आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले भन्यो–सांसद शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौँ

बिहीबार, २५ साउन २०८०, १९ : २५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन् ।  

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताए ।  

प्रमुख सचेतक लेखकले संसद् चलिरहेको बेलामा कुनैपनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताए । उनले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइएपनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै काँग्रेसले आफ्नो धारणा बनाउने बताए ।

उनले भने, ‘सुनिल शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ । के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्ने बारेमा जानकारी लिइरहेका छौँ । त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्नेकुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ ।’

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रवार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरु तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताए । कांग्रेस सदनको अवरोध चाँडोभन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप