सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
निबन्ध–संस्मरण

नयाँघरेसँगको यात्रा : बग्रेल्ती सम्झना

शनिबार, ०९ भदौ २०८०, १२ : ३७
शनिबार, ०९ भदौ २०८०

पुराना दिन सम्झिनु र पुरानो प्रिय साथी भेटिँदाको खुसी बेग्लै आनन्दको हुन्छ । पुराना विगतका दिनहरूमा बल्झिएर र त्यसबाट बौरिएर वर्तमानमा झल्याँस्स याद आउँछन् नबिर्सिएका कति मीठा–मीठा बग्रेल्ती सम्झनाहरू । सम्झिनेसम्म फुर्सद नपाएको विगतलाई सम्झिनु भनेको खुसीको अर्को प्राप्ति हो । 

दुःखकै किन नहोस् आफूले बिताएर आएको विगत दिन र पुराना क्षण मीठो हुन्छ । सम्झिँदा रमाइलो लाग्छ । सम्झिएर तिनै दिनहरूमा एकछिन भए पनि हराउन, लहराउन पाइन्छ । बगे्रल्ती सम्झनाहरूले भरिएका नबिर्सिएका ती दिनहरू यादहरूमा आइरहन्छन् । 

लाग्छ, पुराना कुरा जे पनि राम्रा हुन्छन् । खानेकुराकै कुरा गरौँ न, पहिलेका कति अग्र्यानिक, कति ताजा र स्वादिष्ट हुन्थे । खानेकुरा त्यत्तिकै तागतिलो हुन्थ्यो । घरभित्र पकाउँदा पर–पर छरछिमेकसम्म मगमग मीठो वासना फैलिन्थ्यो । 

पहिलेका जुनसुकै सामानहरू पनि उत्तिकै बलिया हुन्थे । नक्कली, कमसल वा टिकाउ नहुने भन्ने नै हुँदैनथ्यो । अहिले त साथी पनि नक्कली, खानेकुरा र सरसामानहरू पनि त्यस्तै । यसो भएपछि विश्वास पनि कमै हुन्छ ।

नेपाली साहित्यमा निबन्ध र नियात्रा लेखकको अलग्ग पहिचानले स्थापित युवराज नयाँघरे ! हामी भेटिँदा मेरो आँखामा पुराना दिनहरू ताजै बनेर आइरहे । घुमेका, भेटिएका, देखिएका र भोगिएका सुखद, दुःखद अनुभवहरू मनमा ओहोर–दोहोर भइरहे । बिर्सिदै गइरहेका सम्झनाहरू पुनः सम्झनामा आए ।

आज हामी भेटिएर घुमघामका संस्मरण गर्दा रमाइलो महसुस भयो । मेरो साथी नयाँघरेले पुरस्कार र सम्मानको चाङहरूमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ समेत (‘एक हातको ताली’ निबन्ध कृतिका लागि) पाउन सफल भइसकेका छन् । 

वि.सं. २०४८ सालताका भेटिएका, चिनिएका हामी । हामीले तत्पश्चातका दिनहरूमा अनेकौँ उकाली र ओराली हिँडेका छौँ । आज त गाडी जताततै पुगिसक्यो । त्यो बेला हिँड्ने बाटोको नै सुविधा थिएन ।

पहाड चढेर उसिनेको आलुसँग रात कटाएका छौँ । दिनभरिको हिँडाइले थाकेर लखतरान हुँदा खुल्ला आकाशमुनि पनि मस्तले निदाउँथ्यौँ हामी । तराई डुल्दा भक्का खाएर दिन बिताएका, रातभरि मच्छरले टोकेर सुत्नै नसकेका अधकल्चो रातहरू पनि बिते कति–कति । होटलमा बास नपाउँदा कृषि विकास बैंकमा ‘हामी बैंकका कर्मचारी’ भनी शरण लिन पुगेका सम्झनाहरू पनि । परिस्थितिअनुसार झुटो बोलीले पनि गजबको काम गर्दो रहेछ । कतिपय रमाइला र कति चाहिँ बिर्सनै नसकिने सम्झनाहरू बग्रेल्ती छन् ।

निक्कै अघि नयाँघरेको पुरानो घर दमकमा एक रात बसेको झिनो सम्झना छ । तर, सम्झेर हेर्दा निकै यादगार छन् ती दिनहरू पनि । भोलिपल्ट राति नै काँकडभिट्टा हुँदै सिलगुढी गुडेका थियौँ ।

सिलगुढीमा केही नेपालीभाषी साहित्यकारहरू जस्तो कवि ज्ञानेन्द्र खतिवडालाई भेटेर साहित्यको जानकारी बटुलेका हामीले । उनैले अरु स्थानीय कविहरूसँग भेटाएका थिए । त्यहाँबाट पहिलोचोटि रेल चढेर पहाडकी रानी दार्जिलिङ जाँदाका रमणीय प्राकृतिक दृश्यहरू अझै पनि आँखामा झलझली आउँछन् । रङ्गीचङ्गी फूलहरूले घर सजिसजाऊ देखिन्थे । हेरेर नथाक्ने आँखा हाम्रा । हामी अर्कै आनन्दको कल्पनालोकतिर प्रस्थान गर्दैछौँ जस्तो महसुस हुन्थ्यो ।

दार्जिलिङमा प्रथम पाइला टेक्दाका खुसीहरू हाम्रा आँखा छचल्किएका थिए । दिनभरि चियाबगान घुमेर रमाएका क्षण । साहित्यकारसँग भेट्दाको खुसीका पल । त्यस्तै, प्रवासमा नेपाली भाषा र साहित्यप्रतिको अगाध माया देखेर नतमस्तक भएका हामी ।

आहा, ती दिनका अविस्मरणीय हाम्रो यात्रा । लाग्थ्यो, यस्तै यात्रा नै जिन्दगी हो । यसरी घुमिरहनु नै जिन्दगी हो । घुम्नु, भेट्नु, खानु, पिउनु मात्र होइन, ज्ञान बटुल्नुको बेग्लै उपलब्धि थियो । कहाँ र कतासम्म पुगिएन र ! कसलाई मात्र भेटिएन होला र ! यायावरी विगतका नमीठा घटना र घाउहरू पनि अहिले सम्झिदा आफैँलाई अनौठो पनि लाग्ने रहेछ । आफैँलाई विश्वास पनि नहुँदो रहेछ ।

जस्तो कि भोकै हिँड्दा पनि हाँसेका दिन । उकालोमा पाइला सार्न हम्मेहैरानी भएका ती दिन । गर्मीले हिरिक्क हुँदा मस्र्याङ्दीमा चोबलिएर शीतल महसुस गर्न पाएको । नयाँ सम्बन्ध स्थापनाको अर्को अध्याय । अनि हामी नयाँपुस्ताले पुराना पुस्तासँग परिचयको साइनो गाँसेको दिन । ती दिनको सुखद पक्ष साह्रै सुन्दर थियो । त्यो बेला, त्यो उमेरमा हामी दुवै ‘फुक्का–फकिर’ जो थियौँ । जता जान पनि, जे गर्न पनि स्वतन्त्र । कसैको बन्धन थिएन । कुनै जिम्मेवारी पनि केही नभएका हामी । चरा जस्तै चञ्चल, चुलबुल यताउता गरिरहनुपर्ने स्वाभाव थियो । 

त्यहाँदेखि, त्यतिबेलादेखि आजसम्म हामीले घुमघामकै धड्कनलाई धान्दै आ–आफ्नो लेखकीय भूमिका बनाएका छौँ । बनाउँदैछौँ रमाउँदै निरन्तर लेखनमै । यो विधा जोश र जाँगरको होइन । कुनै प्रतिफलमुखीको कर्म होइन । आफूले आफैँलाई उत्साहित पार्दै आफ्नो लेखनकर्ममा मग्न रहनु अरुचि र रुखो विधा । तै पनि यसमै हामी आनन्दित र यसैमा भुलिन पाउनुको सन्तुष्टि बेग्लै । हुन त उनले राष्ट्रिय, क्षेत्रीय प्रमुख पुरस्कार र सम्मान पाइसकेका छन् । म विवश विचरा नपाएर ईष्र्यालु बनेको छैन । बरु साथीको प्रगतिमा खुसीले बधाई दिएको छु ।

दार्जिलिङ पुग्दा चियाबगान घुमेर नअघाएका दिनहरू । दिनभरि घुम्दा पनि घुमेर नसकिएका बगानहरू । अनि बगानमा चियाका मुना टिप्ने कामदारहरूको विलौनाका बेग्लै पाटो । पीडालाई मनभित्र लुकाएर । देखिने आँसुलाई पछ्यौरीले छोपेर । अनुहारमा हल्का मुस्कान पोतेर । पीडा मिसिएको गीत गुन्गुनाउँदै चियाका पत्ता टिपेर दिन बिताउनेहरू । ज्याला, मजदुरीले दैनिक घरपरिवार चलाउने विचरा बगानका कामदारहरू ।

हामीले दार्जिलिङमा साहित्यकार अधिकांशलाई भेटेका छौँ ।  कथाकार शिवकुमार राई, भोटु प्रधान, लख्खीदेवी सुन्दास, कमला सांकृत्यायन, डा. जगत क्षेत्री, ईन्द्रबहादुर राई, डा रामलाल अधिकारीलगायत धेरैसँग अन्तरङ्ग वार्ता गरेका छौँ । ईन्द्रबहादुर राईसँग गफिँदा समय बितेको पत्तै भएन । बसपार्क छेउमै थियो उहाँको निवास । त्यसैले केही समयको सदुपयोग गर्न हामी उहाँको निवासमा पसेका थियौँ । 

हाम्रो बस छुटेको सन्दर्भमाथि त्यो बेला राईले भन्नुभएको कुरा अझै सम्झनामा छन् । ‘कुन बस कहिले जान्छन् र आउँछन् ? बुझेर पनि सम्भव हुँदैन हामीलाई । फेरि नबुझिरहँदा पनि यसरी दुःख चाहिँ पाइदो रहेछ भन्ने चेत त भयो । फेरि कहाँ सम्झिरहिन्छ र !’

मिरिक जान काटेको टिकटको बस पाँच मिनेट ढिला पुग्दा गइसकेको थियो । बस छुट्दा हामी कम हैरान भएका थिएनौँ । फेरि अर्को बसको पालो कुर्न हामीले एक घण्टाको समय त्यसै बिताउनु परेको थियो ।

दार्जिलिङमा चित्रकारहरू प्रेम केसी, वीरेन्द्र सुब्बाहरूका भेटवार्ता र मिरिकका कलाकार तथा कवि सिद्धार्थ राईलाई झन नजिकबाट सम्झिरहेछु । मिरिकको झिलमा सयर गरेको । घोडामा डराउँदै झिल परिक्रमा गरेको । माथि कटेज घुमेको । तल सौरनीको चियाबगानमा डुलेको ।

‘हैन, कोई बेला त किताब, कलम छोडेर म पनि फुत्त निस्किन्छु नि यसरी । यसो चौरास्तामा अरु केही नगरे नि धुम्धम्ती बस्न मन पर्छ । तर त्यसरी बस्दा म आफैँभित्र पस्छु र आफैँलाई खोताल खातल पार्छु ।’ ईन्द्रबहादुर राईले हामीलाई भन्नु भएको सम्झना पनि पुरानै हो । प्रायः घरबाट बाहिर ननिस्किने उहाँलाई एक साँझ चौरास्तामा चुपचाप टोलाइ बसेको भेटेका हामीले । उहाँलाई त्यहाँ भेट्नु उपलब्धिमूलक भयो । आदिकविबारे उहाँले नै जानकारी दिनुभयो ।

दार्जिलिङको चौरस्ता चोकमा नौ फिट अग्लो आदिकवि भानुको भव्य सालिक राखिएको छ । परदेशमा घरदेशका कविको यति ठूलो सालिक र सम्मानको उचाइ देखेर हामी गर्वले त्यो बेला खूब रमाएका थियौं । हामी नेपालबाट आएको भन्दा उनीहरू महाकवि र आदिको देशबाट पशुपतिनाथको देशबाट भनी हामीप्रति हार्दिक श्रद्धाको भाव राख्थे । नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा प्रतिस्थापित सो सालिकलाई पश्चिम बङ्गालस्थित कृष्णनगरका चर्चित मूर्तिकार मृगाङ्क पालले बनाएका हुन् ।

यसअघि यही ठाउँमा भानुको अर्धकदको सालिक थियो । त्यसलाई पश्चिम बङ्गालका तत्कालीन मुख्यमन्त्री डा. कैलाशनाथ काटजुको सहयोगमा १७ जुन १९४९ मा स्थापना गरिएको थियो । सो सालिक सन्तपल स्कुलका ई.एफ. थमसनले निर्माण गरेका थिए ।

ओरालो झर्दै, सोध्दै हामी साहित्यकार डा. जगत क्षेत्रीको निवास पुग्यौँ । कुराकानी भए । क्षेत्री सर भटाभट, फटाफट बोलिरहनु भएको थियो । हामी उहाँले बोलेको टिप्दै, सोद्धै गरिरहेका थियौँ । उहाँले फलफूल काट्दै प्लेटमा राख्दै हामीलाई कपाकप खुवाउनु भयो । 

आहा त्यो स्वाद, त्यो क्षण अमृत समानको । बग्रेल्ती सम्झनामध्ये नबिर्सिएको यो याद कति मीठो । क्षेत्री बितेको पनि निकै साल भयो । अर्का समालोचक डा. रामलाल अधिकारीले चौरास्तामा हामीलाई मःम खुवाउनुभएको अर्को मीठो सम्झना छ । 

‘नेपालतिर स्कुसलाई हेला गरिन्छ । तर हाम्रोमा यो सब्जी नभए भान्सै चल्दैन ।’ अधिकारी सरले स्कुसको मःम चखाउँदै भन्नु भएथ्यो । उहाँले त्यही भेटमा दार्जिलिङका अन्य कवि, लेखकका ठेगाना र घरठेगाना पनि चौरास्ताबाटै औँल्याउनुभयो, ‘त्यहाँ पुगेर फलानाको घर कुन हो भन्नुस् । तपाईहरूलाई सजिलै देखाइदिन्छन् ।’

खर्साङमा पुग्दा दुई कुरा भेट्न आतुर हामी । पहिलो खर्साङ रेडियो, जहाँबाट नेपाली भाषामा प्रसारित कार्यक्रमले आकर्षित पारेका हुन्थे । नेपाली गाउँघर रेडियो खर्साङ खुब सुन्थे । दोस्रो कथाकार शिवकुमार राईसँग भेट्ने मन । आखिर यी दुवै इच्छा पूरा ग¥यौँ हामीले ।

भेटिँदा उहाँले धेरै फोटोहरू देखाउनुभयो । तिनको सन्दर्भ बताउँदै समय लामै बित्यो । नेपाली पोशाकमा सजिएको फोटोहरू आउँदा उहाँले यो भानुजयन्तीको, यो देवकोटा जयन्तीको फोटो भन्दै जानुहुन्थ्यो । कुनै तस्बिरको कोट देखाउँदै ‘यो कोट नेपाल जाँदा उतै सिलाएको’ भन्नुहुन्थ्यो ।

कथाकार शिवकुमार राईले भन्नुभएथ्यो– ‘नेपालमा म धेरै गइनँ । जाँदा भेटघाटसँगै चिटिक्कको एक जोर दौरासुरुवाल सिलाउने मेरो पहिलो काम हुन्थ्यो ।’

शिवकुमार राईको प्रसिद्ध उपन्यास ‘डाक बङ्गला’ को पृष्ठभूमि पहिलेको बर्मा अहिलेको म्यानमारसँग सम्बन्धित छ, जतिबेला दोस्रो विश्वयुद्ध प्रारम्भ भएको थियो । युद्धको बेला बर्माबाट हाम्रै नेपाली दाजुभाइ जापानी सेनाबाट जोगिन शरणार्थी भई भारत पसेका थिए । त्यसबेला भारतका विभिन्न ठाउँमा शरणार्थी शिविर खोलिएको थियो ।

यसै क्रममा खर्साङ्गमा पनि ‘बर्मा रिलिफ क्याम्प’ खोलिएको थियो । हामीलाई यसबारे खासै चासो थिएन । तर, आफूले यो कुरा उक्त उपन्यासको भूमिकामा समेत उल्लेख गरेको बताउँदै शिवकुमार राईले शरणार्थीहरूलाई सहयोग गरेको तथा उनीहरूसँगको हिमचिम गर्ने अवसरबाटै ‘डाक बङ्गला’ उपन्यास लेख्न सकेको जानकारी दिनुभयो । तर, हामीलाई उहाँका यी कुरामा त्यत्ति चासो भइरहेको थिएन ।

नेपाली पोशाकमा ठाँट्टिएको एक प्रवासी प्रखर नेपालीभाषी लेखकको फोटो हामीले लिनु थियो । उहाँले देखाएमध्ये हामीले उहाँको यौटा राम्रो फोटो माग्यौँ । तर, उहाँले ‘मेरो फोटो दिएपछि मसँग रहँदैन नि बाबु हो ! आफ्नो फोटो अरुलाई दिनु हुँदैन र फोटो पनि धेरै खिच्नु हुँदैन,’ भन्दै दिँदै दिनु भएन । तर, उहाँ आँखा राम्रोसँग नदेख्ने हुँदा त्यही मौकामा उहाँको एउटा फोटो हामीले सुटुक्क लिएका थियौँ ।

त्यसैगरी, अर्को दिन स्थानीय कवि चन्द्र तामाङसँग एकाबिहानै बाघपहाड (टाइगर हिल) बाट सूर्याेदयको दृश्य हेर्न आँखा मिच्दै हिँडियो । उकालोमाथि देवीथानमा पुग्दा ती कवि पूजापाठमा ध्यानस्थ भए । बनदेवीको थान वरपर चुरा, धागो, रातो कपडा, फूलमाला, त्रिशूल आदि चढाइएका थिए । अधिकांश सामग्री महिलाहरूले आफ्नो भाकलका लागि चढाउने चलन रहेछ । केही छिनपछि भक्कानिएर कवि मित्र रुँदा आत्तिएर त्यो बिरानो ठाउँमा हाम्रो सात्तो गएको थियो । उनी देवीप्रति एकोहोरिएर बढी भावुक बनेछन् ।

दार्जिलिङस्थित साहित्य सम्मेलन भवनमा सहुलियत शुल्कमा बस्नुको अर्कै मजा । त्यहाँ पनि पुराना दिन फर्किएर हेर्न पाइन्थ्यो । को, को कहाँबाट कहिले आएर बसेछन् ? र तिनले के, के अनुभव लेखेका रहेछन् ? अतिथिहरूले भर्ने आगन्तुक पुस्तिका हेरेपछि सबै थाहा हुन्थ्यो पहिलेका कुरा ।

सम्मेलन भवनको बसाइँ रमाइलो हुँदाहुँदै त्यहाँबाट हामी अर्का शुभचिन्तककहाँ पाहुना बस्न पुगेका थियौँ । हाम्रा शुभचिन्तक चिडियाखानामा काम गर्थे । उनलाई ‘जुकिपर’ भनी धेरैले चिन्थे । उनीकहाँ पाहुना बस्दा र तिनका परिवारको आतिथ्य कति आत्मीय थियो । अनि बिहानै ‘स्कुस’, बेलुकै ‘स्कुस’ । कति ‘स्कुस’ ? कति लोकप्रिय ‘स्कुस’ । तरकारी, अचार, दाल स्कुसकै । खाजामा पनि स्कुसकै उपस्थिति ।

तिनै जुकिपर दाइले हामीलाई बगानका बोटबुट्यान सबै डुलाए । पारिजातको जन्मघर, प्रकाश कोविदको घर पु¥याए । तेन्जिङ रक घुमाए । चिडियाघर त उनैको कर्मथलो भइगयो । खूब घुमियो । घुम्नुको मज्जा लुटियो । दिनभरिको हिँडाइले होला थाकेर राति मस्तले निदाइयो ।

स्कुसको मःम त दार्जिलिङमा झन् लोकप्रिय । एउटै स्कुसमा परिकारको विविधतासँगै स्वाद–संयोजन पनि एकरुपता नहुँदो रहेछ । वास्तवमा ‘स्कुस’ नभए त भान्सा नै नचल्ने जस्तो । ‘स्कुस’ भएर भान्सा चलायमान । बोटबुट्यान, झोरझाडी, कान्ला, थाङ्ग्रा सर्वत्र स्कुसका लहरा । तिनै लहरामा तार्लाङ तुर्लुङ स्कुस फलिरहेका । एक प्रकारले स्कुसमय लाग्थ्यो दार्जिलिङ यात्राका ती दिनहरू ।

पोलेर खाँदा फरक स्वाद । उसिनेर खाए अर्कै स्वाद । फ्राइ गरेर खाएको फेरि अलग्ग स्वाद । ‘स्कुस’ को तरकारी, ‘स्कुस’ कै मःम, ‘स्कुस’ कै अचार, ‘स्कुस’कै अन्य नानाथरि परिकार खाँदा ‘स्कुस’सँग हामी अघाउँजी नै भएका थियौँ ।

यस्ता बग्रेल्ती सम्झनाहरू कति छन्, कति ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप