रूपमा लिइरहेको र पनडुब्बीमा रहेका मानिसहरूलाई बचाउन हर सम्भव प्रयास गरिरहेको बताए ।

us1बेलायतका अर्बपति व्यापारी हमिस हार्डिङको परिवारले उनी पनि यो पनडुब्बीमा सवार रहेको बताएका छन् । यस्तै यसमा पाकिस्तानी व्यापारी सहजादी दाउद पनि सवार छन् । उनीसँगै उनका छाेरा सुलेमान पनि छन् । 

५८ वर्षीय हार्डिङ एक अन्वेषक पनि हुन् । गत साताको अन्त्यमा हार्डिङले सामाजिक सञ्जालमा भनेका थिए, ‘म टाइटानिकको भग्नावशेषसम्म जाने अभियानको हिस्सा हुँ भन्ने कुरामा गर्व गर्छु ।’

उनले न्यु फाउन्डल्याण्डमा विगत चार दशकको सबैभन्दा भीषण जाडोका कारण २०२३ मा टाइटानिकमा जाने यो एक मात्र मानव मिसन हुन सक्ने पनि बताएका छन् ।

उनले पछि लेखे, ‘मौसमका कारण एउटा अवसर पाएको र हामी भोलि अभियानमा जाने प्रयास गर्नेछौँ ।’

ओसन गेटले एक विज्ञप्ति जारी गर्दै आफ्नो पूरा ध्यान पनडुब्बीमा सवार मानिस र उनीहरूको परिवारमाथि भएको बताएको छ ।

कम्पनीको बयानमा भनिएको छ, ‘पनडुब्बीसँग सम्पर्क पुनः स्थापना गर्ने प्रयासमा हामीले धेरै सरकारी एजेन्सीहरू र डिप सी कम्पनीहरूबाट प्राप्त गरेको व्यापक सहयोगको लागि हामी अत्यन्त आभारी छौँ ।’

हराएको पनडुब्बी कार्बन फाइबरले बनेको छ । आफ्नो भ्रमणको प्रवर्द्धन गर्दै कम्पनीले दाबी गरेको छ, ‘यो तपाईंको दैनिक जीवन बाहिर असाधारण खोजी गर्ने मौका हो ।’

कम्पनीको वेबसाइटका अनुसार एउटा अभियान जारी छ र जून २०२४ का लागि दुई अन्य अभियान तय छन् । 

टाइटन सबमर्सिबल

यो पनडुब्बीमा सामान्यतया एक पाइलट, तीनजना पर्यटक र कम्पनीको भाषामा एक ‘कन्टेन्ट एक्सपर्ट’ सवार हुन्छन् । 

यो यात्रा न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ । टाइटानिकको भग्नावशेषसम्म पुग्न र फिर्ता आउन आठ घण्टाको समय लाग्छ । 

ओसनगेटको वेबसाइटका अनुसार उनीहरूसँग तीन वटा पनडुब्बी छन् तर टाइटानले मात्रै टाइटानिकको भग्नावशेषसम्म पुर्याउन सक्छ । 

यो पनडुब्बीको तौल १०४३२ केजी छ र कम्पनीको वेबसाइटका अनुसार १३,१०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ ।

पोलर प्रिन्स नामको जहाज पनि यो अभियानको हिस्सा रहेको ओसनगेटका मालिकले बीबीसीलाई बताए । यस जहाजमार्फत पनडुब्बीलाई भग्नावशेषको लोकेसनसम्म पुर्‍याइन्छ । 

titanicगत वर्ष टाइटन पनडुब्बीमा यात्रा गर्ने सिबिएस न्युजका संवाददाता डेविज पोगले पनडुब्बीमा सवार मानिस र पानीको सतहमा रहेकाहरूले सामना गर्ने कठिनाइबारे बीबीसीसँग कुराकानी गरेका छन् । 

पानीमुनि यति गहिराइमा न त जिपिएस न रेडियोले काम गर्ने भएकाले यतिबेला पनडुब्बीमा सवार मानिस र बाहिरी संसारबीच सम्पर्क हुन नसक्ने उनले बताए ।

पोगले भने, ‘जब सपोर्ट सिप पनडुब्बीको ठिक माथि हुन्छ तब यसले टेक्स्ट मेसेजमार्फत निर्देशन पठाउँछ र सन्देश प्राप्त गर्छ । तर यी सन्देशको कुनै जवाफ पाइएको छैन ।’

titanic1उनका अनुसार पनडुब्बीमा सवार यात्रीलाई बाहिर बोल्ट लगाएर सिल गरिन्छ । यस्तोमा यदि पनडुब्बी सतहमा आइहाल्यो भने पनि यात्रीसँग बाहिर निस्कने कुनै पनि बाटो हुने छैन । यो पनडुब्बीलाई कम्पनीका कर्मचारीले बाहिर बाट मात्रै खोल्न सक्छन् ।

टाइटानिक आफ्नो समयको सबैभन्दा ठुलो जहाज थियो जुन आफ्नो पहिलो यात्राको क्रममा डुबेको थियो ।

सन् १९१२ मा बेलायतबाट अमेरिका जाँदै गरेको यो जहाज बाटोमा आइसबर्गसँग ठोक्किएको थियो । यस जहाजमा २२०० जना सवार थिए, जसमध्ये लगभग १५०० जनाको मृत्यु भएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप