सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोनिजको निम्तो : कोशीको आगो

शुक्रबार, ०१ भदौ २०८०, १८ : ३९
शुक्रबार, ०१ भदौ २०८०

२९औँ आदिवासीको अवसर पारेर आदिवासी, जनजाति पत्रकार महासंघ (फोनिज)ले हामी केहीलाई प्रदेश १ को राजधानी विराटनगरमा बोलाएको थियो । खगेन्द्र संग्रौला, डा. महेन्द्र लावती, डम्बर खतिवडा र म कार्यक्रमको निम्तालु थियौँ । साउन २८ गते भएको कार्यक्रमको बहसको विषय थियो : ‘पहिचानको आन्दोलन : अबको बाटो’ । 

गएको वर्ष फागुन १७ गते प्रदेश १ को प्रदेशसभाले कोशी नामकरण गरे यता प्रदेश आन्दोलित छ । यसै सन्दर्भमा आयोजित यो संगोष्ठीमा हामीले धारणा राख्नुपर्ने थियो । हामी तीनजना लावती, संग्रौला र मैले पहिचानमा आधारित नामकरण विषयमा बोल्दै, लेख्दै आएकाले सम्भवतः हामीलाई बोल्ने कुरामा आयोजकबाट कुनै खास साउती भएको थिएन ।

आन्दोलनको उठान र बैठानको निश्चितता हुनुपर्छ । लक्ष्य र उद्देश्य किटान गरेपछि मात्र गन्तव्यमा पुग्ने मार्गप्रशस्त हुन्छ । समुदाय, व्यक्ति, संघ–संस्था, दलपिच्छेका विचार अभ्यासले रन्नभुल्ल पार्छ नै । कतै तल उल्लेख गरिएको धोबी र गधाको कथाजस्तो पहिचानको आन्दोलनले बाटो नबिराओस् ।

जसपाबाट भर्खरै बिदाबारी भएकाले खतिवडालाई पनि साउती गरिएको थिएन भन्ने लाग्छ तर जब यो कार्यक्रमको समापन भयो, यसपछि आमसञ्चारका माध्यममा आएका टीका–टिप्पणीले भने हाम्रो मथिङ्गललाई हल्लाएको छ । प्रदेश १ मा क्षेत्रीय पार्टीको आवश्यकता रहेको हदको बुद्धिजीवीको ठहर रहेको सन्देश पत्रकारबाट प्रभावित भएपछि यो लेखोटले ठाउँ पाएको हो ।

सूचनाको संकेत

पत्रकारहरूले सूचनाको संकेत डा. लावतीको सम्भाषणबाट बढी टिपेकाले यस्तो सन्देश गएको हुन सक्छ । हुन त लावतीले प्रदेश १ मा क्षेत्रीय पार्टी आवश्यक छ भनेर ठाडै भनिहालेका थिएनन् । उनी आफैँ जसपाका सल्लाहकार भएकाले उनले मुख खोली हाल्ने अवस्था पनि थिएन तर पहिचानजन्य आन्दोलनको रापताप नघटेको, मतादेशको आधारमा पनि नागरिक उन्मुक्ति, जनमत, जसपा, लोसपाले राम्रै मतसंग्रह गरेको विचार व्यक्त गरेका थिए । 

जातीय सामाजिक संस्थाले आन्दोलन गर्दा पनि यो प्रकारको जनऐक्यबद्धता आउनु चानचुने कुरा थिएन । यसमा राजनीतिक दलले नेतृत्व गर्दा परिणाम पक्षमा आउने आशय उनले गरेका थिए । उनले बोलेको यही विषयलाई पत्रकारले पर्गेल्दा नयाँ क्षेत्रीय पार्टी खोल्ने धारणा बुद्धिजीवीहरूको रहेको ठहर गरेका हुन सक्छन् । 

मसहित अन्य वक्ताले पनि नामकरण गर्ने पार्टी विशेषको आलोचना हुनु स्वाभाविकै थियो । यसर्थ पत्रकारले नयाँ पार्टी खोल्न लागेको अर्थ बुझ्नु अन्यथा होइन । मुख्य राजनीतिक दलको अकर्मण्यताले स्थानीय समुदायमा नयाँ पार्टीको आवश्यकता बोध गरिरहेको सन्दर्भमा यस्तो समाचार बन्नुलाई नाजायज अर्थमा लिन पनि सकिन्न ।

अर्का सहभागी वक्ता डम्बर खतिवडा जसपा र नेसपाबाट बिदाबारी भएपछि नयाँ वैकल्पिक शक्तिको खोजी अभियानमा लागेकै पात्र हुन् । खतिवडाले आदिवासी आन्दोलनको पुनर्कथन गर्दै बहुसांस्कृतिकतावादका आधारमा राष्ट्र निर्माण गर्नुपर्ने उल्लेख गरेका थिए । यी सबै अभिव्यक्तिको कुल जोड नयाँ क्षेत्रीय पार्टी निर्माणउन्मुख संकेतको रूपमा सञ्चारकर्मीले बुझे होलान् र यो हदको समाचार उत्पादन हुन पुगेको हुन सक्छ । अन्यथा संग्रौला दाजु र मेरो अभिव्यक्तिको भाष्यमा नयाँ पार्टी निर्माण गर्ने पेटबोलीमा खुल्दैन । 

संग्रौला दाजुले नामकरणको सवालमा किरात र लिम्बुवानको सम्मिलन गराउनुपर्ने उच्चारण गरेका थिए । मैले कोशीमा आगो लागेको प्रसंग उठाउँदै न्यूनतम सहमतिमा पहिचानजन्य प्रदेश नामकरण गर्न सबै पार्टीलाई पूर्वमान्यतामा फर्कन आग्रह नै गरेको थिएँ ।

डलरे बुद्धिजीवी

यसै मेसोमा आएको समाचारलाई लिएर एक जनजाति अभियन्ताले सार्वजनिक रूपमा मुखै छाडेर ‘डलरे बुद्धिजीवीको मुखमा कीरा परोस्’सम्म भन्न भ्याएका छन् । 

आदिवासी जनजातिको कुरा उठान गर्नासाथ डलरको खेती सम्झना आउनेलाई उनले आफैँतिर फर्केर प्रश्न गर्नुपर्ने हुन्छ । उनको जति त कसैले पनि आदिवासी जनजातिको कुरा उठान गरेकै छैनन् । 

उनको यो क्षूद्र टिप्पणीले जनजाति आन्दोलन वा प्रदेश १ मा उत्तेजना वा आन्दोलन केलाई फाइदा हुन्छ, उनले नै जान्ने कुरा हो तर आदिवासी जनजाति आन्दोलनको मसिहा आफैँलाई मात्र ठान्ने यो प्रवृत्तिले साम्प्रदायिक अन्ध–जातिवाद तर्फको यात्रालाई मात्र सहज बनाउँछ ।

प्रदेश १ र लोककथाको मर्म

कोशी नामकरण खारेजीको आन्दोलन महामारीकै रूपमा फैलिँदै गएको सत्य हो । यसै पनि अहिले प्रदेश १ कोशीसँगै डेंगु महामारीबाट पनि आक्रान्त छ । यो परिदृश्यमा आन्दोलनको उठान र बैठानको निश्चितता हुनुपर्छ । लक्ष्य र उद्देश्य किटान गरेपछि मात्र गन्तव्यमा पुग्ने मार्गप्रशस्त हुन्छ । समुदाय, व्यक्ति, संघ–संस्था, दलपिच्छेका विचार अभ्यासले रन्नभुल्ल पार्छ नै । कतै तल उल्लेख गरिएको धोबी र गधाको कथाजस्तो पहिचानको आन्दोलनले बाटो नबिराओस् । 

धोबी र गधाको कथा भन्छ : कुनै गाउँमा महामारी फैलिए छ । त्यस गाउँको एउटा धोबी परिवारका सदस्यमध्ये बुढा धोबी, उनको सानो नाति र बुढो गधा मात्रै बाँचेछन् । बुढो र अशक्त गधाबाट काम लिन गाह्रो भइरहेको थियो । त्यहीबेला गाउँलेले बुढो गधालाई मवेसी (पशु हाट) मा बेचेर तन्नेरी गधा ल्याउन सल्लाह दिएछन् । धोबीका हजुरबा र नाति गधा डोर्याएर मवेसीतिर लागे । जाँदाजाँदै बाटामा एकहुल मानिसले देखेछन् र जिस्काए – ‘कस्तो पटमुर्ख रहेछ । गधामा नचडेर किन डोर्याएका होलान् ? 

कुरो ठीकै लागेर हजुरबुवाचाहिँ गधामा चढे । नातिले गधा खेद्दै थिए, केही परपछि अर्को हुल मानिस भेटेछन् । तिनले भनेछन्, ‘कस्तो निर्दयी बुढो रहेछ, सानो नातिलाई गधामा नचढाएर आफू किन चढेको होला ?’ त्यसपछि हजुरबाले नातिलाई पनि गधामा चढाएछन् । केही पर पुगेपछि एक हुल पशु अधिकारकर्मीसँग उनीहरुको जम्काभेट भएछ । पशु अधिकारकर्मीले तुरुन्तै प्रतिक्रिया जनाए, ‘कस्तो निर्दयी रहेछन् । बुढो गधामाथि दुई–दुई जना चढेका !’ 

पशु अधिकारकर्मीको कुरा सुनेपछि वृद्ध धोबीले गधालाई काँधमा बोकेर हिँड्न थालेछन् । उनीहरुलाई नदी तर्नुपर्ने थियो । गधाले नदीको पानीमा आफ्नै छाया देखेर अर्को गधा आएको ठानेछ र हिनहिनाउँदै उफ्रिएछ । यसरी गधालाई नदीले बगायो । यसरी बुढो धोवीको सपना चकनाचुर भएछ । यस्तो नहोस् । 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप