शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार मुद्दा

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

१ वर्ष ३ महिना कैद सजाय, दाबी लिइएको घरजग्गा सबै जफत गरिने
शुक्रबार, १५ असार २०८०, २३ : ०२
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला डा. खुसीप्रसाद थारुको इजलासले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै उनलाई कैदसहित जरिवाना भराउने आदेश दिएको हो ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । त्यस्तै, ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ । यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको योगीको भनाई छ । उता शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा रहेका ३ कित्ता घरजग्गा बिगो दाबीसम्म जफत गर्न भनिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमती शर्मिला खड्का, अमिता लामा साेदेम्बाका नाममा लुकाएर राखेको पनि पाइएको थियो । 

अख्तियारका अनुसार तेह्रथुमको जिरीखिम्ती गाविस वडा नं २ घर भई बूढानीलकण्ठ वडा नम्बर ४ बस्ने अमिता लामा सोदेम्बा कृष्णबहादुर लामाकी छोरी तथा दिपक सोदेम्बाकी श्रीमती हुन् । 

खड्काले अवैध रुपमा कमाएको सम्पत्तिमध्ये सात करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ अमिता लामाको नाममा लुकाएर राखेको अख्तियारले फेला पारेको थियो  । अख्तियारका अनुसार लामाका नाममा एनएमवी बैंकमा रहेको खाताबाट खड्काले नै कारोबार गर्ने गरेको खुलेको थियो । 

त्यस्तै खड्काले साविक गैरकानुनी रुपमा कमाएको रकमबाट महांकाल गाविस ४ स्थित १९१ मा सिजी डेभलपर्सका नाममा ३ करोड २५ लाख बराबरको घर खरिद गरेको भेटिएको थियो ।

त्यसैगरी काठमाडौं साबिक विष्णु बूढानिलकण्ठ गाविस ३ मा ६८९, १४८२ र १५२० कित्ता नम्बरको आठ आना जग्गा ४० लाख ११ हजार ८७५ मा खरिद गरेको भेटिएको छ । खड्काले ८४ लाख ४६ हजारमा टक्सन गाडी खरिद गरेको तथा  सिजी डेभलपर्सलाई घर खरिद गर्न ३ करोड ५० लाख भुक्तानी दिएको भेटिएको थियो ।

अख्तियारले गरेको अनुसन्धानमा खड्काले सार्वजनिक सेवा प्रवेश गरे पश्चात् समग्र आयको रुपमा ८ करोड ६४ लाख ६९ हजार ७ सय ७१ रुपैयाँ आर्जन गरेको देखिएको थियो । तर, २०६९ साल चैत २ देखि अनुसन्धान अवधिसम्ममा खड्काको खर्च तथा लगानी भने २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ फेला परेको थियो । यसरी खड्काको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न सकेको थिएन ।

यस्तो छ खड्काको खर्च र लगानी

– पुर्ख्यौली घरबाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको 

– काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद 

– निजले घरजग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ लगानी गरेको

– विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख ४ हजार रुपैयाँ खर्च

– ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९ रुपैयाँ खर्च

– व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार रुपैयाँ दिएको 

– विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख ७५ हजार रुपैयाँ

– छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५ लाख १४ हजार ६९५ रुपैयाँ 

– गाडी खरिदमा रु १ करोड १७ लाख ४२ हजार रुपैयाँ

– एटिएमबाट सुपरमार्केटहरूमा खर्च गरिएको रकम १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ

– विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप