मौरी ब्लकमा लगानी बालुवामा पानी !
विराटनगर । खोटाङ जिल्लाको ऐसेलुखर्क–३, धोद्रेका जीवन राई परम्परागत पशुपालन र कृषि कर्म गरिरहेका थिए । सामान्य लेखपढ भएका उनले एकदुई घार मौरी पनि पालेका थिए । उनलाई विस्तारै मौरी पालन व्यवसाय गर्ने सोच आयो र विदेशबाट फर्किएका आफ्ना भाइसहितको सहकार्यमा मौरी पालन व्यवसाय सुरु गरे ।
त्यही बेला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङले ‘मौरी ब्लक निर्माणको प्रस्ताव आह्वान’ गर्यो । सूचना प्रकाशित भएको थाहा पाएपछि उनै जीवनले आफ्ना छरछिमेकी साथीभाइसँग सल्लाह गरे, र मौरीको घार बढाए । उनले लगानी थपे, समूह बनाए । ब्लक बनाउने अभियान चलाए ।
सबै सहमत भएपछि मौरी ब्लक कार्यक्रममा उनले निवेदन दिए । उत्साहित हुँदै निवेदन दिएको उनको समूहले २ आर्थिक वर्षमा गरेर ३८ लाख २० हजार रुपैयाँ अनुदान पनि पायो । तर, अहिले किनेका मौरीहरु मरेर ४५ घारमा सीमित छन् । त्यो पनि व्यक्तिहरुको घरघरमा छ । एकैठाउँ छैनन् ।
वरिपरि जंगलले गरिएको धोद्रेमा मौरीका लागि अनुकुल हुने प्रकृतिको बालीनाली पनि लगाइएको थियो । मौरी ब्लक निर्माणका लागि अरु समूहले निवेदन पनि दिएनन् । एकल निवेदन परेपछि कृषि ज्ञान केन्द्र खोटाङले उनैलाई छनौट गरेर अनुदान दिएको थियो ।
अनुदान दिएपछि राईले १३० घार मौरी रामेछापबाट किनेर ल्याए । १३ हजार रुपैयाँ प्रतिघारमा खरिद गरेका मौरी एक वर्षमै मरेर सिद्धिए । ‘म त खेती गर्ने, हलो जोत्ने मान्छे । के के न हुन्छ भनेर कृषि ज्ञान केन्द्रका मान्छेले पनि भने । अब त हामी उक्सिनै नसकिने भइयो,’ उनले गुनासो सुनाए, ‘पहिलो पटक २० घार लिएका थियौँ । रामेछापबाट १३० घार ल्याइयो । घारभित्र बच्चा भएको चाका कुहिएछ । त्यसपछि माउले छोड्दै हिँड्दै गर्यो ।’
राईले चरा र अरिङ्गालले पनि मौरी खाइदिएको बताए । ‘टाढाबाट ल्याएको कारण वल्लो डुँड र पल्लो डुँडको मौरी झगडा गरेर पनि मर्यो । यस्तै चिवे चरा र अरिङ्गालले पनि धेरै मौरी खाइदियो । अहिले १०–१२ वटा घारचाहिँ म आफैँले हेरिरहेको छु,’ उनले भने, ‘अरु घार व्यक्तिव्यक्तिको घरमा छ । अहिले त्यस्तै ४५ वटाजति घार होलान् ।’
सरकारले दुई पटक गरेर ३८ लाख २० हजार अनुदान दिएकोमात्रै होइन, मौरीपालक उक्त समूहले पनि त्यतिनै लगानी गरेको थियो । ६५० घार मौरी पालन गर्ने सोच बनाएको समूहले डुँड बनाउन मात्रै प्रतिगोटा ३ हजार खर्च गर्यो । ‘डुँड र घार गरेर ४० लाखभन्दा बढी खर्च भयो । २ वर्षदेखि गरेको मेहनत खेर गयो । जम्मा वार्षिक कमाई ५० हजारजति मात्रै हुन्छ,’ राईले सुनाए ।
मौरी पालनमा टन्न नाफा कमाउने सोच बनाएका उनीहरु अहिले निराश छन् । ‘मौरी फष्टाउन सकेन । कोही भागे, कोही मरे । हिउँदमा बाहिर गएका मौरी फर्किएरै आएनन्,’ उनले भने ।
कृषि ज्ञान केन्द्र खोटाङले केही महिना अगाडि उनको ब्लक अनुगमन गरेको थियो । त्यसबेला प्रतिबद्धता जनाएअनुसार मौरी नभएको देखेर प्रमुख जिल्ला अधिकारीसहितको टोलीले तत्काल घारहरु बढाउन निर्देशन दियो । तर, उनलाई थप लगानी गरेर मौरीको घार बढाउने इच्छा नै छैन । ‘बढाउँ भनेर लागिरहेका त छौँ । तर बढ्ने अवस्थाचाहिँ देखिँदैन,’ उनले भने ।
१८ सय मिटर उचाईमा रहेको उक्त गाउँको वातावरण मौरी हुने खालको नभएको हो कि भन्ने शंका पनि उनीहरुले गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले आयोजना गरेको तालिममा उनीहरु सहभागी पनि भएको बताउँछन् ।
कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले पनि आफूहरुले गरेको लगानीले प्रतिफल नदिएको बताए । दुई वर्षभित्रमा प्रतिबद्धता अनुसार मौरीसहितका घार भरेको हुनुपर्छ भनेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले आदेश दिएको उनले बताए । ‘सहमति अनुसार उहाँहरुले भएका सबै डुँडमा मौरी विस्तार गर्छौं भन्नुभएको छ,’ हरिनारायणले भने, ‘उहाँहरुलाई वडाहरु थप गरेर भए पनि ब्लकको क्षेत्र बढाएर राज्यको लगानीलाई सुरक्षित गर्नुहोस् भनेका छौँ ।’
हरिनारायणका अनुसार रामेछापबाट ल्याएको मौरीमा फाउल रोग लागेको रहेछ । ‘त्यो रोग लागेपछि माउमार्फत अरु घारमा पनि सर्यो र मरेको देखियो । प्राविधिक हिसावले दक्ष नभएको र ज्ञान केन्द्रसँग पनि प्राविधिक नभएको हुँदा हामीले दोस्रो वर्ष भोजपुरबाट विशेषज्ञ झिकाएर तालिम पनि दिइयो,’ उनले भने, ‘त्यसपछि केही हदसम्म सुधार भयो । त्यस्तै उहाँहरूलाई प्रदेशस्तरीय तालिममा पनि पठाइएको छ ।’
एउटा मात्रै निवेदन परेको र उत्साहित भएर आएको कारण उनीहरुलाई नै मौरी ब्लकको कार्यक्रम दिएको हरिनारायणले बताए । ‘उहाँहरुले त्यतिखेर उत्साहित भएर निवेदन हालेका कारण त्यो कार्यक्रम हामीले उहाँहरुलाई नै दिने गरी स्वीकृत गरेका हौँ । ब्लकलाई प्रक्रिया पूरा पनि गरेको हिसावले हामीले छनौट गरेका हौँ । तर, अन्तिममा आएर असफल जस्तो भयो,’ उनले भने ।
मौरी ब्लकका लागि आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख र अर्को वर्ष १३ लाख २० हजार दिइएको हो । ब्लक सञ्चालनका लागि कृषि ज्ञान केन्द्र खोटाङ र मौरी ब्लक विकास समितिबीच ७ सय मौरीको आधुनिक घार निर्माण गर्ने सम्झौता भएको थियो । उक्त समितिको अध्यक्ष जीवन राई आफैँ हुन् । समितिमा १८ जना सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण