बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु : गगन थापा

शनिबार, १६ असार २०८०, १५ : ०५
शनिबार, १६ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५÷६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन’ थापाले भने, ‘नेपालमा आज कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो ।’  

उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । 

‘कांग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो । आफ्नो बारेमा समिक्षा गर्नु पर्यो । कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नै पर्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ’ महामन्त्री थापाले भने, ‘तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ ।’

विश्वमा अधिकांश देशले डेमोक्रेसी चलाउन आफ्नै खालको पद्धति विकास गरेको समेत उनले बताए । ‘म उमेरको पनि कुरा गर्दिन । कांग्रेसमा हामीभन्दा पनि पाको एक से एक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ । एकपटक प्रधानमन्त्री छोडेपछि ऊ फर्केर प्रधानमन्त्री हुन आउँदैन बेलायतमा’ उनले भने, ‘प्रत्येक देशले यस्तो केही न केही परम्परा बनाएका छन् । पद्धति बनाएका छन् । अनि मात्र डेमोक्रेसी चल्छ । नेपालमा त्यो परम्परा कसले बसाउँछ ?’

महामन्त्री थापाले कांग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्नेमा जोड दिए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप