शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नीतिकथा : बाँदर र गोहीको दोस्ती

आइतबार, ०७ साउन २०८०, ११ : ३४
आइतबार, ०७ साउन २०८०

धेरै पहिलेको कुरा हो । एउटा गाउँ नजिक ठूलो तलाउ थियो, जसको किनारमा रहेको जामुनको रुखमा एउटा बाँदर बस्ने गर्थ्यो । रुखसित उसको यति बढी लगाव थियो कि हमेसा छाड्दैनथ्यो । यत्तिकैमा एक दिन कतैबाट एउटा गोही आइपुग्यो । गोहीलाई देख्ने बित्तिकै बाँदरले केही फल खसाइदियो । गोही भोको थियो । निकै मीठो मानेर खायो । यस अघि उसले कहिल्यै यस्तो फल खाएको थिएन । त्यसैले खुसी हुँदै भन्यो–

‘धन्यवाद मित्र । मीठो फल खान दिएकोमा ।’

गोहीको कुरा सुनेर बाँदरले अतिथि धर्म निर्वाह गर्दै भन्यो–

‘मित्र भनेका छौ भने धन्यवादको के कुरा भयो र । आउँदै गर्‍यौ भने सधैँ खान पाउने छौ ।’

त्यस दिनदेखि गोही नियमित आउन थाल्यो । बिस्तारै उनीहरूबिच गहिरो दोस्ती बन्यो । 

समय बित्दै गयो । एक दिन गोहीले परिवारबारे सोधेकाले बाँदरले भन्यो–

‘एक्लै छु मित्र ! तिमीलाई भेटेर खुसी लागेको छ । लाग्छ भगवान्ले नै साथीको रूपमा तिमीलाई पठाइदिएका हुन् ।’

गोहीले पनि आत्मीयता देखाउँदै भन्यो–

‘यो त मेरो पनि सौभाग्यको कुरा हो ।’

त्यसपछि बाँदरले खुसी हुँदै सोध्यो–

‘मेरो बारेमा त सोध्यौ । तिम्रो के छ नि मित्र ! परिवार पनि छन् कि एक्लै ?’

प्रतिउत्तरमा गोहीले भन्यो–

‘एक्लो छैन मित्र ! साथमा श्रीमती छिन् ।’

गोहीको कुरा सुनेर बाँदरले भन्यो–

‘ओ हो मित्र ! पहिले नै किन नभनेको ? भरे जाँदा मेरो तर्फबाट भाउजूलाई केही कोसेली लगिदिनु है ।’

यति भनेर उसले केही फल पठाइदियो । गोहीले खुसी हुँदै फल लिएर गयो । कोसेली वापत्को मीठो फल खान पाएपछि गोहिनी सोच्न लागि–  

‘यति मीठो फल खाने जनावरको मुटु कति मीठो होला ।’ 

श्रीमतीलाई सोच मग्न देखेर गोहीले भन्यो–

‘के भो प्रिये ! फल मीठो लागेन ?’

गोहिनीले अनकनाउँदै भनी–

‘फल नमीठो भएर होइन प्रिय ! यति मीठो फल खाने जनावरको मुटु झन कति मीठो होला भन्ने लागेर सोचेकी हुँ ।’

उसको कुरा सुनेर गोहीले रिसाउँदै भन्यो–

‘धत् ! लाटी ! के कुरा गरेकी त्यस्तो ? ऊ त मेरो घनिष्ठ मित्र हो । आइन्दा कहिल्यै यस्तो कुरा नगर्नु ।’

गोहिनीले तत्कालै प्रतिवाद त गरिन तर त्यस दिनदेखि झोक्राएर बस्न थाली । उसको अवस्था देखेर केही दिनपछि गोहीले सोध्यो–

‘के भयो प्रिये ! निकै दिनदेखि झोक्राएकी देख्छु । सञ्चो छैन कि कसो ?’

मौकाको फाइदा उठाउँदै गोहिनीले भनी–

‘हो प्रिय ! केही दिनदेखि सञ्चो छैन ।’

‘सञ्चो छैन ?’

‘हो सञ्चो छैन ।’

‘अस्ति नै किन नभनेको त ? हिँड जाउँ वैद्यलाई भेटौँ ।’

‘वैद्यको काम छैन ।’

‘काम छैन ?’

‘हो, काम छैन ।’

‘के भनेकी त्यस्तो ?’

‘बेथा नै त्यस्तै छ ।’

‘त्यसलाई ठीक पार्न के गर्नुपर्छ त ?’

‘तिम्रो साथी बाँदरको मुटु खानुपर्छ ।’

अब गोहीलाई आपद् पर्‍यो । उसलाई जसरी भए पनि बाँदरको मुटु ल्याउनै पर्ने भयो । त्यसैले भोलिपल्ट बाँदर समक्ष गएर बहाना बनाउँदै भन्यो–

‘मित्र ! तिमीलाई आज भाउजूले खाना बोलाएकी छिन् ।’ 

प्रतिउत्तरमा बाँदरले खुसी हुँदै भन्यो– 

‘धन्यवाद मित्र ! निमन्त्रणका लागि तर जाने पो कसरी ?’

‘किन र ?’

‘आफू परियो स्थलचर प्राणी । पानीमा कसरी जाने भनेको नि ।’

उसको कुरा सुनेर गोहीले खुसी हुँदै भन्यो–

‘म छदै छु नि ! आऊ पीठमा बस ।’

त्यसपछि बाँदर गोहीको पीठमा बस्यो । ऊ बोकेर हिँड्यो । निकै पर पुगेपछि गोहीलाई अब बाँदर फर्कन सक्दैन जस्तो लाग्यो र भावी योजना बताउँदै भन्यो– 

‘भगवान्को नाम जप गर मित्र ! अब तिम्रो जीवन केही घडी मात्र बाँकी छ ।’ 

गोहीको कुरा सुनेर बाँदरले झस्किँदै भन्यो–

‘के भो र मित्र ! किन यस्तो कुरा गर्दै छौ ?’

गोहीले पनि यथार्थ कुरा बतायो । गोहीको कुरा सुनेर बाँदर निकै रिसायो तर रिसाएर के गर्ने । समय बुद्धिले काम गर्नुपर्ने थियो । त्यसैले चतुर्‍याईँ देखाउँदै भन्यो–

‘यो त राम्रो कुरा । मेरो क्षुद्र जीवनले पनि कसैको जीवन बचाउने भएछ तर गल्ती गर्‍यौ मित्र ! अघि नै भन्नुपर्ने थियो ।’

‘अघि नै भन्नुपर्ने थियो ?’

‘हो अघि नै भन्नुपर्ने थियो ।’

‘किन र ?’

‘किन कि बाहिर निस्कँदा मुटु रुखमै राखेर हिँड्ने बानी छ मेरो ।’

‘राम्रो, अति राम्रो ।’

‘किन र ?’

‘किनकि म तिमीलाई फर्काएर उही रुखमा पुर्‍याउँछु । मुटु मलाई दिनु । तिम्रो जीवन पनि बच्यो भाउजुको उपचार पनि भयो । अनि राम्रो भएन त ?’

ठीक भन्यौ भन्दै बाँदरले टाउको हल्लायो । गोहीले उसलाई सोही रुखको फेदमा पुर्‍यायो । त्यसपछि बाँदर एक छिन है भन्दै रुखमा चड्यो र तल झरेन । निकै बेरपछि गोहीले भन्यो–

‘चाँडो गर मित्र ! तिम्रो भाउजूलाई बेथाले निकै चापेको छ । ढिलो गरे प्राणै जान सक्छ ।’

गोहीको कुरा सुनेर बाँदरले रिसाउँदै भन्यो–

‘मूर्ख ! तलाई यति पनि थाहा छैन कि प्राणीको मुटु उसको शरीरमै हुन्छ भन्ने कुरा ? धिक्कार छ तँ जस्ता विश्वास घातीलाई । आफैँसँग राख तेरो समस्या । तँ जस्ता अपराधीसँग मित्रता गर्नु छैन ।’

बाँदरको कुरा सुनेपछि गोही झस्क्यो र कुरा बनाउँदै भन्यो– 

‘धत् मित्र ! जोक पो गरेको त के भन्दा रहेछौ भन्ने ठानेर । तर, तिमीले त साँच्चै ठान्यौ । तिमी जस्ता मित्रमाथि पनि विश्वासघात गरौँला त । चाँडो ओर्ल भाउजू चौरासी व्यञ्जन बनाएर पर्खिरहेकी छिन् ।’

बाँदर पनि के कम । कड्किँदै भन्यो–

‘जा जा पाजी ! त्यति मूर्ख पनि छैन कि यति भइसकेपछि पनि तेरो चिप्लो कुरामा विश्वास गरी बसौँ ।’

यति भनेर बाँदर आफ्नै धुनतिर लाग्यो । गोही काम पूरा हुनु पहिले नै मनको कुरा बताएर ठूलै मूर्खता गरेछु भन्दै आफ्नो बाटो लाग्यो । 

धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर यस कथाले दुईटा शिक्षा दिएको भने पक्का हो । यसमा पहिलो त यही हो कि काम समाप्त नहुँदै कसैलाई पनि मनको कुरा बताउनु हुँदैन । दोस्रो शिक्षा यही हो कि जस्तोसुकै विपत्तिमा पनि धैर्यले काम लिनुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप