शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुरुङ, केशरी र श्रेष्ठ सम्मानित

आइतबार, १४ साउन २०८०, १४ : ०८
आइतबार, १४ साउन २०८०

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीता केशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा होटल तपस, बत्तिसपुतली, काठमाडौँमा आयोजित कार्यक्रमा शनिबार सो सम्मान गरिएको हो । 

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, काङ्गे्रेसका नेता शङ्कर भण्डारी, सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले संयुक्त रूपमा उनीहरूलाई सम्मान गरेका हुन् । 
कार्यक्रमका प्रमुख अतिथि सुवासचन्द्र नेम्वाङले साहित्यकारहरूको गुनासो सार्थक रूपमा आउनुपर्ने बताए । “लेखक साहित्यकारहरूले देशमा सधैँ गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पु¥याउनुपर्छ,” नेम्वाङले भने, “उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नु पर्छ ।” साहित्यिक पत्रकार सङ्घका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै उनले यस्ता कार्यक्रमबाट समाजलाई अघि बढाउने काममा योगदान बताए । 

त्यसैगरी विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा बढ्दो विकृति र विसङ्गतिविरुद्ध स्रष्टाहरू फेरि जागरुक हुनुपर्ने आवश्यकता औँल्याए । सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रुचिको विषय भएको बताए । 

पूर्वमन्त्री शङ्कर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै उनले नयाँ निर्माण हुन लागेको संसद् भवनको प्राङ्गणमा पृथ्वीनारायणको प्रतिमा राख्नुपर्ने बताए । 
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत आआफ्ना विचार व्यक्त गरेका थिए । वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि चर्चा गरेका थिए । 
अध्यक्षको आसनबाट सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गरे । उनले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकता परेको समेत बताए ।

कार्यक्रममा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनका पूर्वअध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र साहित्यकार उन्नति बोहरा शिला लगायतको सहभागिता थियोे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप