आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा छोटे राजाहरुको शासन छ : प्रभु साह

सोमबार, ११ भदौ २०८०, १४ : २२
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको भन्दै छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले के नेपालमा लोकतन्त्र छ र जनता साँच्चिकै शासक भइसके भनेर प्रश्न समेत गरे । 

‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ’, साहले भने, ‘तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’

देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको भन्दै पूर्वमन्त्री समेत रहेका साहले केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको बताए । दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेकाले यो शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने बताए । 

प्रतिनिधि सभाको १० वटा समितिमा भइरहेको चुनावमा सत्तापक्ष र प्रतिपक्ष नै नचिनिएको भन्दै उनले दलीय भागवण्डामा सभापति बाँडेर चुनावको नौटंकी देखाइरहेको बताए ।

साहले ठुला नेता मिलेर देश लुट्ने काम गरेको भन्दै ललिता निवासको छानबिनमा लगौटी लगाइएको बताए । त्यस्तै उनले सुन काण्डमा पनि ठुला पार्टीका नेता तानिएपछि जनताको दिमाग डाइभर्ट गर्न धरान काण्ड चलाइएको बताए । 

साहले गौर हत्याकाण्डको छानबिन गर्दा कुर्सी हल्लिने भएकाले लटरपटर गरेर सरकारले नै कानुनी शासनको खिल्ली उडाएको आरोप लगाए । उनले गौर हत्याकाण्डमा पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप