शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट बहस

बजेट संशोधनको सम्भावना कति ?

शीर्ष नेताबीच ‘अन्डरस्ट्याण्डिङ’ बनिसक्यो : पाण्डे
मङ्गलबार, १२ असार २०८०, २० : ००
मङ्गलबार, १२ असार २०८०

काठमाडौं । संघीय सरकारको बजेटका सम्बन्धमा सत्ता साझेदार दलभित्रै असन्तुष्टि देखिएको छ । सत्तारुढ घटकभित्र पनि नेकपा एकीकृत समाजवादीले बजेटका बारेमा चर्को असन्तुष्टि व्यक्त गर्दै आएको छ । बजेटका सम्बन्धमा सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि देखिएकै समयमा गठबन्धनका शीर्ष नेताहरुबीच भने बजेट पारित गरेर जाने समझदारी भएको छ ।

गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले बजेटको विषयमा एक खालको ‘अन्डरस्ट्याण्डिङ’ बनाएर जाने समझदारी गरेको  प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका गठबन्धनका शीर्ष नेताहरुबीच यस्तो समझदारी भएको ती सचिवालय सदस्यले बताए ।

बजेट संशोधनको अभ्यास नभएकाले कसरी असन्तुष्टिलाई सम्बोधन गरेर जाने भन्नेमा ठोस निर्णय हुन बाँकी रहेको उनको भनाइ छ । अहिले विषयगत मन्त्रालय अन्तर्गत बजेटमाथि छलफल भइरहेको छ, जसमा आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् ।

बजेट पारितको चरणमा पुगेपछि संशोधन गर्ने कि जस्ताको त्यस्तै पारित गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्गो लगाइने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले बताए । ‘गत शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरु बसेर बजेटको असन्तुष्टिका विषयमा छलफल भयो । यो बजेट बनाउने सिस्टम नै फेर्नुपर्छ । कर्मचारी र विचौलिया बजेटमा हाबी भए, यस्तो हुनु हुँदैन भन्नेमा अन्डरस्ट्याण्डिङ भयो । यस्तो खालको सिस्टम फेर्ने भन्ने छ,’ रातोपाटीसँग पाण्डेले भने ।

अब निर्वाचित सांसदहरुको संयोजकत्वमा अरु विज्ञहरुलाई समेत समेटेर उनीहरुको सल्लाह सुझावलाई प्रवेश गराउने ढंगको सिस्टम बनाउनुपर्छ भन्ने मोटामोटी समझदारी भएको पाण्डेले बताए । ‘अहिलेको बजेटका सम्बन्धमा विद्यमान ऐन कानुनहरु के के हुन सक्छन् ? बजेटका संशोधनका सम्भावनाहरु के के हुन सक्छन् ? यी सबै विषयमा छलफल गरेर फेरि एक पटक बस्ने भन्ने छ,’ पाण्डेले भने, ‘बजेटका सम्बन्धमा अर्थमन्त्रीको जिम्मेवारी भएकाले उहाँ सहभागी भई छलफल हुनेछ ।’ बजेट जस्ताको त्यस्तै नभई संशोधन गरेर मात्रै पारित हुने पाण्डेले जिकिर गरे ।

एकीकृत समाजवादीकै पोलिटब्यूरो सदस्य एवम् सांसद मेटमणि चौधरीले बजेट संशोधन गरेर पारित हुने दाबी गरे । बजेट संशोेधनमा विनियोजन गरिएका आयोजनाको अंक तलमाथि मात्रै हुने चौधरीले बताए ।

सत्ता गठबन्धमा सहभागी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बजेट पारित गरेर जानेमा सत्ता साझेदार दलमा समस्या नरहेको बताए । ‘बजेट पारित नहुने भन्ने हुँदैन, पारित हुन्छ । संशोधन गरेर नयाँ परम्परा थालनी गर्ने कि भन्नेमा छलफल भइराखेको छ । अहिलेसम्म टुङ्गो लागेको छैन,’ शर्माले भने, ‘बालुवाटारमा प्रधानमन्त्री सहित शीर्ष नेताहरु बसेर अर्थ मन्त्रीलाई समेत राखेर संशोधन गर्ने भन्ने कुरा औपचारिक होइन । यसरी राजनीतिक दलबाट हुने कुरा होइन । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर जाने विषय हो । त्यो पनि छलफलकै तहमा छ ।’ बजेट संशोधनको परम्परा नभए पनि नयाँ अभ्यासको रुपमा थालनी गर्न सकिने शर्माको भनाइ छ ।

गठबन्धनमै सहभागी जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले बजेट संशोधन गरेरमात्रै पारित हुने बताए । बजेटका विषयमा धेरै प्रश्न उठिसकेकाले सम्बोधन गरेर जानुपर्ने सुमनको भनाइ छ ।

तर, सरकारकी प्रवक्ता रेखा शर्माले बजेटका अधिकांश विषय हेरफेर गरे पनि संशोधन गर्ने अवस्था नआउने बताइन् । तर, बजेटको सवालमा दलहरु एउटा सहमति गरेर जाने समझदारी भएको शर्माले जिकिर गरिन् ।

‘बजेट कर्मकाण्डी र परम्परागत ढङ्गले छलफल हुने अभ्यास छ । अरु विधेयक संशोधनको प्रक्रिया नियमावलीमा लेखिएको छ,’ शर्माले भनिन्, ‘विनियोजन विधेयकमा संशोधनको कुरै लेखिएको छैन । खर्च कटौतीको कुरामात्रै लेखियो । हिजोका अध्यासहरुलाई हेर्दा बजेट संशोधन भएको देखिँदैन ।’

बजेट संशोधन भएमा सरकारलाई नैतिक प्रश्न उठ्ने शर्माको भनाइ छ । बजेट  असार १४/१५ गतेसम्म पास भइसक्ने उनले दाबी गरिन् ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित कानुनले मिलेसम्म बजेटलाई संशोधनसहित पारित गरिने बताए । ‘बजेटको शीर्षकमा छुट्याएको अंक तलमाथि हुन सक्छ । नभए अरु केही हुँदैन । सत्तारुढ गठबन्धनमा आपसी केही असन्तुष्टि वा सबैलाई चित्त बुझ्दो नभए पनि दलहरुको आन्तरिक कुरा भयो । आन्तरिक कारणले सत्तापक्षले पेस गरेको बजेट फेल हुन्छ भन्नु गलत हो । बजेटका आन्तरिक कुराहरु विभिन्न ढङ्गले सम्बोधन हुन्छन्,’ अचार्यले भने, ‘संयुक्त सरकार भएकाले साझा ढङ्गले मिलाइन्छ । बजेट फेल हुने वा बजेटकै कारण अर्को गठबन्धन हुने भन्ने कुरा गलत हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप