शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान

‘१० प्लस १’ प्रदेशको अवधारणा अनुरूप सङ्घर्ष गरिने
शुक्रबार, २२ जेठ २०८३, १५ : ०८
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • तराई–मधेस क्षेत्रका युवाहरूले विभिन्न दलमा आबद्ध भई ‘हुँकार मधेस’ नामक नयाँ अभियान सुरु गरेका छन्।
  • यस अभियानले अधिकार, पहिचान, सङ्घर्ष, जागरण र परिवर्तन गरी पाँच वटा मुख्य उद्देश्यहरू अघि सारेको छ।
  • अभियानको अन्तिम लक्ष्य नयाँ राजनीतिक पार्टी गठन गर्ने भए पनि त्यसअघि नागरिकसँग राय, सल्लाह र सुझाव सङ्कलन गरिनेछ।

काठमाडौँ । तराई–मधेस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरू कमजोर हुँदै गएपछि विभिन्न दलमा आबद्ध मधेसी युवाहरू सङ्गठित भई ‘हुँकार मधेस’ अभियान सुरु गरेका छन्। 

मधेस केन्द्रित दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपालका साथै नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका दलमा रहेका मधेसी युवाहरू मिलेर यो अभियान अघि बढाएका हुन्।

जसपा नेपालबाट राजीनामा दिएर बाहिरिएका नेता रामकुमार शर्माका अनुसार जेनजी आन्दोलनपछि परिवर्तनको पक्षमा उभिएका मधेसी युवाहरूले यो नयाँ अभियानको थालनी गरेका हुन्। यस अभियानमा मधेस केन्द्रित दलमा आबद्ध युवाहरू मात्र नभएर काङ्ग्रेस, एमाले र नेकपाका नेताहरू समेत संलग्न रहेको उनले स्पष्ट पारे। 

अहिले आन्तरिक रूपमा यस अभियानको तीव्र तयारी चलिरहेको छ। यस क्रममा एक–दुई वटा बैठकहरू सम्पन्न भइसकेका छन् भने आवश्यक दस्तावेजहरू समेत तयार पारिएको छ। यद्यपि, ती सबै रणनीति र योजनाहरूलाई अहिले गोप्य राखिएको छ। अभियानले ‘हुँकार मधेस’ एउटा अभियान परिवर्तनका लागि दासताको जन्जिर तोडेर अघि बढ्ने उद्घोष गरेको छ।

यस अभियानले मुख्य गरी अधिकार, पहिचान, सङ्घर्ष, जागरण र परिवर्तन गरी पाँच वटा उद्देश्यहरू अघि सारेको छ। धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दुराष्ट्रको स्थापनाका लागि समेत यसले कार्य गर्ने स्रोतले जनाएको छ। त्यसका लागि ‘१० प्लस १’ प्रदेशको अवधारणा अनुरूप सङ्घर्ष गरिने बताइएको छ। २२ जिल्ला रहेको मधेस क्षेत्रलाई समेटेर दुई वटा प्रदेश बनाउनुपर्ने माग राख्दै यस अभियानले आगामी सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने रणनीति लिएको छ।

अभियानको नेतृत्व पूर्ण रूपमा युवा तहबाटै हुने तय गरिएको छ। सुरुवाती चरणमा तीन–चार महिनासम्म देशव्यापी रूपमा अभियान सञ्चालन गरिने र त्यस अवधिमा जनताबाट प्राप्त हुने सुझाव तथा प्रतिक्रियाका आधारमा थप कदम चालिने बताइएको छ। अन्ततः यस अभियानको मुख्य लक्ष्य नयाँ राजनीतिक पार्टी गठन गर्ने नै रहे पनि त्यसअघि हरेक क्षेत्रका नागरिकसँग राय, सल्लाह र सुझाव सङ्कलन गरेर मात्र अन्तिम निर्णय लिइने नेताहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप