बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलाडी

एसियाड खेल्ने सहोदर दाजु–बहिनी भन्छन्, ‘कराते हाम्रा लागि नशा हो’

पदक जित्ने प्रशिक्षक कुशल श्रेष्ठको विश्वास
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । राष्ट्रको जर्सी लगाएर ओलम्पिक, एसियाली खेलकुदजस्ता ठूला प्रतियोगिता खेल्नु कुनै पनि खेलाडीको सपना हुन्छ । यसका लागि खेलाडीले वर्षौ खेल मैदानमा पसिना बगाएका हुन्छन्, निरन्तर कडा परिश्रम गर्छन् । 

रंगशालाको सानो घेरालाई नै आफ्नो संसार बनाएर घाम–पानी केही नभनी निरन्तर अभ्यास गर्छन् । कुशल प्रशिक्षकहरुबाट प्रशिक्षण लिन्छन् । खेल्ने सपना पूरा गर्नकै लागि खेलाडीले अन्य क्षेत्रमा लागेर सहजै प्राप्त गर्न सकिने थुप्रै अवसर पनि त्यागेका हुन्छन् । 

तर, निरन्तरको त्याग र तयारीका बावजुद निकै कम खेलाडीले मात्र आफ्नो त्यो सपना पूरा गर्ने अवसर पाउँछन् । थुप्रै उत्कृष्ट खेलाडीबाट छानिएर आउने सर्वोत्कृष्ट खेलाडीले मात्र राष्ट्रको जर्सी लगाएर ओलम्पिक र एसियाडजस्ता महत्वपूर्ण प्रतियोगिता खेल्न पाउँछन् । 

यस अर्थमा कराते खेलाडी सन्तोष श्रेष्ठ र सविना श्रेष्ठ निकै भाग्यमानी ठहरिएका छन् । खासमा सन्तोष र सविना दाजु–बहिनी हुन् । एकै परिवारका यी दाजु–बहिनीले यसै वर्ष चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्दैछन् । 

उनीहरुको खेल पनि एउटै हो, कराते । विभिन्न चरणमा आयोजना भएका छनोट प्रतियोगितामा दिग्गज प्रतिद्वन्द्वीहरुलाई पाखा लगाउँदै यी दाजु–बहिनीले एसियाली खेलकुदमा स्थान पक्का गरेका हुन् । पक्कै पनि उनीहरुका लागि यो यात्रा सहज थिएन । 

यसका लागि उनीहरुले आफ्नो जीवनका महत्वपूर्ण क्षण कराते खेललाई सुम्पिएका छन् । 

गुरु निरज महर्जनको आर्शिवाद

सानै उमेरदेखि कराते खेलमा होमिएका सन्तोष र सविनाले एउटै गुरुबाट करातेको प्रशिक्षण लिएका हुन् । करातेसँग दुुबैको साइनो जोडी दिने पहिलो गुरु हुन्, निरज महर्जन । कुनै समय तिनका बुवा–आमा सुन्दर भविष्यको सपना बोकेर नुवाकोटबाट काठमाडौं हानिएका थिए ।

आर्थिक स्थिति खासै गतिलो नभएकाले आफ्ना लागि नौलो सहरमा सन्तोष र सविनाका बुवा मुरली श्रेष्ठ र आमा दुर्गामाया श्रेष्ठले जे जति कमाए, आफ्नै पौरखले कमाए । उनीहरुले दूध बेचे, घर रंगाउने काम गरे, सानोतिनो पसल गरे । अर्थात् जीवन धान्नका लागि उनीहरुले सबथोक गरे ।

अहिले पनि काठमाडौंको मनमैजुमा उनीहरुको एउटा सानो होटेल छ । सन्तोष र सविना पनि मनमैजुमै जन्मिए, हुर्किए अनि प्रतिभाशाली खेलाडीका रुपमा आफ्नो छुट्टै परिचय स्थापित गराए । उनीहरुलाई कराते खेलाडीको रुपमा स्थापित गराउन निरजको निकै ठूलो योगदान छ ।

अहिले निरज नेपालमा छैनन् । उनी सपरिवार क्यानडा बस्छन् । तर, आफूहरुलाई ‘निरज गुरु’ ले लगाएको गुन भने सन्तोष र सविनाले अझै भुलेका छैनन् । ‘हामी सानो हुँदा निरज गुरु कराते सिक्नु हुन्थ्यो । खेल्न जाँदा मलाई पनि डोर्‍याएर आफूसँगै लैजानु हुन्थ्यो । उहाँले नै करातेसँग हाम्रो नाता जोडि दिनुभएको हो,’ सन्तोष विगत सम्झन्छन् ।

santosh shrestha

ब्ल्याक बेल्ट लिएको केही समयपछि निरज खेलाडीबाट प्रशिक्षकको रुपमा रुपान्तरित भए । त्यसपछि उनले मनमैजुमै कराते डोजो पनि खोले । हो, त्यही मनमैजु कराते डोजोका उत्पादन हुन्, सन्तोष र सविना पनि । ‘सुरुमा निरज गुरुले मलाई प्रशिक्षण दिनुभयो । उहाँ मेरो पहिलो गुरु अनि म पनि उहाँको पहिलो चेला । उमेर सानै भएकाले सुरुमा कडा प्रशिक्षण गराउनु भएन । उहाँकै प्रशिक्षणमा मेरो खेलमा निखार आएको हो,’ २८ वर्षीय सन्तोष भन्छन् । 

सन्तोषले कराते सिक्न थालेपछि सानी सविना पनि दाजुलाई पछ्याउँदै डोजोसम्म पुग्थिन् । त्यसपछि विस्तारै उनमा पनि करातेप्रतिको मोह बढ्दै गयो । ‘दाजुलाई पछ्याउँदै डोजो जान थालेपछि मलाई पनि यो खेलले मोहनी लगायो । त्यसपछि मैले पनि निरज गुरुसँग कराते सिक्न थालेँ । दाजु साथमा भएकाले आमा–बुवाले पनि आपत्ति गर्नु भएन । त्यसमाथि निरज गुरुसँग हाम्रो सम्बन्ध पारिवारिकजस्तै थियो,’ उमेरले भर्खर २१ लागेकी सविना सुनाउँछिन् । 

त्यसपछि विस्तारै उनीहरुले ‘निरज गुरु’कै पहलमा सानातिना विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाउन थाले । स्थानीय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि सन्तोष र सविनाको खेलकुद क्षेत्रको आकाश पनि फराकिलो बन्दै गयो । त्यसपछि उनीहरुले भारतमा आयोजना हुने प्रतियोगिताहरुमा पनि खेल्ने अवसर पाए । 

अचानक एक दिन सन्तोष र सविनाले निरज गुरुसँग छुट्टिनुपर्ने अवस्था आयो । ‘विवाह गरेपछि निरज गुरु परिवारसँगै क्यानडा जानु भयो । उहाँकै क्षत्रछायाँमा करातेमा उदाउँदै गरेका हाम्रा लागि यो निकै कठिन क्षण थियो । अब आफ्नो खेललाई कसरी अगाडि बढाउने भन्ने समस्या थपियो,’ सन्तोष सम्झन्छन्, ‘तर, क्यानडा गएपछि पनि निरज गुरुले हामीलाई निरन्तर फोन गरेर सम्झाउनु हुन्थ्यो । आवश्यक सहयोग पनि गर्नुहुन्थ्यो । आज हामी जे छौं, त्यो उहाँकै प्रेरणाले हो ।’ 

अहिले सन्तोषले कराते खेल्न थालेको १७ वर्ष बितिसकेको छ । सविनाले भने दाजु सन्तोषभन्दा एक वर्षपछि खेल्न थालेकी हुन् । सविनाले कराते डोजोमा १६ वर्ष बिताइसकेकी छन् । 

यतिबेला सन्तोष र सविनाका लागि कराते एक प्रकारको नशाजस्तै बनिसकेको छ रे । ‘हाम्रा लागि कराते एक प्रकारको नशाजस्तै भइसकेको छ । हामी चाहेर पनि करातेबाट टाढिन सक्दैनौँ । थोरै समय पनि करातेबाट टाढिँदा शारीरिक र मानसिक रुपमै अस्वस्थ्य भएजस्तो लाग्छ । नेगेटिभ इनर्जी रिलिज गर्न पनि कराते खेल्नैपर्ने हुन्छ,’ सन्तोष भन्छन् । 

एकपछि अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि उनीहरुले राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने अवसर पाए । तर, राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने सवालमा भने बहिनीले दाजुलाई उछिनिन् । सविनाले पहिलो पटक वृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यतिबेला उनी आफ्नो तौलसमूहमा तेस्रो भएकी थिइन् । 

सन्तोषले भने आठौं राष्ट्रिय खेलकुद खेलेनन् । आखिर किन ?, ‘हामीलाई हुर्काउन बुवा–आमाले निकै ठूलो संघर्ष गर्नुभयो । हामीले सानैदेखि उहाँहरुको दुःख देख्दै आएका छौं । अहिले उहाँहरुको स्वास्थ्यमा पनि समस्या आउन थालेको छ । जीवन धान्नका लागि पैसा पनि आवश्यक पर्छ । त्यसैले म केही समयका लागि करातेबाट टाढिएर सानोतिनो ब्यवसायमा लागें,’ सन्तोष भन्छन् । 

एसियाली खेलकुदतर्फको यात्रा

तर, पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको वृहत नवौं राष्ट्रिय खेलकुदका लागि भने सन्तोष र सविना दुबै छनोट भए । दुबैले आ–आफ्नो स्पर्धामा स्वर्ण पदक पनि जिते । त्यहीँबाट सुरु भयो, उनीहरुको एसियाली खेलकुदतर्फको यात्रा । 

उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबको तर्फबाट प्रतिस्पर्धा गरेका थिए । नवौंमा स्वर्ण जितेपछि पनि उनीहरुले पुलिस क्लबमै निरन्तर प्रशिक्षण गरिरहे । एसियाली खेलकुदका लागि कुनै पनि बेला छनोट प्रतियोगिता आयोजना हुन सक्थ्यो । त्यसैले, पुलिस क्लबका प्रशिक्षकहरुले पनि उनीहरुलाई कडा तयारी गर्न सुझाव दिएका थिए ।

‘नवौं राष्ट्रिय खेलकुदपछि पनि हामीले एसियाडको छनोटलाई ध्यानमा राखी निरन्तर तयारी गरिरह्यौं । त्यसैको प्रतिफल हो, हामी एसियाडको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पर्न सफल भयौं,’ सन्तोष भन्छन् । 

सन्तोषका अनुसार, एसियाडको छनोट प्रतियोगिता निकै कठिन थियो रे ! ‘छनोट प्रतियोगितामा मैले दोहोरो चुनौतीको सामना  गर्नुपर्‍यो । एकातिर म भन्दा अनुभवी खेलाडी हुनुहुन्थ्यो । अर्कोतिर क्षमतावान नयाँ खेलाडीहरु हुनुहुन्थ्यो । नयाँ खेलाडी त झन् मानसिक र शारीरिक दुबै रुपमा बलिया । त्यसैले, यी दुबै पक्षलाई ध्यानमा राखेर मैले आफ्नो तयारी अगाडि बढाएको थिएँ । तर, छनोट प्रतियोगिताभन्दा अघि सिनियर खेलाडीहरु विदेश जानुभयो । तै पनि छनोट प्रतियोगितामा क्षमतावान नयाँ खेलाडीले गतिलै चुनौती दिनुभयो,’ उनी भन्छन् । 

छनोट प्रतियोगितालाई लिएर सविनाको अनुभव पनि सन्तोषको जस्तै छ । ‘महिलातर्फको छनोट प्रतियोगितामा पुराना र अनुभवी खेलाडीभन्दा पनि हामी नयाँ खेलाडीकै वाहुल्य थियो । नयाँ खेलाडीहरु निकै क्षमतावान छन् । नयाँ खेलाडी मानसिक रुपमा पनि उत्तिकै बलिया छन् । त्यसैले, छनोट चरण पार गर्न हामीले पनि निकै ठूलो संघर्ष गर्नुपर्‍यो,’ सविना भन्छिन् ।

एसियाली खेलकुदका लागि दोस्रो पटक छनोट प्रतियोगिता आयोजना गरिएको हो । एसियाली खेलकुद सन् २०२२ मै चीनमा आयोजना हुने भनिएको थियो । त्यसका लागि छनोट प्रतियोगिता पनि भएको थियो । तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता एक वर्ष पछि सरेको हो । त्यसैले, अहिले पनि एसियाली खेलकुदको लोगोमा २०२२ नै लेखिएको पाइन्छ । 

‘एसियाड निकै ठूलो प्रतियोगिता हो । वर्ल्ड च्याम्पियनसिप खेलिसकेका खेलाडीहरु पनि हाम्रो प्रतिद्वन्द्वी हुन्छन् । त्यसैले, अहिलेका गुरुहरुले सकारात्मक सोच राख्न र मनोबल उच्च बनाउन हामीलाई सुझाव दिनुभएको छ । उहाँहरुले हाम्रो क्षमता तिखार्न सक्दो प्रयास गरिरहनु भएको छ,’ सन्तोष भन्छन्, ‘गुरुहरुलाई प्रत्येक खेलाडीको सबल र कमजोर पक्षको बारेमा जानकारी हुन्छ । त्यहीअनुसार उहाँहरुले प्रशिक्षण गराउनु हुन्छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा हाम्रो मनोबल पनि उच्च बनेको छ ।’ 

sabina shrestha

अध्ययनको विषयमा भने बहिनीले दाजुलाई उछिनेकी रैछिन् । सन्तोषले १२ कक्षा उत्तीर्ण भएपछि विभिन्न कारणले अध्ययनलाई निरन्तरता दिन सकेनन् । तर, सविना भने अहिले स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । ‘खेल र अध्ययनलाई सँगसँगै अगाडि बढाउन केही अप्ठ्यारो हुँदो रैछ । जसोतसो तालमेल मिलाउँदै अगाडि बढाएकी छु । भविष्यमा पनि अध्ययनलाई निरन्तरता दिने लक्ष्य लिएकी छु,’ सविना भन्छिन् । 

खेलकुदमा लाग्न परिवारबाट रोकटोक भएन त ? दुबै दाजु–बहिनीको एउटै जवाफ आउँछ, ‘खेलकुदमा लाग्न त बुवा–आमाबाट उल्टै हौसला पाएका छौँ । बरु अल्छी मानेर खेल्न नजाँदा गाली खानुपर्छ । परिवारको साथ र सहयोग नभएको भए हामी यो स्थानसम्म पुग्ने नै थिएनौं । यो मामलामा हामी निकै भाग्यमानी छौं,’ सन्तोष भन्छन् । 

थाइल्यान्ड ओपन च्याम्पियनसिपमा स्वर्ण पदक

सविनाको नाममा एउटा गतिलो उपलब्धि पनि जोडिएको छ । उनी थाइल्यान्ड ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि हुन् । 

उनले सन् २०२० मा थाइल्यान्डमा आयोजित उक्त प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको यो सफलताले पनि उनलाई आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न हौंस्याएको छ ।

नेपाली खेलकुदमा महिला खेलाडीको अवस्था कस्तो छ त ? सविनाको विचार र भोगाईले भन्छ, नेपाली खेलकुदमा महिला खेलाडीको अवस्था निकै सकारात्मक छ । खेलाडी महिलाहरु जस्तोसुकै चुनौतीको सामना गर्न पनि सक्षम छन् । 

‘ब्यक्तिगत रुपमा मलाई खेलकुदमा लाग्न खासै समस्या भएन । दाजु सँगै भएकाले परिवारबाट पनि कुनै रोकटोक भएन । समग्र खेलकुद क्षेत्रलाई हेर्दा पनि खेलाडी महिलाको अवस्था सकारात्मक देख्छु । विगतको तुलनामा परिस्थितिमा निकै परिवर्तन आएको छ । पुरुष खेलाडीभन्दा कुनै हिसाबले पनि पछाडि छैनन् महिला खेलाडीहरु,’ सविना भन्छिन् । 

मनमैजु डोजोको जिम्मेवारी

सन्तोष र सविनालाई करातेमा डोर्‍याउने निरज गुरु क्यानडा लागेपछि अहिले मनमैजु डोजोको जिम्मेवारी पनि उनीहरुकै काँधमा आएको छ । 

सन्तोष र सविना यतिबेला दोहोरो जिम्मेवारीमा छन् । एकातिर उनीहरु आफै खेलाडी हुन् भने अर्कोतिर, मनमैजु डोजोमा प्रशिक्षकको भूमिका पनि निर्वाह गर्छन् । किनभने उनीहरुले आफ्नो विगत बिर्सिएका छैनन् । 

कुनै दिन दुई कलिला नानी सन्तोष र सविनालाई निरज गुरुले कराते डोजोसम्म पुर्‍याएका थिए भने आज निरज गुरुकै पदचिन्ह पछ्याउँदै यी दाजु–बहिनी पनि ससाना बालबालिकालाई करातेको कखरा सिकाउन सक्रिय छन् ।

००००

करातेले एसियाडमा पदक जित्ने विश्वास छ

 – कुशल श्रेष्ठ, राष्ट्रिय कराते टोलीका प्रशिक्षक  

Kushal Shrestha

सन्तोष र सविना दुबै अनुशासित खेलाडी हुन् । उनीहरु खेलप्रति निकै लगनशील छन् । दाजु–बहिनी भए पनि प्रशिक्षण गर्दा उनीहरु एकअर्कालाई साथीजस्तो ब्यवहार गर्छन् । उनीहरुसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि छ ।  

नवौं राष्ट्रिय खेलकुदमा पनि दुबैजनाले स्वर्ण पदक जितेका थिए । एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनीहरुको प्रदर्शन स्तरीय थियो । करातेका सबै खेलाडी अहिले बन्द प्रशिक्षणमा रहेका छन् । 

एसियाली खेलकुदलाई ध्यानमा राखी अहिले दिनको दुईपटक प्रशिक्षण गराइँदै छ । विहान ८ बजेदेखि १० बजेसम्म प्रशिक्षण हुन्छ । 

यसैगरी, साँझ ५ बजेदेखि ७ बजेसम्म प्रशिक्षण गराइन्छ । खेलाडीको स्वास्थ्यदेखि लिएर खानपिनसम्म विशेष ध्यान दिइएको छ ।

हाम्रो तयारी र खेलाडीको प्रदर्शनलाई हेर्दा यसपटक एसियाली खेलकुदमा करातेले पदक जित्ने विश्वास हामीले लिएका छौं । खेलाडीलाई ‘इन्टरनेशनल स्पोजर’ दिने उद्देश्यले वैदेशिक प्रशिक्षणमा लैजाने तयारी पनि भइरहेको छ । 

त्यसैले पनि यसपटक एसियाली खेलकुदमा करातेले आफ्ना समर्थकलाई निराश पार्ने छैन भन्ने विश्वास लिएका छौं । 

००००

१९औँ एसियाड खेल्ने कराते खेलाडी 

चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदमा नेपालबाट आठजना खेलाडीले सहभागिता जनाउँदै छन् । नेपाल कराते महासंघले एसियाडका लागि छनोट गरेको टोलीमा चार महिला र चारजना पुरुष खेलाडी रहेका छन् ।

महिलातर्फ ५० केजीभन्दा मुनिको तौल समूहमा सविना श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६१ केजीभन्दा मुनिको तौल समूहमा निरुपा दोङ् तामाङ तथा ६८ केजीभन्दा माथिको तौल समूहमा एरिका गुरुङ सहभागी हुनेछिन् । महिला कातामा एलिसा रास्कोटी मगरले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

पुरुषतर्फ ६७ केजीभन्दा मुनिको तौल समूहमा सन्तोष श्रेष्ठले सहभागिता जनाउने छन् । ७५ केजीभन्दा मुनिको तौल समूहमा मोहम्मद सेखु आलम तथा ८४ केजीभन्दा माथिको तौल समूहमा विप्लपलाल श्रेष्ठले भाग लिनेछन् ।

यसै गरी, पुरुषतर्फको कातामा स्वर्णिम मानन्धरले नेपालको प्रतिनिधित्व गर्नेछन् । १९औँ एसियाडमा सहभागिता जनाउने आठ कराते खेलाडीमध्ये तीनजना मनमैजु डोजोका खेलाडी हुन् । सन्तोष र सविनाबाहेक एरिका गुरुङ पनि मनमैजु डोजोकै खेलाडी हुन् ।

००००

एसियाली खेलकुद, कराते र नेपाल

एसियाली खेलकुदको १२औँ संस्करण जापानको हिरोसिमामा आयोजना भएको थियो । एसियाली खेलकुदको सोही संस्करणमा पहिलो पटक कराते खेल समावेश गरिएको थियो । उक्त संस्करणमा नेपालले सहभागिता जनाएर पदक पनि जितेको थियो । 

नेपालको प्रतिनिधित्व गरेकी सीता राईले कास्य पदक जितेकी थिइन् । उनले महिला कुमिते ६० केजीभन्दा माथिको तौल समूहमा पदक जितेकी हुन् । एसियाली खेलकुदको इतिहासमा नेपालले करातेमा जितेको यो नै पहिलो पदक हो । 

उक्त संस्करणमा करातेका लागि ११ स्वर्ण, ११ रजत र २० वटा कास्य पदक छुट्याइएको थियो । त्यसमध्ये जापान एक्लैले नौवटा स्वर्ण पदक जितेको थियो । बाँकी दुई स्वर्ण पदक इरान र सिरियाका खेलाडीको भागमा परेको थियो । त्यसयता एसियाली खेलकुदको हरेक संस्करणमा कराते खेलले स्थान पाउँदै आएको छ ।

सन् १९९८ मा थाइल्यान्डको बैंककमा एसियाली खेलकुदको १३औँ संस्करण आयोजना भएको थियो । उक्त संस्करणमा नेपालका सम्बरबहादुर गोलेले पुरुष कुमिते ६० केजीभन्दा मुनिको तौल समूहमा नेपालका लागि कास्य पदक जितेका थिए । 

त्यसपछि नेपालले एसियाली खेलकुदको करातेमा पदक जित्न सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा आयोजना भएको १७औँ संस्करणसम्म प्रतिक्षा गर्नुपर्‍यो । इन्चोन एसियाडमा नेपालका लागि महिला एकल कातामा विमला तामाङले कास्य पदक जितेकी थिइन् ।

सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको १८औँ एसियाली खेलकुदमा भने नेपालले करातेमा पदक जित्न सकेन । यसरी हालसम्म नेपालले एसियाली खेलकुदको करातेमा तीनवटा कास्य पदक जितेको छ । तर, कास्य पदकभन्दा माथि भने उक्लन सकेको छैन । 

एसियाली खेलकुदको करातेमा जापान सबैभन्दा बलियो टोलीको रुपमा दरिँदै आएको छ । जापानले एसियाली खेलकुदको करातेमा हालसम्म ३० स्वर्ण, १० रजत र नौवटा कास्य पदक जितिसकेको छ । दोस्रो स्थानमा रहेको इरानले एसियाली खेलकुदको करातेमा १४ स्वर्ण, ११ रजत र १० वटा कास्य पदक जितेको छ ।

००००

१९औँ एसियाली खेलकुद

एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १९औँ संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदैछ । प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुनेछ । यसअघि १९औँ एसियाली खेलकुद सेप्टेम्बर सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने कार्यक्रम थियो । 

तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण उक्त मितिमा प्रतियोगिता आयोजना हुन सकेन । त्यसपछि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । 

एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा यस पटक प्रतियोगितामा सहभागी हुने खेलाडीको सँख्याले नयाँ कीर्तिमान बनाउने भएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो ।

यस पटक प्रतियोगितामा कीर्तिमानी रुपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाउने भएका छन् । ओसीएका अनुसार, ती सबै खेलाडीको नाम दर्ता भइसकेको छ । 

प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिनेछन् । ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रुपमा रहेका छन् । यस अघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय जना खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको थियो । 

रमाइलो पक्ष त के हो भने, विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिकभन्दा पनि बढी खेलाडीले यसपटक एसियाली खेलकुदमा सहभागिता जनाउँदै छन् । सन् २०२० मा जापानको टोकियोमा आयोजित पछिल्लो गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा दुई सय ६ राष्ट्रका ११ हजार चार सय २० जना खेलाडीले भाग लिएका थिए । 

आगामी एसियाली खेलकुदमा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङ र आयोजक चीनले ६ सयको हाराहारीमा खेलाडी सहभागी गराउने भएका छन् । 

ओलम्पिक काउन्सिल अफ एसियाको थाइल्यान्डमा सम्पन्न ४२औँ महासभाले आगामी वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि छनोट भएका रुस र बेलारुसका पाँच सय जना खेलाडीलाई पनि अतिथि खेलाडीका रुपमा हाङ्झोउ एसियाडमा सहभागी गराउने निर्णय लिएको छ । 

१९औँ एसियाडमा ४० वटा खेलको चार सय ८३ स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताका लागि हेइजाङ प्रान्तका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ । एसियाडका खेलहरु हाङ्झोउ, निङ्बो, वेनझोउ, हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन् ।   

चीनमा तेस्रो पटक एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । सन् १९९० मा पहिलो पटक चीनको बेइजिङमा एसियाली खेलकुद आयोजना भएको थियो । 

त्यसपछि सन् २०१० मा चीनको ग्वानझोउले दोस्रो पटक एसियाली खेलकुद आयोजना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया