शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
जबरजस्ती करणीको प्रयास

बाल यौन दुरुपयोगमा पीडकलाई उन्मुक्ति, पीडित बालिका डिप्रेसनमा

सरकारी वकिल भन्छन्– घटनाबारे अनुसन्धान भइरहेको छ, पीडितले न्याय पाउँछिन्
बुधबार, ०६ भदौ २०८०, १६ : १६
बुधबार, ०६ भदौ २०८०

बारा । निजगढ नगरपालिका–२, सिंगोल घर भएकी मिनकुमारी फुँयालकी १२ वर्षीय नातिनी आजभोलि लोग्नेमान्छे देख्नासाथ डराउने, बेहोस हुने गर्छिन् । उनी एक्लै टोलाउने, बर्बराउनेसमेत गर्छिन् ।

असार २५ गते बिहान ८ बजे घरमा कोही नभएको मौका छोपेर छिमेकी मनोज राईले घर पछाडि बोलाएर जबरजस्ती करणीको प्रयास गरेपछि १२ वर्षीय बालिका अहिले मानसिक रुपमा विक्षिप्त मात्रै भएकी छैनन्, डिप्रेसनको औषधिसमेत सेवन गर्नु परिरहेको छ ।

अलि ठुलो र अग्लो पुरुष मान्छे देख्नासाथ ‘त्यही हो’ भन्दै रुँदै बरबराउन थालेपछि परिवारले अहिले उनलाई काठमाडौंस्थित आफन्तको घरमा राखेका छन् ।

असार २५ गते बिहान ७ बजे भाँचिएको हातको जडीबुटी उपचारका लागि मिनकुमारी घरबाट निस्किएकी थिइन् । उनकी छोरी उर्मिला कार्की पनि गाईभैंसी चराउन गइन् । घरमा ३ जना नातिनीमात्रै थिए । परीक्षा भएकाले सधैँ झैँ उनका नातिनीहरु खाना खाएर परीक्षा दिन जाने तयारीमा थिए ।

सोही क्रममा छिमेकी मनोज राईले १२ वर्षीय नातिनीलाई काम छ भन्दै बोलाएर घर पछाडि लगेर जबरजस्ती करणीको प्रयास गरेपछि ७ वर्षीय कान्छी नातिनीले देखेर छिमेकी बोलाएर गुहार मागेकी थिइन् ।

मिनकुमारी जंगलबाट फर्कँदा घरमा मान्छेको भिड थियो । नातिनी रोइरहेकी थिइन् भने शरीरभर लछारपछार गरेको घाउदाग हुनका साथै छाती र गुप्ताङ सुन्निएको थियो ।

नातिनीको त्यो अवस्था देखेपछि मिनकुमारी तत्काल सिंगोल प्रहरी चौकी पुगिन् । उनले प्रहरीमा लिखित उजुरी दिइन् तर लेखपढ गर्न नजान्ने भएकाले निवेदनमा पुलिसले के के लेखे भन्ने उनलाई थाहा भएन । ‘अब एकै पटक तपाईहरुलाई वकिलले बोलाउँछ, जानुस् भनेर हामीलाई घर पठाउनु भयो तर त्यसपछि केही खबर आएन,’ मिनकुमारीले भनिन् ।

साउन २५ गतेको सो घटनामा साउन २७ गते प्रहरीले मनोज राईलाई नियन्त्रणमा लियो । तर, नियन्त्रणमा लिएको दुई साता नबित्दै राई जिल्ला अदालत बाराबाट डेढ लाख रुपैयाँ धरौटीमा छुटे । राई छुटेर गाउँ फर्किएपछि बालिका झनै डराउने, बेहोस हुने, बरबराउन थालेपछि अहिले बालिकालाई काठमाडौँस्थित आफन्तको घरमा राखिएको मिनकुमारीले बताइन् ।

‘अलि ठुलो र अग्लो मान्छे त देख्नै हुँदैन, नातिनीले त्यही मान्छे हो भन्दै रोएर बेहोस हुन खोज्छे,’ मिनकुमारीले भनिन्, ‘अदालतले यस्तो कुरालाई सामान्य हो भनेर धरौटीमा छोड्यो भन्छन्, त्यस्तो कुरा पनि सामान्य हुन्छ र ?’

बालिकाकी आमा उर्मिला कार्कीले पनि छोरीको अवस्था धेरै नाजुक भएको बताइन् । ‘छोरीले छाती दुखेर सास फेर्न धेरै गाह्रो भएको छ भन्छे, धेरै डराउँछे, बोल्न सक्दिन, मर्न मन लाग्योमात्रै भन्छे, डिप्रेसनको दबाई खुवाइरहेको छ, खै अब के गर्ने ?’, उर्मिलाले भनिन्, ‘गरिबका लागि न्याय हुँदो रहेनछ । पीडितले न्याय पाएको छैन, पीडकले उन्मुक्ति पाइसक्यो, यो भन्दा दुःखको कुरा के हुनु ?’

अन्तरपार्टी महिला सञ्जालको सचिव तथा निजगढ नगरपालिकाकी महिला अधिकारकर्मी कल्पना खरेलले सिंगोल–२ का मनोज राईले एउटा गरिब र विपन्न परिवारको अबोध बालिकालाई धेरै दिनदेखि जबरजस्ती करणीको लागि प्रयास गरेको र साउन २५ गते बालिका करणी गर्ने क्रममा छिमेकीले बचाएको बताइन् ।

‘यो घटनालाई हल्का रुपमा लिएर धरौटीमा छोडिएको छ, यसले गर्दा पीडित बालिकालाई मानसिक असर परेकाले त्यस्तो व्यक्तिलाई पुर्पक्षमै राखेर अनुसन्धान गरेर सजाय पाओस्, पीडित बालिकालाई न्याय होस् भन्ने हाम्रो चाहना हो,’ खरेलले भनिन् ।

जिल्ला सरकारी वकिल कार्यालय बाराका प्रमुख कैलाश केसीले पीडक धरौटीमा छुटे पनि पीडित बालिकाको पुनः बकपत्रका आधारमा थप कारबाही अगाडि बढाइने बताए । ‘यो घटना बाल यौन दुरुपयोग अन्तर्गत पर्ने भएकाले कानुन अनुसार पीडकलाई ३ वर्षसम्म कैद सजायको व्यवस्था कानुनमा छ, हामी अनुसन्धान गरिरहेका छौँ, अहिले फैसला भइसकेको छैन । आदेशमात्रै हो,’ केसीले भने ।

मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (२) मा कसैले करणीको आशयले बालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्गहरु छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अङ्ग बालिकालाई छुन वा समाउन लगाएमा वा अस्वाभाविक क्रियाकलाप गरेमा बाल यौन दुरुपयोग गरेको मानिने उल्लेख छ ।

यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । नेपालको कानुनमा २० वर्षभन्दा कम उमेरकी महिलालाई बालिका मानिएको छ । यस उमेर समूहका व्यक्तिको मञ्जुरी लिएर पनि यौनजन्य व्यवहार वा विवाह गर्न समेत कानुनले वर्जित गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय बाराका प्रमुख केसीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले पीडित परिवारले न्याय पाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप