एमाले र कांग्रेस मिलेर सरकार बनाऊन् : राजेन्द्र लिङ्देन
विराटनगर । कोशी प्रदेश सरकार निर्माणका लागि प्रदेश प्रमुखले दिएको समयसीमा भोलि बेलुका ५ बजेसम्मको समय छ । त्यस अवधिमा प्रदेशका कुनै पनि दलले बहुमत जुटाएर दाबी प्रस्तुत गर्न पाउँछन् । तर, अहिलेसम्म दलहरुको अवस्था हेर्दा तत्काल कसैको पक्षमा स्पष्ट बहुमतको दाबी पुग्ने अवस्था देखिएको छैन ।
सरकार गठनका लागि केन्द्रीय सत्ता गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सहमति गरेको छ । तर, गठबन्धनसँग पनि बहुमत छैन । त्यही कारण गठबन्धनले बहुमत पु¥याउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहमतिमा ल्याउने जिम्मा कांग्रेसले नै पाएको छ । राप्रपाले पनि सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
यो बीचमा लिङ्देनसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटकपटक भेट गरेका छन् । यही विषयमा रातोपाटी सम्वाददाता अर्जुन आचार्यले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ लिङ्देनसँग गरिएको कुराकानीको सम्पादित अंश–
कोशी प्रदेश सरकार निर्माणको विषयमा कांग्रेसले तपाईंको पार्टीसँग के कस्तो प्रस्ताव राख्यो ?
हामीसँग सबै राजनीतिक दलहरूले अनौपचारिक र औपचारिक रूपले कुराकानी गरिराख्नु भएको छ । धेरैजसो अनौपचारिक छलफल नै भएका छन् । औपचारिक भनेपछि अरूले पनि थाहा पाउने गरी भन्ने हो । कुनै पनि कुराले अहिलेसम्म ठोस आकार लिएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाओस् भन्ने चाहना राखेको छ ।
कांग्रेस–एमाले मिल्न सकेनन् भने अर्को विकल्प हुन्छ कि हुँदैन ? त्यसमा तपाईंहरु सहभागी बन्ने कि नबन्ने ?
कांग्रेस–एमालेले सरकार बनाएन वा बनाउन सक्ने स्थिति रहेन । उनीहरू मिलेनन् भने त्यस्तो अवस्थामा हामी अन्तिम चरणमा सरसल्लाह र छलफल गरेर धारणा बनाउँछौँ । बनाउनै पर्छ । हामी कसैसँग मिलिएन भने मध्यावधिमा जाने वा कसैलाई समर्थन गरेर बाहिर बस्ने अथवा कुनै ठोस उद्देश्यका लागि रणनीतिक रूपमा सरकारको उपयोग गर्ने भन्ने विषयमा छलफल गर्ने चरणमा हामी अहिले आइपुगेका छैनौँ । किनभने सरकार निर्माणका विभिन्न चरण प्रारम्भ भएको छ । त्यसमा भर्खरै दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकारको दाबी गर्ने चरण चलिरहेको छ । अरू बाँकी चरण छन् । अन्तिमसम्म हेरौँ न ।
भनेपछि संविधानको धारा १६८ को उपधारा (३) मा जाऔँ भन्ने तपाईंहरुको मान्यता हो ?
मिल्न सकेन भने त्यो त हुन्छ नै, होइन र ? त्यो स्वतः आउने हो । त्यसकारण अप्सनहरू धेरै बाँकी छ । त्योभन्दा अगाडि सत्ताका लागि राप्रपाले धेरै हतार गर्नुहुँदैन भन्ने हो ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र तपाईंको व्यक्तिगत सम्बन्ध राम्रो रहेको तर कांग्रेस दलका नेता उद्धव थापासँग राम्रो सम्बन्ध नरहेको कारण अहिले राप्रपाले कांग्रेसलाई समर्थन गर्न नसकेको भन्ने पनि बजार हल्ला भइरहेको छ । यसमा कति सत्यता छ ?
त्यस्तो होइन । ती हावादारी कुरा हुन् । व्यक्तिगत सम्बन्धहरू सबैसँग राम्रो हुन्छ । उद्धवजीसँग पनि मेरो यो बीचमा तीन चार पटक भेट भइसकेको छ । यस प्रकारको गलत अनुमानमा कुनै सत्यता छैन । अहिले इन्द्र आङ्बोभन्दा उद्धव थापासँगै मेरो अलिक बढी छलफल भइरहेको छ । व्यक्तिगत हिसाबले कोहीसँग बढी नजिक वा टाढा भइयो होला, भइन्छ । तर, यसले यहाँ कुनै प्रभाव राख्दैन । मूल रूपमा राप्रपाले अहिलेको केन्द्रीय गठबन्धनको विपक्षमा आफूलाई राखेको अवस्था छ । यो केन्द्रीय गठबन्धन अन्तर्गतको प्रदेश गठबन्धनलाई सहयोग गर्नु अगाडि किन गर्ने भन्ने कुरा त टुङ्गो लाग्नुप¥यो नि !
जब हामी गठबन्धनलाई सहयोग गर्ने भन्ने निष्कर्षमा पुग्छौँ भने त्यसभन्दा अगाडि त्यहाँ पुग्नुपर्ने कारण सार्वजनिक रूपले भन्नुपर्ला । सहमतिका मोडलहरू बन्लान् । व्यक्ति त हाम्रो च्वाइसको कुरा हुँदैन नि ।
कोशी प्रदेश सरकार गठनको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तपाईंको भेटघाट भएको थियो, के कुराकानी भयो ?
उहाँसँग संक्षिप्त कुराकानी भएको हो । उहाँले मिलेर जाऔँ भन्ने प्रस्ताव राख्नु भयो । हामीलाई मिलेर जानका लागि कुनै असुविधा छैन । कसरी मिल्ने भन्ने विषयमा व्यापक छलफल गर्नुपर्छ । मोडलहरूमा छलफल गरौँ । तपाईंहरुको प्रस्ताव के हो, कसरी मिल्न सकिन्छ भन्ने कुरा मैले राखेको छु ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि त्यस किसिमको छलफल भएको छ ?
तत्काल त भएको छैन । केही दिन अगाडि उहाँसँग पनि छलफल भएको हो । उहाँसँग पनि कांग्रेस सभापतिसँग भएकै कुरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण