मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

साउने सोमबार : पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरू)

सोमबार, ०१ साउन २०८०, १० : १७
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । आज साउनको पहिलो सोमबार । देवाधिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् । 

आज साउन महिनाको पहिलो सोमबार भए पनि चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत गत असार २५ देखि नै सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । 

धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो लागेको छ । 

विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने गरेका छन् । साउनको पनि सोमबार विशेष मानिन्छ ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिव पुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । 

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लागेको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

saune sombar (1)saune sombar (2)saune sombar (3)saune sombar (4)saune sombar (6)saune sombar (7)saune sombar (8)saune sombar (9)saune sombar (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप