सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सोचे जस्तो हुन्न जीवन...

आइतबार, २४ असार २०८०, १२ : १८
आइतबार, २४ असार २०८०

‘सोचे जस्तो हुन्न जीवन...’ बोलको गीत सुन्दै गुनगुनाउँदै हामी आएका हौँ । यो गीत बालुवाटार (ललिता निवास) प्रकरणका विवादित पात्र पूर्वसचिव दिनेश अधिकारीले रचना गरेका हुन् । गीतले जस्तो बोलेको छ, अहिले उनको जीवन उतैतिर लहसिएको छ । नेपाल प्रहरीको खातामा अहिले उनी ललिता प्रकरणका फरार अभियुक्त हुन् । 
नेपाली सङ्गीत क्षेत्रका ‘मेलोडी किङ’ नातिकाजीले यो गीतमा जीवन्त सङ्गीत भरे । गायिका तारादेवीले गीतलाई गहिराइमा गएर कोकिल कण्ठले गायकी निभाइन् । गीतलाई सङ्गीतकार र गायिकाले न्याय दिएका छन् । अर्थात् सङ्गीत र गायकीले यो गीतलाई जुरुक्कै बोकेको छ ।

तर यो गीत जीवनलाई नै पलायन गर्ने सरगम शास्त्रमा आधारित छ । रूढिवादी र भाग्यवादमा चुर्लुम्म डुबेको यो रचना हो । गीतले श्रोतालाई कुनै किसिमको सम्मानका साथ बाँच्ने जिजीविषा देखाउँदैन । मानिसको भविष्य निर्माणमा ऊर्जा दिने त कुरै भएन । जीवनको मार्गलाई नै बिटुल्याउँछ । निराशा र कुण्ठाले भरिएको यो गीत कल्पनाशीलताको भष्मे हो । बुर्जुवाहरूले यस्तै विषयुक्त साहित्य उपभोग गर्न बाध्य बनाउँछन् । हामी त्यसैको दुव्र्यसनमा फस्न अभिषप्त छौँ । सङ्गीत र गायकीको बेजोड ‘प्याकेजि‌ङ’ मा हामी अल्मलिन्छौँ । यतिखेर नातिकाजी र तारादेवी नै भएको भए पनि यी अधिकारीको कारनामा देखेर धिक्कार्ने थिए । कम से कम सङ्गीत र गायकीमा यी दुई पात्र त इमानदार थिए । यी राष्ट्र सेवक भनाउँदाले त दुई स्रष्टाको नाकैमा फोहोर दलिदिए । अधिकारीको बाँकी जीवन त सुखमय नहुने नै भयो । जोरीपारीले अब होलोहोचो अवश्य गर्ने छन् । अधिकारीको गीतको यो मुखडा जस्तै :

सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन... ।

यो सम्झने मन छ :

‘यो सम्झने मन छ, म विर्सुं कसोरी...’ बोलको गीत पनि अधिकारीले लेखेका हुन् । स्वर सम्राट् नारायण गोपालको सङ्गीत/गायनमा परेकाले हुन सक्छ यो गीतको ख्याति विरालाकोटीको छ । जसलाई गीत सङ्गीतका पारखीहरूले कालजयी गीत भन्ने गर्छन् । गीतको मुखडाले नै आकर्षित गर्छ र अन्तिम अन्तरामा पुग्दा लट्ठै बनाउँछ । प्रेम, पिरतीमा धोका खाएकाहरूका लागि त मन बुझाउन यो गीत प्राणवायु नै हो ।

स्वैर कल्पनाका आधारमा रचित यो गीतका गेडा नकेलाउने हो मन मन्त्रमुग्ध बनाउँछ । तर हामी सङ्गीत र गायकीको आधारमा गीतको मूल्याङ्कन गर्न बानी परेका छौँ । जसरी तसरी हवाइ कल्पनामा उनिएका गीतको पहिलो अन्तराले यसरी कैरन गर्छ :

यो सम्झने मन छ, म विर्सुं कसोरी
तिमी नै भनिदेऊ ए... जाने निठुरी... ।

आकाश पातालको भुलभुलैया देखाएर आफूतिर आकर्षित गर्ने यो लहरे गीतको अन्तिम अन्तराले कहन्छ :

न सक्छु म आकाश चिथोरेर फोर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न... ।

बोल बोल पाखाहरू :

‘बोल बोल पाखाहरू’ बोलको यो गीत प्रकाश गुरुङले सङ्गीत भरेको अधिकारीको अर्को गीत हो । सङ्गीतका सबै अवयवहरू प्रयोग गरेर तयार गरिएको यो गीत त्यत्तिकै बेजोड छ । गुरुङले सम्भवतः आफ्नै छोरी सुकमितलाई गवाउन यो गीतमा मेहनत गरेको हुनसक्छ । सुकमितको आधुनिक स्वरमा च्याट्टै समाहित गीतको मुखडा, अन्तरा र गेडा चौपट्टै खिपिएका छन् ।

तर गीतका पहिलो अन्तराका शब्द वाक्यले निरुद्देश्य हावामा कावा खाएका छन् । के सन्देश दिन खोजेको हो, भाषाशास्त्री, व्याकरणशास्त्रीलाई पनि हम्मे पर्दो हो । सर्वसाधारणलाई त गीतले हैन, सङ्गीत र गायकीले गुरुत्वाकर्षण गरेको हो । अन्यथा कसरी बुझ्नु यो गीत :

बोल–बोल पाखाहरू
हिउँ फुल्ने पाखाहरू
किन होला हिजो आज
बाटो छेक्छन् आँखाहरू ।

यो गीतको अन्तरामा गएर निफन्ने, केलाउने हो भने त विरक्त नै लाग्छ । गीत यसरी बतासिएको छ :

बतासमा उडी जान पाए पनि हुन्थ्यो,
बादलुको घुम्टोभित्र लुक्न पाए पनि हुन्थ्यो ।

जिन्दगी यो यस्तै छ :

जीवन/जिन्दगीका बारेमा धेरैले लेखेका छन् । हरिभक्त कटवालले ‘यो जिन्दगी खै के जिन्दगी’ बोलको कविता लेखे । जस्तो लेखे जीवनका कविता त्यसरी नै इहलिला समाप्त गरे । केही समय अगाडि भूमि सुधार मन्त्रालयको सचिव भएका अधिकारीले पनि झन्डै कटवालकै पद चिह्नरूपी ‘जिन्दगी यो यस्तै छ’ बोलको गीत कथेका रहेछन् । पूरै निराशावादी गीत लेखेर उनले श्रोता पङ्क्तिलाई घोर अन्याय गरेका छन् । अरूलाई जिन्दगी नै ‘हैट’ बनाउने सन्देश दिँदा रहेछन् । आफू भने नेपाल  सरकारको उपल्लो कुर्सीमा बसेर ऐश्वर्य थुपार्ने यिनको ढोँगी बेहोरा रहेछ । कम से कम हरिभक्तले त्यसो त गरेनन् । आफ्नो कविता आफैँमा मात्र लागु गरे । स्वरूप राज आचार्यले जिन्दगीलाई थुक्क भन्ने यस्तो गीत किन गाए होलान् ? यो गीतको मुखडा नै बाङ्गिएको छ, अन्तरा र गेडा त सुनी नसक्नु, बुझी नसक्नु छ ।

जिन्दगी यस्तै छ..
किस्ताबन्दीमा साहुको ऋण तिरे जस्तै छ
। 

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप