दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
आख्यानमा राम्रो छाप बनाइसकेका शैलेन्द्र अधिकारीको दोस्रो उपन्यास ‘अर्हत्’ बुद्ध र बुद्धदर्शनसँग सम्बन्धित छ । अर्हत् बुद्ध र बुद्धका जीवनमा घटेका घटनाहरूको आख्यानीकरण हो । नेपालीमा बुद्धको जीवनीलाई आख्यानमा उतारिएको गहन पुस्तकमध्ये अर्हत् एउटा पक्कै हो । यो उपन्यास हो, अर्थात् कथा–उपकथामा जोडिएको सिङ्गो कथा हो । कथामा कल्पनाशीलताको भूमिका अत्यन्त धेरै हुन्छ नै । बुद्धकालीन कतिपय घटनाक्रमलाई कलात्मक रूपमा प्रस्तुत गर्ने क्रममा लेखकले यथेष्ट काल्पनिक कलाको प्रयोग गरेको भने पक्कै हो ।
अर्हत्मा बुद्धको जीवनका लगभग सम्पूर्ण क्रियाकर्महरूको मसिनो वर्णन पाइन्छ । सिद्धार्थ गौतमको जीवनको पाटोलाई पनि लेखकले उत्तिकै न्यायसङ्गत प्रस्तुत गरेका छन् । सिद्धार्थले बुद्धत्व प्राप्त गर्नुपूर्वका बाल्यावस्था र किशोरावस्थाको मिहीन चित्रण उनीबाटै संस्मरण गराइएको छ, तर बुद्धकै मुखबाट भनाइएको हुनाले हुन सक्छ आफ्ना बारेमा धेरै बचेर बुद्धले आफ्नो बाल्यकाल र किशोरावस्थाको वर्णन गरेको भेटिन्छ ।
- कथावस्तु
अर्हत्को कथा बुद्धको जीवनी वरिपरि घुमेको छ । बुद्धको मृत्युसंस्कार, जसलाई आदाहनोत्सव उपशीर्षकमा राखिएको छ, यहीँबाट उपन्यासको सुरु हुन्छ । बुद्ध स्वयंले आफ्नो जीवनकहानी आफ्नो शिष्यलाई सुनाउँदै जान्छन् । उपन्यासको कथाले बुद्धको जीवनका एक–एक क्षणलाई मिहीन ढङ्गले गाँस्दै लैजान्छ र सिङ्गो रूपमा उसको जीवन परावर्तन गराउँछ ।
आदाहनोत्सवबाट सुरु भएको कथा बुद्धको मृत शरीरलाई के गर्ने भन्ने विषयमा अलिकति रुमलिन्छ र तत्क्षण एक प्रकारको निकाससँगै कथा आफ्नै लयमा पछाडि फर्किएर बुद्धको बाल्यकालबाट सुरु हुन्छ । आयुसंस्कार उपशीर्षकबाट बुद्धले आफ्नो कथा आफ्ना शिष्य आनन्दलाई बताउन थालेपछि कथाले एउटा पोयो समाउँछ र निरन्तर एउटै धागोमा उनिँदै जान्छ । समग्रमा ४९ वटा उपशीर्षकमा बाँडिएको कथाका ४६ वटा उपशीर्षक खण्डमा बुद्ध स्वयं विचरण गर्छन् भने सुरुका दुई र अन्त्यको एकखण्ड भिक्षु आनन्दमार्फत चित्रण गरिएको छ ।
महापरिनिर्वाणको नब्बे दिनअगाडि बुद्धले आफ्नो शिष्यलाई आफूले आयुसंस्कार पूरा गरेको र अबको नब्बे दिन पछाडि महापरिनिर्वाणको समय भएको बताएपछि चिन्तित भएका भिक्षु आनन्दलाई बिचबिचमा उपस्थित गराउँदै बुद्धले आफ्नो सम्पूर्ण कथा न्यारेट गर्छन् । कथा बताउँदै बुद्धले आफूले प्रव्रज्या लिनुको उद्देश्य मात्र बताउँदैनन्, छन्दकले कहाँ, के, कसरी उनलाई सहयोग गर्यो अथवा सूचना सञ्चार गर्यो, सबै वृत्तान्त बताउँछन् । यो नै प्रस्तुत उपन्यासको पृष्टभूमि बनेको छ ।
अनोमा किनारबाट सिद्धार्थ गौतमको जीवनको अर्को अध्याय सुरु भएको छ, जसमा एकपछि अर्को गर्दै विभिन्न पात्रको उदय हुन्छ र निश्चित भूमिकामा केही समय कथामा उपस्थित हुन्छन् । कतिपय पात्रहरूका स–साना उपकथाहरू रहेका भए पनि प्रायः सबै पात्र मूलकथामै जोडिएका छन् । इतिहास के हो र कसरी लोखिएको छ, फरक कुरा होला तर यस उपन्यासमा राजा शुद्धोधनको उपस्थिति बडो रमाइलो छ । एकातर्फ राजकाजले बाँधिएको कठोर शुद्धोधन र अर्कातर्फ सिद्धार्थको बुद्धत्व प्राप्तिपश्चात् झन्डै–झन्डै राजकर्तव्यबाट विमुख हुन चाहेको शुद्धोधनको चरित्रलाई नियाल्ने हो भने उपन्यासमा जोडिएका अन्य पात्र गौण देखिन्छन् ।
उपन्यासले बुद्धको जीवनका घटनाहरूलाई विश्लेषण गर्दै मानवता, धर्म र त्यागको विषयमा गहिरो विचार सम्प्रेषणको प्रयास गरेको छ । यो उपन्यास विशेष गरी बुद्धका जीवनका महत्त्वपूर्ण घडीहरू जस्तै राजमहलको जीवन, राजमोह त्याग, ध्यान र तपस्या, बुद्धत्वको प्राप्ति, धर्मोपदेश र धर्म सङ्गठन, धर्मप्रसार र महापरिनिर्माणमा आधारित छ, जसले उनलाई ‘अर्हत्’को अवस्थासम्म पुर्यायो ।
उपन्यास भएका कारण पनि अर्हत्ले बुद्ध र बुद्धसम्बन्धी कथा मात्र पस्कन्छ तर सोही कथालाई विवेचना वा विश्लेषण गर्ने हो भने यति भन्न सकिन्छ कि यसले बौद्धआस्थामा आधारित विचार र अभ्यासहरूलाई समेटेर कथावस्तु प्रस्तुत गरेको छ । यो उपन्यासमा बौद्धदर्शनका केही महत्त्वपूर्ण विषयहरू जस्तै निर्वाण, सम्यक् दृष्टि, मध्यमार्ग र कर्मको सिद्धान्तलाई प्रमुख रूपमा उत्खनन् गर्न सकिन्छ । यी सिद्धान्तको प्रभावले बुद्धको मात्र होइन, उनको जीवनसँग जोडिएका समस्त पात्रहरूको आन्तरिक सङ्घर्ष र मानसिक अवस्थालाई स्पष्ट रूपमा चित्रित गरेको छ भन्न सकिने यथेष्ट आधारहरू उपन्यासमा निर्माण भएका छन् ।
बौद्धदर्शनको एक मुख्य तत्त्वका रूपमा निर्वाण र जीवनका उद्देश्यलाई लिने गरिन्छ । अर्हत् उपन्यासमा निर्वाणका अवधारणा महत्त्वपूर्ण स्थानमा छ । निर्वाण, जुन दुःख र सांसारिक बन्धनबाट मुक्ति प्राप्त गर्नका लागि हो, यस उपन्यासको केन्द्रीय विषय बनेको छ । पात्रहरूका जीवनका उद्देश्य र सङ्घर्षहरू निर्वाण प्राप्तिको मार्गमा समाहित छन् । त्यसैले यसले बौद्धदर्शनको उद्देश्य, शान्ति र सुखको प्राप्तिलाई चित्रित गरेको छ भन्दा अतिशयोक्ति नहोला ।
बौद्धदर्शनको अर्को महत्त्वपूर्ण अङ्ग सम्यक् दृष्टि हो, जसको अर्थ सही सोच र सही बोध भन्ने हुन्छ । उपन्यासका पात्रहरूले आफ्नो जीवनमा विभिन्न सङ्घर्ष र परिश्रम गर्नका लागि सम्यक दृष्टिको अभ्यास गर्न खोजिरहेका भेटिन्छन् । त्यसैगरी कर्मको सिद्धान्त, जुन बौद्धदर्शनको एक मानक हो जसमा प्रत्येक क्रिया र निर्णयले भविष्यको परिणाममा असर पुर्याउँछ, को पनि उपन्यासमा प्रचुर उपस्थिति देखिन्छ । यस अवधारणाले बुद्ध स्वयम् र अन्य पात्रहरूको निर्णय र जीवनको मार्गदर्शनमा विशेष भूमिका निभाएको मान्न सकिन्छ ।
अर्हत् उपन्यासको विवेचनामा भेटिने तत्त्व हो मध्यमार्गको अवलम्बन र द्वन्द्वहरूको समाधान । बौद्धदर्शनमा मध्यमार्गको सिद्धान्तलाई महत्त्वका साथ लिइन्छ, जसले अत्यधिक अभिरुचि र अत्याधिक विरक्ति दुवैको परित्याग गर्नका लागि सूचित गर्ने गर्दछ । उपन्यासमा बुद्ध स्वयम्ले र बुद्धपथमा भेटिएका अन्य पात्रहरूले पनि आफ्ना जीवनमा विभिन्न द्वन्द्व र सङ्घर्षहरूको समाधान गर्न मध्यमार्गका सिद्धान्त अनुशरण गर्नुलाई यसको प्रमाणका रूपमा लिन सकिन्छ । यसो गर्नाले ती पात्रका जीवनमा समता र सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको सहजै अनुमान लगाउन सकिन्छ ।
आत्मिक शान्ति अर्हत् उपन्यासका सकल पात्रहरूको केन्द्रिय ध्येय हो जसलाई अपनाउँदै उनहिरू आन्तरिक समृद्धिको यात्रामा निरन्तर यात्रारत भेटिन्छन् । बौद्धधर्मका अनुसार, आन्तरिक शान्ति र मानसिक शुद्धता प्राप्त गर्नु नै जीवनको मुख्य उद्देश्य हो । यस उपन्यासमा पात्रहरूले आफ्नो आन्तरिक शान्ति र समृद्धिको खोजी गर्दै बौद्धदर्शनको मार्गदर्शनमा जीवनका कठिनाइहरूलाई हरेक कदम कदममा सामना गरिरहेका छन् । उनीहरूले जीवनमा नयाँ दृष्टिकोण र मूल्यहरूको निर्माण गरिरहेका छन् । यो पाइनुबाट पनि अर्हत् उपन्यास बौद्धदर्शनको केन्द्रियतामा छ भन्न सकिने आधार निर्माण भएका छन् ।
- रचनाशैली
बुद्धको जीवनमा घटेका घटनाहरूको आख्यानीकरण गर्दै एक सरल रेखामा बगेको छ अर्हत् । अनावश्यक पात्र र असम्बन्धित उपकथाको उपस्थिति नहुनाले कथालाई दुर्बाेध्य हुनबाट उपन्यासकारले जोगाएका छन् । बुद्ध धर्म र बुद्धसँग सम्बन्धित पक्षहरूको उपस्थिति भएका हुनाले पात्रहरूको बोली, व्यवहार र उनीहरूले बोल्ने भाषा पनि सुललित र शिल्पयुक्त छन् । बुद्धधर्मसँग सम्बन्धित शब्दहरूको यथेष्ट प्रयोगले कथालाई सुललित बनाउने प्रयास हुँदाहुँदै साधारण पाठकका लागि भने अलि कठिन महसुस हुने देखिन्छ । लेखकले शब्दशिल्पमा भने बढी नै ध्यान दिएको हो कि भन्ने भान हुन्छ ।
उपन्यासको शैलीलाई हेर्ने हो भने प्रसिद्ध दार्शनिक प्लेटोले अनुशरण गरेका संवादात्मक शैलीलाई पछ्याइएको प्रतीत हुन्छ । प्लेटोले सुकरातका बारेमा चासो राखेपछि सुकरातले हेमलक विष पिउनुअगाडि आफ्ना शिष्यहरूलाई सुनाएका उनका जीवनका यावत् घटनाहरूको जस्तै शैलीमा बुद्धले यस उपन्यासमा शिष्य आनन्दलाई संवादात्मक शैलीमा आफ्ना कथाहरू सविस्तार वर्णन गर्दछन् ।
यसरी हेर्दा उपन्यासको शिल्पपक्ष मजबुत देखिन्छ । शब्दमाधुर्यले उपन्यासको कथालाई अझ मिठास थप्ने काम गरेका छ तर विश्व साहित्यलाई केलाउने हो भने लेखनशैली पूर्ण नवीन हो भन्न चाहिँ सकिँदैन । जहाँसम्म नेपाली आख्यानको कुरा छ, यसमा भने यो परावर्तित संवादात्मक शैली नवीन हुन सक्छ ।
- दुर्बल पक्ष
निश्चय पनि काम गर्दै जाँदा कहीँकतै केही कमजोरी त भई नै हाल्छन् । ती कमजोरीलाई आगामी दिनमा सच्याउँदै जानु नै असल लेखकको कर्म हो, धर्म हो ।
अर्हत्भित्र पनि यदाकदा सानातिना कमजोरी पाइन्छन् । मुख्यतः कतिपय किंवदन्ती अथवा जातक कथामा वर्णित परिवेशलाई यस उपन्यासको मूल कथामा जोड्दा कताकता लेखक र लेखनधर्ममाथि संशय उत्पन्न हुनु स्वाभाविक हो । लेखकले बुद्धको देवत्वकरण गरिरहँदा ठाउँ ठाउँमा बुद्धकै मुखबाट भनाइएका वाक्यहरू भने ‘बुद्धले नै बोलेका हुन् र ?’ भन्ने जस्तो हुनु लेखकीय कमजोरी मान्न सकिन्छ ।
त्यसरी नै बुद्धत्व प्राप्त गरिसकेको बुद्धका पनि इगो देखिनु अति अनौठो विषय नै हो । ‘पश्चातापले पानी–पानी भएको देवदत्तले मलाई भेट्न निकै कोसिस गर्यो तर मैले त्यसको कुनै प्रत्युत्तर दिनु जरुरी ठानिनँ, (पेज १५५) ।’
अर्कातर्फ लेखकले बुद्धको सोचाइलाई पनि ठाउँ ठाउँमा साँघुरो बनाएको प्रतीत हुन्छ । कथामा संन्यासग्रहण र संन्यासीलाई सर्वश्रेष्ठ देखाउने प्रयास एकातर्फ गरिएको छ भने त्यही संन्यास ग्रहण गरेका बुद्ध बाहेकका व्यक्तिलाई भने लोभ लालचले सहजै परिवर्तन गराएको देखाइएको छ ।
‘मेरो बहुमूल्य वस्त्र देखेर कुमार घटिकारको अनुहारमा अलिकति लोभको प्रतिच्छाया देखियो, (पेज ५१) ।’
यता नन्द, भारद्वाज ब्राह्मण, देवदत्त, पटाचारा आदिका विषयमा लेखक कतै नियोजित रूपमै बुद्धका एकएक शब्दलाई अद्वितीय बनाएर प्रस्तुत गरिरहेका त छैनन् भन्ने आभास पनि दिलाउँछ । यो किन पनि हो भने घटनाक्रमलाई स्वाभाविक रूपमा विकास हुन दिनुभन्दा पनि बुद्धको उपस्थिति हुनेबित्तिकै अथवा एक–दुई वाक्य बोल्नेबित्तिकै अलिक अगाडिसम्म चट्टानी अडानमा रहेको व्यक्ति मैनझैँ पग्लनु र परिवर्तन भइहाल्नुले कताकता नियोजित कथालेखन पो हो कि भन्ने बनाउँछ ।
अँ साँच्ची, बुद्धकालीन समयमा बनेका नौतले, पाँचतले र साततले दरबारका विषयमा चै अलि विस्तृतमा खुलाइदिएको भए अझ मजा आउँथ्यो होला । कलात्मक काठका थिए कि ? फेरि सिङ्गमरमरको पनि कुरा छ ? जेहोस्, यस विषयमा लेखकसँगको भेटमा चर्चा गरौँला ।
कुरा यति हो, अर्हत् पढिरहँदा साह्रै आनन्द आउँछ । बुद्धका बारेमा सुनेका कुराका पर्दा पछाडिका पक्षहरू यस उपन्यासले राम्रोसँग उजागर गरेको छ । शब्दचयन अलि उच्चकोटिको भए पनि तिलस्मी प्रभाव छोड्न सफल भएकाले शब्दभण्डारको वृद्धि पनि गौरवको विषय हो । एउटा धार्मिक आस्थाको केन्द्रमा रहेको व्यक्ति र विषयमाथि आख्यानीकरणको साहस गर्नु चानचुने कुरा होइन । सामान्यतया बुद्ध को हुन् ? उनले के कस्ता दिनचर्या बिताएर बुद्ध बने ? कपिलवस्तु राज्य कसरी विनष्ट भयो ? बुद्धत्व प्राप्ति नै उनको गन्तव्य थियो कि अझ बाँकी केही थियो भन्ने जिज्ञासालाई उपन्यासले राम्रोसँग उत्तर दिएको हुनाले पनि केही शब्द अप्ठेराका बाबजुद पनि यो उपन्यास विद्यालयस्तरका बालबालिकादेखि बुद्धधर्म र बौद्धदर्शनमा चासो राख्ने जो–कोहीका निमित्त एउटा राम्रो दस्ताबेज भएको अनुभूति हुन्छ । यो कलम, कदम र साहसका निमित्त लेखक शैलेन्द्र अधिकारी धन्यवादका पात्र हुन् ।
उपन्यासकार : शैलेन्द्र अधिकारी
पुस्तक : ‘अर्हत्’
विधा : उपन्यास
मूल्य : ६२५/–
प्रकाशक : शिखाबुक्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण