बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कपबारे दीपेन्द्र भन्छन्– फरक भूमिकामा सपना साकार हुँदैछ

सोमबार, ११ भदौ २०८०

काठमाडौँ । आजभन्दा २१ वर्षअघि अर्थात, सन् २००२ को कुरा हो । नेपाली क्रिकेट टोली सिंगापुरमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफी यात्रामा निस्किएको थियो । विश्व क्रिकेटमा उदाउँदै गरेका नेपालसहित १० वटा राष्ट्रले त्यो प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको थियो ।

नेपाली टोली निकै ठूलो सपना बोकेर त्यो प्रतियोगितामा सहभागी भएको थियो । किनभने जुलाई १० देखि २१ तारिखसम्म आयोजना हुने एसीसी ट्रफीको फाइनलमा पुग्न सके नेपालले सोही वर्ष आयोजना हुने एसिया कपजस्तो महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने थियो ।

त्यसैले नेपाली टोलीका लागि त्यो निकै ठूलो अवसर थियो । त्यो अवसरको सदूपयोग गर्नसके नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय खेलवृत्तमा नयाँ इतिहास कोर्ने सम्भावना थियो । त्यसैले नेपाली खेलाडीले पनि प्रतियोगिताका लागि गतिलो तयारी गरेका थिए ।

अन्ततः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै समूहगत चरणको खेलमा ओमान, कतार र कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो । त्यसपछि नेपालले सेमिफाइनलमा मलेसियालाई २५ रनले हरायो । यो त्यही ऐतिहासिक जित थियो, जसबाट नेपाली टोली पहिलो पटक एसिया कपका लागि छनोट भएको थियो ।

dipendra chaudhary (1)

नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको केवल ६ वर्षपछि त्यतिबेला एसिया कप खेल्ने अवसर प्राप्त गरेको थियो । नेपालले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो ।

त्यस अर्थमा नेपाली खेलाडीले त्यतिबेला एसीसी ट्रफीको फाइनलमा पुगेर निकै ठूलो उपलब्धि हासिल गरेका थिए । त्यसैले फाइनलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भए पनि त्यसले नेपाली खेलाडी र क्रिकेटप्रेमीको खुसीमा कुनै कमी ल्याएन ।

एसीसी ट्रफीको फाइनलमा पुगेर एसिया कपमा छनोट भएपछि अब नेपाली खेलाडीले सचिन तेन्दुल्कर, सौरभ गांगुली, राहुल द्रविड, वीरेन्द्र सेहगाव, युवराज सिंहजस्ता भारतीय खेलाडी, सनथ जयसूर्या, माहेला जयाबर्द्धने, मार्भन आटापाटु, कुमार सांगाकारा, मुथैया मुरलीथरनजस्ता विश्व क्रिकेटमा चर्चित श्रीलंकाली खेलाडी अनि इन्जमाम उल हक, सोएब अख्तर, युसुफ योहाना, युनिस खानजस्ता पाकिस्तानी हस्तीसँग क्रिकेट खेल्ने सपना सजाएका थिए ।

हो, त्यही ऐतिहासिक टोलीका महत्त्वपूर्ण सदस्य थिए दीपेन्द्र चौधरी पनि । टोलीका अन्य खेलाडीसँगै दीपेन्द्रले पनि विश्व क्रिकेटका आफ्ना आदर्श खेलाडीहरुसँग क्रिकेट खेल्ने सपना पालेका थिए । देशलाई अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ उचाइमा पुर्‍याउने योजना बुनेका थिए । तर दीपेन्द्र र त्यतिबेला टोलीमा रहेका अन्य खेलाडीको जीवनमा त्यो ऐतिहासिक दिन कहिल्यै आएन । ती सबै सपना, योजना र तयारी क्षणभरमा भताभुङ्ग हुन पुग्यो ।

खासमा दक्षिण एसियाका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिचको सम्बन्ध त्यतिबेला निकै तनावपूर्ण थियो । निकै लामो समयदेखि सुरु भएको कारगिल युद्धका कारण भारत र पाकिस्तानबिच लगातार तनाव बढिरहेको थियो । अन्त्यमा त्यसैको कालो छायाँ एसिया कपमा पर्‍यो र नेपालले पनि खेल्ने भनिएको एसिया कपको त्यो संस्करण नै रद्द हुन पुग्यो ।

त्यतिबेला एसिया कप खेल्ने २२ सदस्यीय नेपाली टोलीमा दीपेन्द्र चौधरीसँगै राजु खड्का, विनोद दास, शक्ति गौचन, बरदान चालिसे, यशवन्त सुवेदी, सन्जम रेग्मी, मनोज कटुवाल, मन्जित श्रेष्ठ, लाक्पा लामा, दिपेश खत्री, मेहबुब आलम, राजकुमार प्रधान, पारस लुनिया, परेश लोहनी, जयप्रकाश सर्राफ, अरुण थापा, विनय त्रिपाठी, राजु बस्न्यात, किमोन ओझा, रितेश भुर्तेल र वसन्त रेग्मी थिए ।

अधुरै रह्यो औपचारिक सन्न्यासको योजना

नेपाली खेलकुदका लागि नयाँ नाम होइन दीपेन्द्र चौधरी । उनले लामो समय देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । नेपाली टोलीको थुप्रै अन्तर्राष्ट्रिय सफलतामा उनले महत्त्वपूर्ण योगदान पनि पुर्‍याए । त्यसैको उदाहरणमध्ये एक हो माथि उल्लेख गरिएको सन् २००२ को एसीसी ट्रफी ।

एउटा खेलाडीका रुपमा उनले भारत, पाकिस्तान, श्रीलंकाजस्ता राष्ट्रसँग एसिया कप खेल्ने सपना पूरा गर्न सकेनन् । त्यसपछि सन् २०१६ देखि उनी विस्तारै खेलाडीको भूमिकाबाट टाढिँदै गए । उनको खेल जीवनमा एउटा रमाइलो संयोग जोडिएको छ ।

खासगरी देशका लागि लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीले औपचारिक रुपमा सन्न्यास घोषणा गर्ने परम्परा छ । सन्न्यास लिने खेलाडीको बिदाइका लागि उनका सहकर्मी र सम्बन्धित खेल संघले विशेष अवसर जुराउँछन् । तर, दीपेन्द्रले भने त्यो क्षणको अनुभव नै गर्न पाएनन् । 

दीपेन्द्र खेलाडीको भूमिकामै सक्रिय थिए । सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विभिन्न कारण देखाउँदै नेपाली क्रिकेटलाई आफ्नो सदस्यताबाट निलम्बन गर्‍यो । खासमा आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको त्यो एक प्रकारको प्रतिबन्ध नै थियो ।

सोही कारण नेपाली क्रिकेटको विकासको गति पनि केही समयका लागि अवरुद्ध हुन पुग्यो । यस्तै असहज परिस्थितिबिच खेलाडीहरु पनि कतिपय अवसरबाट बञ्चित हुन पुगे । दीपेन्द्रको औपचारिक सन्न्यासको योजना पनि त्यही असहज परिस्थितिमा अल्झिन पुग्यो । यस अर्थमा उनले कहिल्यै सक्रिय खेलजीवनबाट सन्न्यास लिएको औपचारिक घोषणा गरेनन् ।

आखिर कहिलेदेखि खेलाडीको भूमिकाबाट बिदा लिइयो त ? प्रश्न भुइँमा खस्न नपाउँदै उनी मजाले हाँसे । ‘एक पटकको खेलाडी सधैँको खेलाडी । मैले अझै पनि खेलाडीको भूमिकाबाट सन्न्यास लिएको छैन । मेरो खेलजीवनमा त्यो क्षण नै आएन,’ उनी भन्छन् ।

dipendra chaudhary (2)

फरक भूमिकाबाट सपना पूरा गर्ने प्रयास

सन् २००२ को एसीसी ट्रफीमा उपविजेता बनेर एसिया कपका लागि छनोट भए पनि उनले त्यो महत्त्वपूर्ण प्रतियोगिता खेल्ने अवसर पाएनन् । तर, यतिबेला उनी फरक भूमिकामा रहेर आफ्नो त्यो सपना पूरा गर्ने सँघारमा छन् ।

यसै वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल फेरि एसिया कपमा छनोट भएको छ । एसिया कपको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ ।

एसिया कपको उद्घाटन खेलमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । अस्ट्रेलियालाई पछि पार्दै आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको पाकिस्तानविरुद्घ एसिया कपको उद्घाटन खेल खेल्न नेपाली टोली अन्तिम तयारीमा ब्यस्त छ ।

अनि लाखौं क्रिकेटप्रेमीसँगै आफ्ना खेलाडीले एसिया कप खेलेको हेर्ने ब्यग्र प्रतीक्षामा छन् दीपेन्द्र पनि । ‘हामीले २१ वर्षअघि नै यो अवसर पाएका थियौं । तर, दूर्भाग्यवस त्यतिबेला खेलाडीको रुपमा हाम्रो त्यो सपना पूरा हुन सकेन,’ दीपेन्द्र भन्छन्, ‘अहिले फरक भूमिकामा रहेर हाम्रा खेलाडीले एसिया कप खेलेको हेर्ने ब्यग्र प्रतिक्षामा छु ।’

खासमा हिजोका अन्तर्राष्ट्रिय खेलाडी दीपेन्द्र अहिले राष्ट्रिय टोली छनोट समितिका संयोजकको भूमिकामा सक्रिय छन् । नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघले उनलाई २०७८ साल माघमा उक्त जिम्मेबारी दिएको हो ।

अहिले दीपेन्द्र नेतृत्वकै छनोट समितिले चयन गरेको राष्ट्रिय टोलीले एसिया कप खेल्न लागेको हो । त्यसैले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले हासिल गर्ने हरेक सफलता वा असफलतालाई उनले आफ्नो सफलता वा असफलतासँग पनि जोडेर हेर्ने गरेका छन् ।

‘एसिया कप नेपाली क्रिकेटका लागि निकै ठूलो अवसर हो । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय दायरालाई फराकिलो बनाउन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । यस्तो ठूलो प्रतियोगिताले हाम्रा खेलाडीको सिप तिखार्न पनि मद्दत गर्छ । प्रतियोगितामा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौं,’ दीपेन्द्र भन्छन् ।

367436787_695783815911335_7450198572915757190_n

एसिया कपमा सबैभन्दा युवा टोली

एसिया कपका लागि टोली छनोट गर्दा खासै समस्या नभएको उनी बताउँछन् । एसीसीको नीतिका कारण टोली छनोटमा थप सहज भएको उनको बुझाइ छ । यसपटक एसिया कपका लागि एसीसीले १७ जना खेलाडी टोलीमा समावेश गर्ने छुट दिएको थियो ।

‘टोली छनोट भनेको लामो समयदेखि चल्ने प्रक्रिया हो । त्यसैले यसमा खासै समस्या हुँदैन । एसिया कपका लागि पनि करिब ६ महिनादेखि हामी स्पष्ट योजना बनाएर अगाडि बढेका थियौं । यसपटक एसीसीले हामीलाई १७ जनाको टोली घोषणा गर्ने छुट दियो । यसले पनि हामीलाई थप फाइदा पुग्यो,’ दीपेन्द्र भन्छन् ।

एसीसीको सोही नीतिका कारण किशोर महतो र युवा स्पिनर श्याम ढकाललाई टोलीमा समावेश गर्न सकिएको उनी बताउँछन् । दीपेन्द्रका अनुसार, एसिया कपका लागि घोषणा गरिएको टोली निकै सन्तुलित छ । टोलीमा युवा खेलाडीको बाहुल्य छ ।

‘यस पटकको एसिया कपमा हाम्रो टोली सबैभन्दा युवा टोली हो । युवासँगै टोलीमा अनुभवी खेलाडी पनि छन् । अधिकांश खेलाडीसँग राष्ट्रिय टोलीबाट ६—७ वर्ष खेलेको अनुभव छ । हाम्रो टोलीमा ५० वटा एकदिवसीय प्रतियोगिता खेलेका खेलाडी पनि छन् । एसोसिएट राष्ट्रमा ५० वटा एकदिवसीय खेल्नु भनेको महत्त्वपूर्ण पक्ष हो । समग्रमा हाम्रो टोलीमा युवा र अनुभवी खेलाडीको गतिलो समिश्रण छ,’ उनी भन्छन् ।

निरन्तर प्रतियोगिता खेल्ने अवसर, राम्रो तयारी

नेपालका लागि एसिया कप निकै ठूलो प्रतियोगिता भएकाले त्यसको तयारी पनि सोही अनुरुप गरिएको दीपेन्द्र बताउँछन् । पछिल्लो समय निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर पाएकाले पनि एसिया कपको तयारीमा मद्दत पुगेको उनको दाबी छ ।

‘प्रतियोगितका लागि हाम्रो तयारी निकै राम्रो छ । खासगरी यसपटक ब्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरले पनि हाम्रो तयारीमा सहयोग पुर्‍याएको छ । आफूभन्दा बलिया टोलीसँग निरन्तर प्रतियोगिता खेल्ने अवसर पाउँदा त्यसले खेलाडीको प्रदर्शनमा सुधार आएको छ,’ उनी भन्छन् ।

पछिल्लो समय नेपालले घरेलु मैदानमा एसीसी प्रिमियर कप खेलेको थियो । यो त्यही प्रतियोगिताको हो जसमा च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो । नेपाली खेलाडीले आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता खेल्ने अवसर पनि पाए ।

जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगितामा नेपालले वेस्ट इन्डिज, जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्डजस्ता बलिया टोलीसँग भिडन्त गर्ने अवसर पाएको थियो । यसका अतिरिक्त नेपालले श्रीलंकामा एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्यो ।

‘विश्वकप छनोटजस्तो महत्त्वपूर्ण प्रतियोगितामा आफूभन्दा बलिया टोलीसँग खेल्दा हाम्रा खेलाडीको आत्मविश्वास पनि निकै बढेको छ । विश्वकप छनोटको अधिकांश खेलमा हाम्रा ब्याट्सम्यानले राम्रो रन पनि बनाएका छन् । त्यसैले पनि एसिया कपमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौं,’ उनी भन्छन् ।

369360671_695793642577019_8833472836907029215_n

टिम्स एसिया कपलगत्तै श्रीलंकामा गरेको तयारीले पनि एसिया कपका लागि फाइदा पुर्‍याएको उनको दाबी छ । एसिया कपको अन्तिम तयारीका लागि नेपाली टोली करिब एक साताअघि नै पाकिस्तान गएको उनले बताए ।

‘पछिल्लो समय वर्षाका कारण नेपालमा फिल्ड प्राक्टिस हुन सकेको थिएन । हामीसँग इन्डोर तयारीको राम्रो सुविधा पनि छैन । त्यसैले एसिया कपको अन्तिम तयारीका लागि भनेर एक साताअघि नै टोलीलाई पाकिस्तान पठाइयो । पाकिस्तानको कराँचीमा टोलीले अभ्यास खेल पनि खेलेको छ । एक साताअघि पाकिस्तान जाँदा त्यहाँको परिस्थितिसँग भिज्न पनि यसले फाइदा पुर्‍याएको छ । त्यसमाथि हामीले मोन्टी देसाईका रुपमा निकै अनुभवी प्रशिक्षक पनि पाएका छौं । समग्रमा भन्नु पर्दा एसिया कपका लागि हाम्रो तयारी निकै राम्रो छ,’ दीपेन्द्र भन्छन् ।

नियमित प्रतियोगिता खेल्नु परे पनि एसिया कपअघि आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु टोलीका लागि सबैभन्दा राम्रो पक्ष भएको उनी बताउँछन् । ‘निरन्तर प्रतियोगिता खेल्दा इन्जुरी समस्याको डर हुन्छ । तर, हामी यो समस्याबाट मुक्त रह्यौं । यो सबैभन्दा राम्रो पक्ष हो । राम्रा खेलाडी घाइते भएको भए हामीमाथि अर्को चुनौती थपिन्थ्यो,’ उनी भन्छन् ।

क्रमशः सुधारिँदै छ ब्याटिङ, सन्तुलित छ टोली

परम्परागत रुपमै नेपालीको ब्याटिङमा समस्या देखिन्छ । कतै एसिया कपमा पनि त्यही समस्या दोहोरिने त होइन ? यो प्रश्नमा सतप्रतिशत सहमत देखिँदैनन् राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र । उनको विचारमा पछिल्लो समय नेपालको ब्याटिङमा सुधार आएको छ ।

‘हो विगतमा नेपालको ब्याटिङमा समस्या थियो । तर, पछिल्लो समय हाम्रो ब्याटिङमा क्रमशः सुधार आउँदै गएको छ,’ उनी भन्छन्, ‘अझै पनि ब्याटिङमा सुधार ल्याउन सक्दो प्रयास भइरहेको छ । हाम्रा प्रतिद्वन्द्वीहरु बलिया छन् । तर, उनीहरुको क्रिकेट इतिहास पनि निकै लामो छ । हाम्रा खेलाडीलाई पनि उनीहरुकै स्तरसँग दाँज्नु खेलाडीमाथि अन्याय हुन्छ,’ दीपेन्द्र भन्छन् ।

यसैगरी पछिल्लो समय खेलिएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेको उनको दाबी छ । ‘एकदिवसीय विश्वकप छनोटमा आयोजक जिम्बाबे, वेस्ट इन्डिज, आयरल्यान्ड र अमेरिकाविरुद्घ हाम्रा ब्याट्सम्यानले बनाएको रन हेर्दा पनि त्यसले सकारात्मक सन्देश नै दिन्छ । त्यसैले हामीले निराश हुनुपर्ने अवस्था छैन,’ उनी भन्छन् ।

पछिल्लो समय अभ्यासका क्रममा पनि नेपाली टोलीको ब्याटिङ सुधार्न नै सबैभन्दा बढी ध्यान केन्द्रित गरिएको उनी बताउँछन् । ‘पछिल्लो समय हाम्रो बढी ध्यान पनि ब्याटिङ सुधार्नमै केन्द्रित भएजस्तो लाग्छ । टिम्स एसिया कपले पनि हामीलाई ब्याटिङमा ध्यान केन्द्रित गर्नुपर्ने शिक्षा दिएको थियो । त्यो प्रतियोगितामा २० ओभरभित्रै हामीले लगातार चार—पाँच विकेट गुमाएका थियौं । एसिया कपअघि पनि हाम्रो बढी ध्यान ब्याटिङमै केन्द्रित थियो,’ उनको कथन छ ।

यसैगरी एसिया कपका लागि घोषित टोली सन्तुलित रहेको उनी बताउँछन् । टोलीमा ब्याटिङ, बलिङ र फिल्डिङको सन्तुलन रहेको उनले बताए । ‘हाम्रो टोली सन्तुलित छ । ब्याटिङ सुधारिएको छ । बलरहरु पनि प्रतिभाशाली छन् । फिल्डिङ पनि कमजोर छैन,’ उनी भन्छन् ।

अनि प्रत्येक खेलमा दुई—तीनवटा क्यच छुटिरहेको हुन्छ नि ? उनी भन्छन्, ‘जतिसुकै राम्रो गरे पनि ठूला खेलमा केही समस्या देखिन्छन् । यस्ता समस्या बलिया टोलीमा पनि देखिन्छन् । यसका अतिरिक्त हिजोको तुलनामा अहिले हाम्रा प्रतिद्वन्द्वीहरु पनि बलिया छन् । बलिया टोलीसँग खेल्दा हामीले आफ्ना खेलाडीको स्तर, देशभित्रको पूर्वाधार, हाम्रो इतिहासजस्ता कुरालाई पनि विचार गर्नु पर्छ ।’

प्रतियोगिता र पूर्वाधारमा समस्या, छैनन् प्रायोजक

पछिल्लो २७ वर्षको अवधिमा नेपाली क्रिकेटको स्तर निकै सुधारिएको छ । सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको समयको तुलनामा अहिले नेपाली क्रिकेटले हरेक पक्षमा फट्को मारेको छ । तर, प्रतियोगिता र पूर्वाधारमा भने खासै सुधार आउन सकेको छैन ।

‘खेलाडीलाई ब्यस्त राख्न बढीभन्दा बढी प्रतियोगिता आवश्यक पर्छ । पछिल्लो समय छोटो ढाँचाका केही प्रतियोगिता हुन्छन् । तर, अब केही सीमित प्रतियोगिताले नेपाली क्रिकेटको आवश्यकतालाई धान्न सक्दैन । त्यसैले यसतर्फ ध्यान दिनु आवश्यक छ,’ उनी भन्छन् ।

उनको विचारमा खेलाडीको आवश्यकता अनुसार, अब बढीभन्दा बढी एकदिवसीय प्रतियोगिता आयोजना हुनुपर्छ । ‘अहिले नेपालमा एकदिवसीय ढाँचाको केवल दुई वटा प्रतियोगिता आयोजना हुन्छ । तर, प्रधानमन्त्री कप र मेयर कपले मात्र हाम्रो आवश्यकता पूरा गर्न सक्दैन । कतिपय अवस्थामा हामीले एकदिवसीय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा छोटो ढाँचाको प्रतियोगितालाई आधार मान्नुपर्ने हुन्छ,’ उनको कथन छ ।

यसैगरी नेपाली क्रिकेटको क्षितिज फराकिलो भएसँगै पूर्वाधार निर्माणमा पनि सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् । ‘सरकारले नै चासो देखाउनु पर्छ । सरकारको सक्रियता बिना सुविधासम्पन्न पूर्वाधार तयार हुन सक्दैन । अहिले हामीसँग भएका पूर्वाधारले खेलाडीको आवश्यकता पूरा गर्न सक्दैन,’ दीपेन्द्र भन्छन् ।

यसैगरी पछिल्लो समय क्रिकेट नतिजामुखी खेलका रुपमा अगाडि आए पनि यो खेलले खासै प्रायोजक पाउन नसकेको उनको बुझाइ छ । उनी भन्छन्, ‘नेपाली क्रिकेटको स्तरलाई उठाउन सबै क्षेत्रको सहयोग आवश्यक पर्छ । नेपालका लागि क्रिकेट नतिजामुखी खेल हो । तर, अझै पनि ठूला कर्पोरेट हाउसहरुले खासै चासो देखाएको पाइँदैन । यसतर्फ पनि ध्यान जानु आवश्यक छ ।’

367481112_695790882577295_8797588645026060605_n

राष्ट्रिय टोलीमा हरेक खेलाडीको विकल्प छ

पछिल्लो समय नेपाली क्रिकेटमा कस्तो छ त नयाँ खेलाडीको आगमन ? उनको विचारमा पछिल्लो समय अपेक्षित रुपमा क्रिकेटका नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । नयाँ खेलाडी तयार नभएसम्म देशको क्रिकेटले गति लिन नसक्ने उनी बताउँछन् ।

‘नयाँ खेलाडी नआएका होइनन् । तर, नयाँ प्रतिभा तयार हुने गति सुस्त छ । छनोट समितिमा आएपछि म आफैँले पनि यसलाई चुनौतीको रुपमा लिएको थिएँ । राष्ट्रिय टोलीका हरेक खेलाडीको विकल्प हुनुपर्छ,’ उनी भन्छन् ।

अहिले राष्ट्रिय टोलीमा रहेका हरेक खेलाडीको एक जना वैकल्पिक खेलाडी भएको उनको दाबी छ । उनी भन्छन्, ‘अहिले हामीसँग हरेक खेलाडीको कम्तीमा एकजना वैकल्पिक खेलाडी छन् । यो राम्रो पक्ष हो । तर, यतिले पुग्दैन, कम्तीमा पनि एउटा खेलाडीका लागि तीन वा चार जना विकल्प हुनुपर्छ । पछिल्लो समय हामी यही उद्देश्यसहित अगाडि बढिरहेका छौं ।’

राष्ट्रिय टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्ने कम्तीमा ४० जना खेलाडी तयार अवस्थामा हुनुपर्ने उनी बताउँछन् । ‘अहिले पनि हामीले केही युवा खेलाडी तयार पारिरहेका छौं । क्यानले केही खेलाडीलाई भारतमा प्रशिक्षण गराइरहेको छ । केही खेलाडी आफ्नै पहलमा पनि भारतमा प्रशिक्षण गर्दैछन् । आशा गरौं, केही समयभित्रै हामीसँग प्रत्येक खेलाडीको तीन वा चार जना विकल्प हुनेछन्,’ उनी भन्छन् ।

टिम छनोटमा दबाब आउँदैन, प्रश्न उठछ

टिम छनोट कत्तिको अपजस बोक्नु पर्ने जिम्मेवारी हो त ? दीपेन्द्रको अनुभवमा राष्ट्रिय टिम छनोटको जिम्मेवारी चुनौतीपूर्ण काम हो । ‘पक्कै पनि यो चुनौतीपूर्ण काम हो । निकै कम प्रतियोगिता हुन्छन् । त्यसैलाई आधार मानेर टिम छनोट गर्नुपर्ने हुन्छ । हरेक खेलाडीको प्रदर्शनलाई ध्यान दिनु आवश्यक छ,’ उनी भन्छन् ।

सधैँ त्यही २०—२५ जना खेलाडीबाट टिम छान्नु पर्ने होइन र ? उनी भन्छन्, ‘हो, पछिल्लो समय हामीसँग धेरै विकल्प छैन । २०—२५ जना खेलाडीबाटै टिम छनोट गर्नुपर्ने अवस्था छ । एक तरिकाले भन्नु पर्दा यसले हामीलाई सजिलो भएजस्तो पनि देखिन्छ । तर, हामीसँग बढीभन्दा बढी विकल्प हुनु आवश्यक छ । यसका लागि पनि प्रयास गरिरहेका छौं ।’

टोली छनोट गर्दा क्यान पदाधिकारीबाट दबाब कत्तिको आउँछ नि ? उनी भन्छन्, ‘अहिलेसम्म दबाब आएको छैन । पदाधिकारीहरुका कारण हामीले अप्ठ्यारो अवस्थाको सामना गर्नु परेको छैन । तर, टिम छनोट भइसकेपछि उहाँले प्रश्न भने गर्नु हुन्छ । त्यो उहाँहरुको अधिकार पनि हो । हामीले कुन आधारमा टोली छनोट गर्‍यौँ भन्ने कुरा पुष्टि गर्नसक्नु पर्छ ।’

उनी हाल मलेसिया भ्रमणमा रहेको राष्ट्रिय महिला क्रिकेट टोली छनोट गर्दाको अनुभव सुनाउँछन् । ‘हामीले महिला टोली छनोट गर्दा पूजा महतो र खुसी डंगोललाई टोलीमा राख्यौं । धेरैका लागि यी दुवैजना नयाँ अनुहार थिए । यस्तो अवस्थामा पुराना खेलाडीलाई छोडेर हामीले किन नयाँ खेलाडीलाई टोलीमा राख्यौं भन्ने पुष्टि गर्नसक्नु पर्छ । तर, पूजा र खुसी दुवैले अहिलो राम्रो प्रदर्शन पनि गरिरहेका छन् । त्यसैले छनोट समितिको काम चुनौतीपूर्ण त हुन्छ नै । हाम्रो काम भनेको अपजसे काम हो,’ उनी भन्छन् ।

369294736_695788112577572_32388619987980755_n

बलिया प्रतिद्वन्द्वीलाई झेल्नु पर्ने चुनौती

एसिया कपको १६औं संस्करण खेल्ने नेपाल सबैभन्दा कान्छो राष्ट्र हो । दीपेन्द्रका अनुसार, नेपालका लागि यो नै सबैभन्दा ठूलो चुनौती हो । यसपटक एसिया कपमा सहभागी ६ मध्ये पाँचवटा राष्ट्र आईसीसीबाट टेस्ट मान्यताप्राप्त हुन् ।

‘एसिया कप खेल्ने राष्ट्रहरुमा सबैभन्दा कान्छो राष्ट्र नै हामी हौं । अन्य राष्ट्रले यसअघि नै धेरै पटक एसिया कप खेलिसकेका छन् । त्यसैले यो हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो,’ उनी भन्छन्, ‘नेपालमात्र एसोसिएट सदस्य राष्ट्र हो । बाँकी सबै टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । त्यसैले हामीसँग आफूभन्दा निकै बलिया टोलीविरुद्घ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ ।’

टेस्ट र एसोसिएट राष्ट्रबीच निकै ठूलो अन्तर हुने दीपेन्द्रको बुझाइ छ । ‘आईसीसीले धेरै पक्षलाई विचार गरेरमात्र टेस्ट मान्यता दिने हो । टेस्ट खेल्ने राष्ट्रको लामो क्रिकेट इतिहास हुन्छ । पूर्वाधारदेखि लिएर प्रदर्शनसम्ममा उनीहरु अब्बल हुन्छन् । त्यसको तुलनामा हामी भर्खरै आफ्नो इतिहास कोर्ने प्रयास गर्दैछौं । हामीले यो यथार्थलाई पनि भुल्नु हुँदैन,’ उनी भन्छन् ।

यो एसिया कपमा जितभन्दा पनि नेपाली खेलाडीले व्यक्तिगत प्रदर्शनमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘हाम्रो लागि एसिया कप भने एक सय सीसीको मोटरसाइकलले पाँच सय सीसीको मोटरसाइकलसँग भिडन्त गर्नुजस्तै हो । कहिले काहीँ पाँच सय सीसीको मोटरसाइकल पनि बिग्रन्छ । नतिजा अप्रत्यासित पनि आउन सक्छ । तर, हामी के चाहन्छौं भने हाम्रा प्रत्येक खेलाडीले उत्कृष्ट प्रदर्शन गरुन्,’ उनी भन्छन् ।

खेलाडीको प्रदर्शनमै टिमको प्रदर्शन भर पर्ने उनको बुझाइ छ । ‘हामीले पाकिस्तान वा भारतलाई हराउँछौं भनेर विश्वस्त हुने ठाउँ नै छैन । तर, हाम्रा खेलाडीको लागि यो निकै गतिलो अवसर हो । विराट कोहली र बाबर आजमको विकेट नेपालको कुन बलरले लिन्छ । अथवा हाम्रो कुन् ब्याट्सम्यानले पाकिस्तान वा भारतविरुद्घ शतक वा अर्धशतक बनाउँछ, हाम्रो लागि त्यो महत्त्वपूर्ण पक्ष हो,’ दीपेन्द्र भन्छन्, ‘यो एसिया कपमा हाम्रा खेलाडीले स्पष्ट छाप छोड्न सकेनन् भने नेपाली क्रिकेटले फेरि नयाँ थालनी गर्नुपर्ने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया