बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने

बुधबार, २४ साउन २०८०, १९ : ३६
बुधबार, २४ साउन २०८०

काठमाडौँ । वैदेशिक रोजगारबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको स्वास्थ्य परीक्षण गर्ने योजना अघि सारेको हो । त्यसका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । 

मन्त्रालयका सह–सचिव राजीव पोखरेलले वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्य परीक्षण गर्ने योजना रहेको बताए । 

‘वैदेशिक रोजगार बोर्डको पैसाबाट विदेशमा मृत्यु भएकाले मात्र सहायता पाए । त्यो सहायता त फर्केर आउने मान्छेको लागि पनि हुन्छ । राज्यले केही गर्नुपर्छ भनेर वैदेशिक रोजगारबाट फर्केर आएका श्रमिकहरूको स्वास्थ्य अवस्था कस्तो छ ? कुन अवस्थामा आउनुभएको छ ? भनेर स्वास्थ्य परीक्षणको नयाँ कार्यक्रम अघि सारेका हौं,’ पोखरेलले भने । 

वैदेशिक रोजगार बोर्डबाट बजेट पास भएर आएको र मापदण्ड बनाएर कार्यान्वयनमा जाने बताए । 

त्यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई स्वास्थ्य परामर्श तथा मनोपरार्श दिने कार्यक्रम समेत अघि सारिएको छ । त्यसका लागि स्वास्थ्यकर्मीको टोली र औषधिसहित सम्बन्धित देशमा जाने र स्वास्थ्य परीक्षण तथा मनोपरामर्श दिने कार्यक्रम रहेको सहसचिव पोखरेलले बताए । 

‘विभिन्न देशहरूमा रहेका श्रमिकहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएको छ । जस्तै कोरियामा रहेका श्रमिकहरूमा मनोपरामर्श कमजोर भएर सुसाइड जस्तो कार्य गर्न अघि सर्ने गरेको देखिन्छ । त्यसका लागि त्यही गएर मनोपरामर्श दिने, स्वास्थ्य परीक्षण गराउने लगायतका कार्यक्रम अघि सारेका छौं,’ उनले भने । 

मन्त्रालयले बोर्डमार्फत हाल टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएको छ । त्यसका लागि वीर अस्पतालसँग सम्झौता गरेर अनलाइन मार्फत नै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई स्वास्थ्य परामर्श दिँदै आएको छ । उक्त कार्यक्रम प्रभावकारी बन्दै गएपछि मन्त्रालयले थप कार्यक्रम अघि सारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप