मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशमानले भने - खर्च धेरै, परिणाम कम आउने कार्यशैली बदलौँ

मङ्गलबार, ३० साउन २०८०, ११ : २४
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्‍यो,’ मंगलबार बिहान काठमाडौँको नयाँ बानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौँ । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौँ न ।’

उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्धति र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए । त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरूलाई ठेगान लगाउनुपर्ने उनले बताए ।

पार्टीभित्र सुविधा भोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरूलाई अब ठेगान लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ ।’

भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए । ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्ने छ । त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ उनले भने ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘कप्लेन त सबैतिर छ । कप्लेन गरेर मात्र भएन नि । के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्‍यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु– टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्‍यो नि । हामी जहाँ–जहाँ छौँ, त्यहाँबाट लागौँ न ।’

कसैकसैले कचकच गर्दैमा जिम्मेवारी दिउँ नत भनेर दिन नहुने बताउँदै उनले त्यसो गरेमा इमान्दार नेता कार्यकर्ता निराश हुने बताए ।  

केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउन उनले निर्देशन दिए । चर्का कुुरा गर्ने तर काम नगर्ने शैली बदल्न उनले आह्वान गरे । ‘केन्द्रले पठाइहाल्यो, गर्दिउँ न भनेर झारा टार्ने किसिमको काम गर्ने र भाषण मात्र चर्काचर्का कुरा गरेर मात्र हुँदैन,’ नेता सिंहले भने, ‘आधारभूत कुरा नगरेर उडन्ते कुरा गरेर, पार्टी कता–कता पुगिराछ आफूचाहिँ उडिराछ, यसरी काहिँ चल्छ ?’ 

कार्यक्रम कांग्रेस सह–महामन्त्री भीष्मराज आङदम्बेले पार्टीका निर्देशन पालना गरेर संगठन मजबुद बनाउन लाग्नुपर्ने बताए ।

कांग्रेसले मात्रै मुलुका चुनौतीको सामना गर्न सक्ने भन्दै कांग्रेसले नै मुलुकलाई निकास दिने सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप