सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केरुङ्गा खोलाको सीमाङ्कन सुरु, अवैध संरचना हटाइने

बिहीबार, १४ असार २०८०, १५ : १२
बिहीबार, १४ असार २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाइने बताएकी छन् । केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहीबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिबद्ध रहेको उल्लेख गरेकी हुन् ।

भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाइका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उनको भनाई थियो । सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथमिकता राखेको प्रमुख दाहालले जिकिर गरिन् । व्यक्ति विशेष वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको उनले जानकारी दिइन् ।

सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वाधार निर्माण हुने उनको भनाई छ । करुङ्गा खोलाको सीमाङ्कनको कार्य बिहीबारदेखि सुरु भएको छ । भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट सीमाङ्कनको कार्य सुरु भएको हो । सीमाङ्कन कार्यको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले गरे । अहिले पुङ्गी खोलाको सीमाङ्कनको काम भइरहेको छ । 

केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रक्रिया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए । संरक्षण पश्चात् यसको सौन्दर्यीकरण गर्ने काममा लाग्ने उनको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने इन्जिनियर शिवहरि अधिकारीले जानकारी दिए ।

केरुङ्गा खोलाको सौन्दर्यीकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ । केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यीकरण गर्न रु ३ अर्ब रुपैयाँ बढी लाग्ने छ । यसमा डुङ्गा चलाउन मिल्ने गरी दायाँ बायाँ साइकल ट्रयाक र ठाउँठाउँमा पार्क हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप