बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा मल अभाव छैन : कृषि सामग्री कम्पनी

शुक्रबार, २२ असार २०८०, १४ : २२
शुक्रबार, २२ असार २०८०

रौतहट । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो ।  लिमिटेडले  अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ । लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै आएको छ ।

प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ ।  सोहि पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धाण गर्ने जनाइएको छ । जिल्लाका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ  । 

स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल नपाएको विन्दवासिनी कृषि सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले बताए । उनका अनुसार चन्द्रपुर वडा नम्बर पाँचका लागि तीन हजार युरिया र डिएपी माग गरिएको हो । लिमिटेडबाट भने चार सय पाँच बोरा युरिया र दुई सय ५० बोरा डिएपी पाएको उनको भनाइ छ । डिलरले माग गरेअनुसारको रासयानिक मल पाउन नसकेको उनको गुनासो छ । 

लिमिटेडको चन्द्रनिगाहपुरमा एक सय ७४ डिलर छन् । एक सय ५० भन्दा बढीले रासायनिक मल लगिसकेको लिमिटेडका निमित्त  प्रमुख गोपालप्रसाद घिमिरेले बताए । हालसम्म ७.१ सय मेट्रिकटन युरिया र ४८.९ सय मेट्रिकटन डिएपी मल बिक्री गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार यहाँ एक सय २० दशमलव सात सय ५० मेट्रिकटन युरिया र छ सय ६ दशमलव पाँच डिएपी र ४२ मेट्रिकटन कृषि चुन मौज्दात रहेको छ । कृषि सामग्रीको खरिद मूल्य प्रतिबोरा युरिया मलको आठ सय पाँच र डिएपीको दुई हजार दुई सय ५५ रुपैयाँ छ भने स्थानीय तहअनुसार बिक्री मूल्य निर्धारण हुने निमित्त कार्यालय प्रमुख घिमिरले जानकारी दिए ।

जिल्लामा ५३ हजार पाँच सय ४६ दशमलव ३८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । रासायनिक मल वितरण निर्देशिका अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहने गर्छ । सो समितिमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहन्छन् । सो समितिले बिक्री मूल्य निर्धाण, डिलर सिफारिस, बाँडफाँट गर्ने, सुपरीवेक्षण र निरीक्षण र कारबाही गरी खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप