आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा भैँसी भाडामा ल्याएर बाँड्ने सहकारीलाई कारबाही

सोमबार, ०८ साउन २०८०, २० : २५
सोमबार, ०८ साउन २०८०

जनकपुरधाम । सिरहामा भाडाको भैँसी अनुदानमा बाँड्ने सहकारीलाई कारबाही गरिएको छ । जिल्लाको औरही गाउँपालिकाले भाडामा भैँसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेको सहकारीलाई कानुनबमोजिम कारबाही गर्ने र भुक्तानी नदिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शिवजी यादवले वडा नं.४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेका हुन् । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सहकारीलाई कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ ।

सहकारीले भैँसी वितरणमा अनियमितता गरेकाले उक्त सहकारीलाई भुक्तानी नदिने र कालो सूचीमा राख्ने निर्णय गाउँपालिकाले गरेको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाई/भैँसी साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि उक्त सहकारीलाई गाउँपालिकाले छनोट गरेको थियो ।

उक्त कार्यक्रमका लागि २५ लाख बजेट थियो । जसमा १५ लाख भैँसी वितरण र १० लाख औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।

वितरण गर्ने भैँसी उन्नत जातको १ लाख ५० हजार बराबरको हुनुपर्ने र कूल रकमको ५० प्रतिशत किसानले व्यहोर्ने सम्झौता गाउँपालिका र सहकारीबीच भएको थियो ।

तर कार्यक्रम गर्दा उन्नत जातको २० थान भैँसी वितरण गर्नुपर्नेमा व्यापारीबाट ३ हजारका दरले भाडामा ल्याएको १७ थान लोकल भैँसी मात्र १७ किसानलाई बाँडेर उक्त सहकारीले गाउँपालिकाबाट भुक्तानी लिन खोजेको थियो । भाडाको भैँसी किसानलाई बाँडेको र पुनः फिर्ता लिएको आरोप लागेपछि गाउँपालिकाले छानबिन समिति समेत बनाएको थियो ।

छानबिन समितिले समेत सहकारीले भाडाको लोकल भैँसी किसानलाई वितरण गरेको र किसानबाट पुनः फिर्ता लिई अनुदानको दुरुपयोग गर्न खोजेको ठहर गर्दै कानुन बमोजिम कारबाही र भुक्तानी नगर्न सुझाव दिएको आधारमा कार्यपालिका बैठकले निर्णय लिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप