सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मिसन-२०८४

राजनीतिक दलमा प्रतिस्पर्धा : सदस्य सङ्ख्या बढाउने ‘होडबाजी’

शुक्रबार, ०५ साउन २०८०, १६ : ३५
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । स्थानीय, प्रदेश र सङ्घ तीनै तहको निर्वाचन सम्पन्न भएको एक वर्ष नबित्दै प्राय सबैजसो राजनीतिक पार्टीहरू ‘मिसन–२०८४’ लक्षित गतिविधिमा केन्द्रित भएका छन् ।

४ मङ्सिर २०७९ मा भएको निर्वाचनमा पुराना र स्थापित भनिएका पार्टीहरूलाई नयाँ र भर्खर गठन भएका दलहरूले कडा चुनौती दिएपछि सबैजसो पार्टीहरूको ध्यान २०८४ सालतर्फ सोझिएको हो । उनीहरुले चार वर्षपछि हुने निर्वाचनलाई मध्यनजर गर्दै पार्टी सुदृढीकरणका नाममा धमाधम आफ्ना योजना र कार्यक्रम सार्वजनिक गरिरहेका छन् । कतिपय पार्टीहरूले उक्त योजनाअनुसार एक चरणका कार्यक्रम नै सम्पन्न गरिसकेका छन् ।  

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपादेखि जनमत र लोसपासम्म मिसन २०८४ को प्रतिस्पर्धा र होडबाजीमा जुटेका देखिन्छन् । त्यसका लागि पार्टी कमिटी गठन, विस्तार देखि पार्टी सदस्य बढाउने अभियान नै चलाएका दलहरूले ‘सङ्गठन सुदृढीकरण’ को नाम दिएका छन् ।

चुनावका बेला महँगी, भ्रष्टाचार, सुशासनका गुलिया आश्वासन बाँड्ने राजनीतिक पार्टीहरू चुनावपछि आफूले बोलेका र बाँडेका आश्वासन पुरा भए-भएनन् ? भन्ने कुरालाई चटक्कै बिर्सेर ‘चुनावदेखि चुनावसम्म’ मात्रको योजना र कार्यक्रममा केन्द्रित भएका देखिन्छन् । आफू सरकारमा भए सबै ठिक देख्ने र आफू सरकार बाहिर भए सबै भद्रगोल र भताभुङ्ग देख्ने राजनीतिक दलहरूले निर्वाचनको नतिजालाई स्विकारेर सोही अनुसार आआफ्नो भूमिका निर्वाह गर्नबाट चुकिरहेका छन् ।

सामान्यतया संसदीय अभ्यासमा बहुमतप्राप्त दलले सरकार सञ्चालन गर्ने र अल्पमतले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने भए पनि पछिल्लो समय नेपालका राजनीतिक दलहरू त्यसको ठिक विपरीत यात्रामा यात्रारत देखिन्छन् । गएको निर्वाचनमा कसैको बहुमत नआएको बहानामा कतिपय दलहरू जस्तासुकै गठबन्धन बनाएर भए पनि सरकारमा पुग्ने र टिकिरहने  इच्छा र आकांक्षा प्रकट गरिरहेका छन् भने कतिपय आगामी ०८४ को चुनावलाई टार्गेट बनाउन अहिलेबाटै सम्पूर्ण शक्ति खर्चिन थालेका छन् । 

दलहरूको यो क्रियाकलापले जनताको मन जित्ने भन्दा पनि मत बटुल्नेबाहेक अर्को कुनै उद्देश्य नभएको टिप्पणी हुन थालेको छ । जनताको पार्टी बनाउन नेपाली कांग्रेसले आफ्नो सङ्गठन व्यवस्थित बनाउनुका साथै पार्टी सदस्यता अद्यावधिक गरिरहेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माको भनाइ छ ।

‘हाम्रो पार्टीका क्रियाशील सदस्य अहिले ८ लाख ६० हजार भन्दा बढी छन् । अहिले पार्टीले क्रियाशील सदस्यता अद्यावधिक गर्दैछ’ विश्वकर्माले भने, ‘यो सबै पुरा गरेपछि सदस्यता प्राप्त गर्ने प्रक्रिया र वितरण गर्ने प्रणाली सहज बनाउँछौ ।’ पार्टी सदस्यता अद्यावधिक गरेपछि क्रियाशील सदस्यता सङ्ख्या वृद्धि हुने अपेक्षा लिएको विश्वकर्माको भनाइ छ । जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको प्रतिवेदनमा आगामी वर्ष ५ देखि ७ लाख सदस्य थप्ने प्रस्ताव गरेका छन् । सो प्रस्ताव अनुसार कांग्रेस अघि बढे उसले आफ्ना क्रियाशील सदस्य मात्रै १४ पुग्ने विश्वास लिएको छ ।

दोस्रो ठुलो दल नेकपा एमालेले हाल आफ्ना पार्टी सदस्य ८ लाख रहेको दाबी गरेको छ । गत निर्वाचन लगत्तै दुई महिने अभियान चलाएको नेकपा एमालेले पुन असारबाट एक बर्से अभियान सुरु गरिसकेको छ । त्यसका लागि नेकपा एमाले पार्टी सदस्यता वितरणदेखि नवीकरण गरिरहेको कछ । पार्टीका पुराना सदस्यलाई पार्टीमै टिकाउने र नयाँ सदस्य थप्दै जाने योजना बनाएको एमालेले आगामी निर्वाचनमा एक्लै ५१ प्रतिशत चुनाव जित्ने महत्त्वाकाङ्क्षी योजनामा होमिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार मसान्तसम्म ६० प्रतिशत पार्टी सदस्यता नवीकरण भएकाले सबै नवीकरण भएपछि एमालेको अद्यावधिक सदस्य सङ्ख्या भन्न सकिने बताए । उनले पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन हेरफेर गरेर टोल, वडा, पालिका, जिल्ला, प्रदेशसम्म सङ्गठन विस्तारको काम भइरहेको र त्यसका लागि नेताहरू कार्यक्षेत्रमा पुगिसेकेको बताए ।

‘एमाले महाधिवेशन ५/५ वर्षमा हुन्छ, दशौ महाधिवेशनको फोरमबाटै हामीले ११ औँ महाधिवेशनसम्म पुग्दा १० लाख पार्टी सदस्य बनाउने निर्णय गरेका हौ, त्यसअनुसार हाम्रो पार्टीपंक्ति परिचालन भैसकेको छ’, प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।

गत निर्वाचनमा तेस्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्र पनि पार्टी सङ्गठनलाई व्यवस्थित बनाउन लागिपरेको छ । त्यसका लागि यही महिनामा बस्ने केन्द्रीय समिति बैठकमा विस्तृत छलफलसहित योजना बनाएर सङ्गठन मजबुत बनाउने माओवादी तयारी छ ।

साउन १७ बाट सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टी एकता, समाजवादी ध्रुवीकरण र पार्टी सदस्यताका विषयमा छलफल गर्ने माओवादी पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायको भनाइ छ । प्रदेश र जिल्लाले सदस्यता नवीकरण र नयाँ सदस्यता थप्ने काम गरिरहेको उपाध्यायले बताए ।

यी ठुला तीन दल मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत लगायतका राजनीतिक पार्टीहरू पनि व्यवस्थित र सङ्गठन विस्तारको होडबाजीमै छन् ।

विश्लेषक भन्छन्–वर्चस्वको होडबाजी राम्रो होइन

त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका प्रमुख प्रा.डा.रामचन्द्र तिवारी दलहरूले पार्टी सदस्य अपडेट गर्ने र थप्ने उनीहरूको नियमित प्रक्रियालाई अन्यथा लिन नमिल्ने भए पनि चुनाव भएको एक वर्षमै अर्को चुनावलाई ‘टार्गेट’ गर्नु ठिक नहुने बताउँछन् ।

‘पार्टीहरूले आफ्ना पार्टी सदस्यता अपडेट गर्नु नियमित प्रक्रिया नै हो । तर जसरी हुन्छ आफ्नो वर्चस्व कायम गर्नुपर्छ भन्नेमा केन्द्रित भएको देखिन्छ,’ तिवारीले भने, ‘पार्टीमा सदस्य धेरै भए चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञान जो छ, त्यो राम्रो होइन ।’

पार्टीको नीति, योजना र कार्यक्रमले भोट बढ्ने भन्दै उनले पार्टी सदस्य सङ्ख्या मात्रै सवै कुरा नभएको बताए । ‘पार्टी सदस्यको आधारमा मत आउने भए गत वर्षको चुनावमा पुरानै दलले बहुमत ल्याउने थिए । पार्टी सदस्य बढी भए चुनाव जितिन्छ भन्ने मनोविज्ञानले काम गरेको भए गत वर्षको चुनावमा दलहरूको पोजिसन यही नरहन सक्थ्यो’ तिवारीले रातोपाटीसँग भने, ‘अहिले नयाँ पार्टीहरू जर्बजस्त आइराखेका छन् । त्यस हिसावले पुराना पार्टीहरू अझै पुरानै तरिकाले गए आगामी निर्वाचनमा उनीहरुलाई अस्तित्व जोगाउनै मुस्किल हुने देखिन्छ ।’

सदस्य बढाउन खोजेका छौँ : मीन विश्वकर्मा, नेता नेपाली कांग्रेस

हाम्रो पार्टीमा अहिले क्रियाशील सदस्य ८ लाख ६०  भन्दा बढी छन् । साधारण सदस्य त्यो भन्दा बढी छन् । अहिले हामी क्रियाशील सदस्यता अद्यावधिक गर्दैछौ । यो सबै पुरा गरेपछि सदस्यता प्राप्त गर्ने प्रक्रिया र वितरण गर्ने प्रणाली सहज बनाउँदै सदस्य बढाउने  हाम्रो लक्ष्य छ ।

अहिले हामीले सदस्यता नवीकरण सुरु गरी सकेका छैनौँ । यसअघि महाधिवेशन सकिएको एक वर्षभित्रै पार्टीका क्रियाशील सदस्य व्यवस्थित गरिसक्नु पर्ने भनिएको थियो । अब मिति तोकेर होइन कि सधैँ गर्न मिल्ने व्यवस्था गरेका छौँ । यसो गर्दा विगतमा धेरै निस्क्रियहरुले पनि नवीकरण गर्न पाउँछन् । यो पटक पार्टीका क्रियाशील सदस्यता सङ्ख्या बढ्छ र सक्रियता पनि बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।

१० लाख पुर्‍याउँछौ : राजेन्द्र गौतम, प्रचार विभाग प्रमुख नेकपा एमाले 

एमाले महाधिवेशन ५÷५ वर्षमा हुन्छ । २०७९ मा भएको दसौँ महाधिवेशनकै फोरमबाटै हामीले ११ औँ महाधिवेशनमा पुग्दा १० लाख पार्टीका सङ्गठित सदस्य बनाउने निर्णीत कुरा हो ।  गत चुनावमा पार्टी सदस्यको मात्रै सङ्ख्या बढाएर वा विशाल देखाएर मात्रै पार्टी सङ्गठन राम्रो हुन्छ भन्ने मान्यता खण्डित भयो । त्यसैले हामी पार्टी सदस्यताको गुणस्तरीयता ध्यान दिन्छौ । पार्टी सदस्यता ठेकेदारले नभई व्यक्ति आफैले नवीकरण गर्ने भन्ने निर्णय नै गरेका छौ ।

यही क्रमअन्तर्गत अहिले हामी सदस्यता अभिलेखीकरणको प्रक्रियामा छौँ । साउन १५ गतेसम्म पार्टी सदस्यता अभिलेखीकरण सक्छौ ।  सदस्यता शुद्धीकरणसँगै विचार र गुणस्तरीयतासहितको पार्टी सदस्य बनाउने अभियान हाम्रो हो । दसौँ अधिवेशनबाट ११ औँ अधिवेशनमा पुग्दा १० लाख सङ्गठित सदस्य बनाउने त्यसैबेला गरेको घोषणा अनुसार अभियान जारी छ । यो बिचमा पार्टी सदस्यता नवीकरण गर्ने र कमिटीलाई अपडेट गर्न लागेका छौँ ।

सदस्यता बढाउने तयारी छ :  सन्तोष परियार, प्रमुख सचेतक रास्वपा

पार्टी सदस्यता यताउति पु¥याउने भन्ने छैन । पार्टी सदस्यता बढाउने तयारी भने छ । पछिल्लो समय पार्टी सदस्यता लिने बढेका छन् ।

हामी अहिले प्रदेश, जिल्ला र पालिका तहको सङ्गठन निर्माणमा केन्द्रित छौँ । ती सबै निकायमा सङ्गठन निर्माण र प्रशिक्षण पनि चलाइरहेका छौ । लुम्बिनी प्रदेशको प्रशिक्षण सकिएको छ भने कोशी र गण्डकी प्रदेशको प्रशिक्षण हुँदै छ । पार्टीको विचारलाई तलसम्म लैजाने र सङ्गठनलाई बढाउने हाम्रो प्रयास छ । एउटा दल भइसकेपछि अव हुने ०८४ सालको चुनावलाई लक्ष्य बनाउनु हाम्रा लागि अनिवार्य नै छ ।

सदस्यता नवीकरण जारी छ  : डोरप्रसाद उपाध्याय, नेता नेकपा माओवादी केन्द्र

 

हामीले पार्टी सदस्य नवीकरणको प्रक्रिया सुरु गरेका छौ । हरेक प्रदेश र जिल्लाले पार्टी सदस्यता नवीकरणको काम जारी राखेका छन् । पुराना सदस्यको नवीकरण हुँदै छ । त्यसपछि नयाँ  सदस्यता दिने प्रक्रिया पनि सुरु हुनेछ । पार्टीका सक्रिय सदस्यलाई नवीकरण गर्ने र निष्क्रियलाई  हटाउने तयारी छ । सबै तथ्याङ्क आएपछि यकिन तथ्याङ्क भन्न सकिने छ । माओवादीमा हाल ८ लाख पार्टी सदस्य रहेका छन् ।

२ लाख पार्टी सदस्य थप्छौ : मोहन श्रेष्ठ, प्रवक्ता राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वर्षभित्र २ लाख पार्टी सदस्यता थप्ने तयारी   छ । गत असार २८ गते नवीन राप्रपाको रूपमा स्थापित गर्न २१ बुँदे कार्य योजना सार्वजनिक गरिसकेका छौ ।

अनलाइनबाट पार्टी सदस्यता, पार्टीमा युवा जिम्मेवारीदेखि प्राइमरी इलेक्सनबाट उम्मेदवार चयनसम्म कार्य योजना बनेका छन् । राप्रपा बुढाहरूको पार्टी होइन युवाहरूको पार्टी हो भन्ने सन्देश दिन छोराछोरी पुस्तालाई तयार गर्ने योजना छ । उमेरले ४० वर्ष पुगेकालाई नेतृत्वमा ल्याउने योजना बनाएको छ । त्यसका लागि केन्द्रीय नेताहरूलाई प्रदेश,जिल्ला र स्थानीय तहमा जिम्मेवारी दिएर खटाइसकिएको छ । सङ्गठन विस्तारमा खटाइएका नेताको जिम्मेवारी वडा तहसम्म पुगेर राजसंस्था, हिन्दूराष्ट्र र संघीयतासँग सम्बन्धित पार्टीको अवधारणालाई जनतासमक्ष पु¥याउने, भ्रष्टाचारविरुद्धका एजेन्डा लैजान निर्देशन छ ।

पार्टी सदस्य सङ्ख्या  बढाउँछौँ : प्रदीप यादव, नेता जसपा 

जसपाले भर्खर विधान अधिवेशन सम्पन्न गरेको छ । अबको ६ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने तयारी गर्दै छ । केन्द्रीय महाधिवेशनको तयारी गर्दै गर्दा सङ्गठनको सुदृढीकरण गर्ने कुरा स्वतः आउँछ । त्यसभित्र सदस्यता वितरणदेखि नवीकरणसम्मका काम हुन्छन् । त्यसबाहेक पार्टी सङ्गठन संरचनाको विकास र विस्तारको काम पनि अनिवार्य हुन्छन् । त्यस क्रममा तलदेखि माथिसम्म निर्वाचन हुने, पार्टी कमिटीहरूको नेतृत्व चयन गर्ने कामहरू हुन्छन् । त्यसैले केन्द्रीय महाधिवेशनको तयारी सँगसँगै हामी मिसन २०८४,आगामी निर्वाचन, चुनाव जे भने पनि त्यसको समेत तयारीमा छौ । हाम्रा पार्टी सदस्य अहिले यति नै छन् भन्ने तथ्याङ्क मसँग छैन तर अहिलेको भन्दा पार्टी सदस्य सङ्ख्या हामी आगामी दिनमा बढाउँछौँ । साथै केन्द्रीय महाधिवेशनपछि आगामी निर्वाचन केन्द्रित कार्यक्रम र योजना बनाउँछौ ।

पार्टी सदस्यबारे निर्णय गर्छौ : अब्दुल खान, नेता जनमत पार्टी

पार्टी सदस्यता यति नै पु¥याउनुपर्छ भन्ने लक्ष्य निर्धारण भैसकेको छैन । अहिले बैठकहरू चलिरहेका छन् । चाँडै केन्द्रीय समितिको बैठक बस्छ । त्यो बैठकले पार्टी सदस्यताका बारेमा निर्णय गर्छ । अहिले हाम्रो पार्टीमा पार्टी सदस्यको अद्यावधिक गर्ने काम भइरहेको छ, त्यो सकिएपछि यकिन तथ्याङ्क आउँछ ।

तथ्याङ्क केलाउँदै छौँ : केशव झा नेता लोसपा

यसअघि ५ लाख भन्दा पार्टी पार्टी सदस्य थिए । अब त्यो भन्दा बढी बनाउने लक्ष्य हाम्रो छ । पार्टी सक्रिय सदस्यको डाटा अपडेट भइसकेको छैन । पुराना सदस्य (जसपा) बाट लोसपामा आएर नयाँ सदस्यता लिने क्रम बढिरहेको छ । अबको २÷३ महिनापछि यकिन तथ्याङ्क आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप