मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

दशौँ महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ : झलनाथ खनाल

‘धेरै सदस्यको भावनालाई अस्वीकृत गरियो’
शुक्रबार, ०८ भदौ २०८०, ११ : ०२
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । पार्टी गठन भएको दुई वर्षपछि नेकपा एकीकृत समाजवादीले आगामी माघमा दशौँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा अधिकांश नेता–कार्यकर्ताले पार्टी नेतृत्वको कार्यशैली र कार्यनीतिप्रति प्रश्न उठाए पनि नेतृत्वले त्यसको ठोस जवाफ र सम्बोधन नगरेको गुनासो नेताहरुको छ ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक वैचारिक प्रतिवेदनमाथि फरक मत नै राखेका छन् । तर खनालको फरक मतलाई बेवास्ता गर्दै अध्यक्ष नेपालको पुरानै ढर्राको प्रतिवेदन पास गरिएको छ ।

‘केन्द्रीय कमिटीका बहुमत सदस्यको भावनाचाहिँ दुवै दस्ताबेजलाई मिलाएर एकीकृत दस्ताबेज बनाइयोस् भन्ने थियो । धेरै सदस्यको त्यो भावनालाई नराम्रो ढङ्गले अस्वीकृत गरियो’, आफ्नो प्रस्ताव बेवास्ता गरिएकोमा नेता खनालले असन्तुष्टि जनाउँदै भने । बैठकमा अरू के–के भयो ? प्रस्तुत छ– सम्मानित नेता खनालसँग रातोपाटीले गरेको छोटो कुराकानीको सम्पादित अंश : 
 
नेकपा एकीकृत समाजवादीको सम्पन्न छैटौँ केन्द्रीय कमिटी बैठकले पार्टीलाई सुदृढीकरणसहित क्रान्तिकारी ऊर्जा थप्यो कि पुरानै शैलीमा अघि बढ्ने निर्णय गर्‍यो ?

हाम्रो पार्टीको केन्द्रीय कमिटीको छैटौँ बैठक तीन दिन चल्यो । बैठकमा सबै केन्द्रीय कमिटी सदस्यहरूबाट विचारहरूको माग पनि भयो र उहाँहरू आफैँले आफ्ना धारणा पनि राख्नुभयो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसको साथै मैले आजको वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनै पर्ने १५/१६ वटा विषयका साथै दुई वर्षको पार्टीको समीक्षा र महाधिवेशनका लागि गर्नुपर्ने कार्यभार भनेर आफ्नो दस्ताबेज प्रस्तुत गरेको थिएँ । दस्ताबेजका बारेमा बैठकमा मैले लामै व्याख्या पनि गरेको छु । त्यसपछि केन्द्रीय कमिटीका अन्य सदस्यहरूले आफ्ना विचार, भावनाहरू राख्नुभयो । सबैले आफ्ना विचार, भावना प्रस्तुत गरिसकेपछि माधवजीले अघि सार्नुभएको परम्परागत चिन्तन भएको दस्ताबेज पारित भयो भन्नुभयो । तर केन्द्रीय कमिटीका बहुमत सदस्यको भावनाचाहिँ दुवै दस्ताबेजलाई मिलाएर एकीकृत दस्ताबेज बनाइयोस् भन्ने थियो । धेरै सदस्यहरूको त्यो भावनालाई नराम्रो ढङ्गले अस्वीकृत गरियो ।

यो बैठकबाट हामीले तीन वटा कुरा मात्र सर्वसम्मत ढङ्गले अघि सारेका छौँ ।

अधिकांश केन्द्रीय सदस्यको भावनालाई अस्वीकृत गरेर पारित अध्यक्षको दस्ताबेज कार्यान्वयन कसरी सम्भव छ त ?

त्यो हेर्न बाँकी छ ।

तर अध्यक्षको दस्ताबेज सर्वसम्मत पारित भएको होइन ?

यो बैठकबाट हामीले तीन वटा कुरा मात्र सर्वसम्मत ढङ्गले अघि सारेका छौँ ।

ती के के हुन् ?

पहिलो कुरा, अब महाधिवेशनमा जाने सर्वसम्मत निर्णय भयो । दोस्रो, महाधिवेशनका लागि तयारी गर्ने कार्ययोजना पनि सर्वसम्मत भयो । तेस्रो, अहिलेका अवस्थामा पार्टी निर्माणका लागि एउटा अभियान चलाउने कुरा सर्वसम्मत भएको हो । अरू वैचारिक सैद्धान्तिक मतभिन्नता जारी नै छन् ।

कुनै पनि पार्टीमा वैचारिक, सैद्धान्तिक मतभिन्नता हुनु स्वाभाविक हो तर ती मतभिन्नतालाई सम्बोधन गरिँदैन भने त्यसले कस्तो नतिजा देला ?

हामीले महाधिवेशनको मिति घोषणा गरिसक्यौँ । त्यो महाधिवेशनमा धेरै विषयवस्तुमा बहस, छलफल, विश्लेषण र संश्लेषण गर्नुपर्ने आवश्यकता छ । विगतका काम कारबाहीको पनि समीक्षा गर्नुपर्नेछ । अब पार्टी पङ्क्तिले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गरेर बहस र छलफल गर्नुपर्छ । अहिले पार्टीमा जे–जे विवादका विषय छन्, तिनलाई महाधिवेशनमा पुगेर टुङ्गो लगाउनुपर्छ । अब हाम्रो ठुलो अध्ययन, विवाद, बहस, विश्लेषण र संश्लेषणको प्रक्रियातर्फ अघि बढ्छ ।
 
अध्यक्ष माधव नेपालको प्रतिवेदनमा एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेको देखिन्छ । पार्टीले स्वतन्त्र पहिचान गुमाउँदै गएको स्वीकारेको देखिँदैन । यसले त कसरी क्रान्तिकारी पार्टी निर्माण होला र ?
 
कुनै पनि ठाउँमा, कुनै पनि देशमा र कुनै पनि कालखण्डमा श्रमिक वर्गको पार्टी स्वतन्त्र पार्टी हुन्छ । स्वतन्त्र पहलकदमीका साथ त्यो पार्टी अघि बढ्छ र आफ्ना क्रान्तिकारी वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढ्छ । यसरी अघि बढ्दा कुनै पनि दक्षिणपन्थी वा प्रतिक्रियावादीको पुच्छर भएर अघि बढ्दैन । यसरी अघि बढ्यो भने उसले क्रान्तिकारी गति पनि लिन सक्दैन । त्यसकारण हाम्रो पार्टीलाई स्वतन्त्र ढंगले सही वैचारिक राजनीतिक कार्यदिशाका आधारमा, सही लक्ष्य र सिद्धान्तका आधारमा अगाडि बढाउने पार्टीका रूपमा रूपान्तरण गरौँ भन्ने मेरो धारणा छ । अब पार्टी क्रमशः महाधिवेशनमा पुग्दा त्यो ढङ्गले अगाडि बढ्छ भन्ने मेरो विश्वास पनि हो ।

गीत गाएर मात्र क्रान्तिकारी भइँदैन । क्रान्तिकारी कार्यदिशाका आधारमा बनेका गीत गाइयो भने त्यसले ठुलो प्रभाव पनि पार्छ ।

 
क्रान्तिकारी पार्टी बनाउने भन्दै गर्दा वर्गशत्रु तोक्नुपर्ने कांग्रेससँग कुम जोडेर यात्रारत रहेको अवस्थामा क्रान्तिकारी पार्टी बन्छ भनेर कुन आधारमा विश्वास गर्ने ?
 
क्रान्तिलाई बहाना गरिरहेको कुनै पनि कम्युनिस्ट पार्टीले त्यो समाजको वर्ग विश्लेषण गर्नुको साथसाथै के प्रधान राजनीतिक अन्तर्विरोध हो ? को आफ्नो मुख्य प्रतिद्वन्द्वी हो ? र, संघर्षको मुख्य निशाना के हो भन्ने यो तीन वटा कुरा जबसम्म पत्ता लगाउन सक्दैन, तबसम्म त्यो पार्टीले क्रान्तिको दिशामा एक पाइला पनि टेक्न सक्दैन । त्यसकारण यो कुरामा हाम्रो पार्टीका नेता कार्यकर्ताले गहिरोसँग मनन गर्नुपर्ने आवश्यकता छ भन्ने कुरा मैले केन्द्रीय कमिटी बैठकमै राखेको छु । त्यसैले बिस्तारै यो पार्टी रूपान्तरित भएर जान्छ ।
 
तपाईं क्रान्तिकारी विचार बोक्ने नेता हो । तर पार्टी गठन भएको दुई वर्षे अवधिमा क्रान्तिकारी होइन कि पुँजीवादी दलाल नोकरशाही दक्षिणपन्थी धारलाई बोकेर हिँडेको देखिन्छ । यस्तो अवस्थामा नेकपा एकीकृत समाजवादीले क्रान्तिकारिताको गीत गाएर मात्रै होला ?
 
गीत गाएर मात्र क्रान्तिकारी भइँदैन । क्रान्तिकारी कार्यदिशाका आधारमा बनेका गीत गाइयो भने त्यसले ठुलो प्रभाव पनि पार्छ । त्यसैले हिजो हामीले दुई वर्षको समय खेर त फालिएन ? अरूको सेवामा मात्रै अर्पित भएर त हिँडिएन ? यी कुराहरूमा गम्भीर भएर समीक्षा गर्नुपर्छ । यो बैठकले त्यो काम गरेन, अब महाधिवेशनका क्रममा समीक्षा गर्नैपर्छ । महाधिवेशनका दस्ताबेजहरू पनि हामी बनाउँदैछौँ । त्यो दस्ताबेज बनाउने सिलसिलामा हाम्रो बिचमा गम्भीर रूपले बहस छलफल हुनेछन् र हामी नयाँ क्रान्तिकारी उचाइमा पुग्नेछौँ ।
 
नेतृत्वको कार्यशैली र कार्यदिशामाथि नै प्रश्न उठेपछि त्यो प्रश्नमा पार्टी बैठकमा छलफल नै नगर्ने प्रवृत्ति ठिक हो र ?
 
हाम्रो केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यले पार्टीको कार्यशैलीमा रहेका त्रुटिहरू, पद्धतिमा रहेका त्रुटिहरू, विधानमै कतिपय समेट्नुपर्ने कुराहरूका साथै नेतृत्व पङ्क्तिले तलका समस्याहरू समाधान गर्नका लागि ध्यान नदिएका पक्षहरूमा समेत कुरा उठाउनुभएको छ । साथै पार्टीको कार्यशैली र कार्यपद्धतिमा व्यापक सुधार गर्नुपर्ने कुरा केन्द्रीय सदस्यहरूले जबरजस्त उठाउनुभएको छ । ती कुरालाई ध्यानमा राखेर कार्यशैली र कार्यपद्धतिमा रहेका कमीहरूलाई हटाउँदै अगाडि बढ्न सक्नैपर्छ ।
 
नेकपा एमालेबाट विद्रोह गर्दा जति नेता कार्यकर्ता थिए, अहिले ती नेता कार्यकर्ता एमालेमा क्रमशः फर्कदैछन् । नेता कार्यकर्ताले यसरी पार्टी छोड्दै जाने हो भने केही वर्षभित्र पार्टीको नाममात्रै रहने देखिन्छ । यसबारेमा नेतृत्वले चिन्ता लिएर ठोस कार्यक्रम ल्याएको देखिएन नि ?
 
यस्ता घटनाहरूलाई कसरी हेर्ने, कसरी विश्लेषण गर्ने ? कुनै पनि जिम्मेवार पार्टीमा स्पष्ट प्रणाली र दृष्टिकोण हुनुपर्छ । तर कतिपय साथीभाइ जसरी पलायन भइरहेका छन्, त्यो पलायन भइरहेका मान्छेहरू फटाहा हुन्, काम नलाग्ने हुन्, यी ओहदा र अवसरका भोगीहरू हुन् भनेर दुत्कार्ने मनोवृत्ति हाम्रो पार्टीभित्र देख्छु । तर त्यो मनोवृत्ति ठिक होइन ।

पार्टीको ढाँचा भारी बनाइएको छ तर राम्ररी परिचालित छैन । यो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले पहिलो पटक आफूले बोल्न पाएकोमा गौरव महसुस गरेका छन् ।

कुनै पनि व्यक्तिको आफ्नो मूल्य हुन्छ र त्यो व्यक्ति पलायन हुँदैछ भने के कारणले हुँदैछ ? उसका पनि कारण पक्कै हुन्छन् । तर पार्टीका कारणचाहिँ के हुन् त ? पार्टीका कारणहरू पहिल्याउने, घटनाहरूबाट शिक्षा लिने र आफूलाई सुधार गर्ने कुरामा लागेमात्रै क्रान्तिकारिता हुन्छ । गाली गरेर जिम्मेवारी निर्वाह गर्न सकिँदैन ।
 
भएका नेता कार्यकर्तालाई नै जिम्मेवारी दिन नसक्नु, भ्रातृ संगठनमा किचलो चर्कँदै जानुले त नेतृत्व पूर्णतः असफल भयो भनेर बुझ्दा गलत होला ?
 
यो कुरामा नेतृत्व आफैँले महसुस गर्नुपर्ने हो । आफैँले देख्ने कुरा हो । पार्टीको ढाँचा भारी बनाइएको छ तर राम्ररी परिचालित छैन । यो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले पहिलो पटक आफूले बोल्न पाएकोमा गौरव महसुस गरेका छन् । दुई वर्षपछि बल्ल हामी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न दिने अवस्थामा आइपुगेछौँ भनेपछि पार्टीको विधि पद्धति कसरी चल्दै आएको छ भन्ने त्यसले पनि सूचना दिन्छ । यसकारण पनि हामीले राम्रो समीक्षा गरेर कमी कमजोरी हटाएर अगाडि बढ्न सक्नुपर्छ ।
 
तपाईँहरूले पार्टी गठन गरेको दुई वर्षमात्र भयो । एमालेसँगका भिन्नता पनि अध्यक्षको प्रतिवेदनमा देखियो । एकातिर एमालेसँग भिन्नता देखाउन खोज्ने अनि अर्कोतिर एमालेकै लिगेसी बोकेर दशौँ महाधिवेशन गर्ने निर्णय आफैँमा विरोधाभास भएन ?
 
हामीले नवौँ महाधिवेशन एकै ठाउँमा गरेका हौँ । त्यसकारण अब हामीले गर्ने महाधिवेशन भनेको दशौँ नै हुन्छ भन्ने तार्किक निष्कर्ष हो । यसमा धेरै ठुलो अन्यथा लिनुपर्ने केही पनि छैन । खाली पार्टी निर्माण र विस्तार गर्ने, अन्य कम्युनिस्ट पार्टीलाई पनि एकीकृत गर्दै लाने र समृद्ध पार्टी बनाउने दिशामा हामी अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ भन्ने मुख्य कुरा हो ।

स्वाभाविक रूपले विचारहरूमा रूपान्तरण हुँदा संगठनात्मक रूपान्तरण पनि हुन्छ ।

 
तपाईं पार्टीमा सधैँ फरक मत राख्दै आउनुभएको छ । अब दशौँ महाधिवेशनमा पनि फरक मत नै राखेर चित्त बुझाउने हो या नेतृत्व सम्हाल्ने योजना हो ?
 
दशौँ महाधिवेशनमा हाम्रो पार्टीलाई वैचारिक, सैद्धान्तिक राजनीतिक, संगठनात्मक र कार्यशैलीगत यी सबै कुरामा व्यापक रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । यी विषयमा रूपान्तरण गर्न सकिएन भने पार्टी चल्छ कि चल्दैन भन्ने प्रश्न अहिले पनि छँदैछ । त्यसैले पार्टीको सम्पूर्ण पक्षमा रूपान्तरण हुन्छ ।
 
त्यसो भए नेतृत्व परिवर्तन हुन्छ ?
 
स्वाभाविक रूपले विचारहरूमा रूपान्तरण हुँदा संगठनात्मक रूपान्तरण पनि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप