बुढानीलकण्ठमा कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समिति बैठक जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको हो ।
पूर्वमन्त्री तथा पार्टीको पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने आकस्मिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।
८४ वर्षीय गुरुङको काठमाडौँको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको थियो । विदेशमा रहेका दुई छोरा आउन ढिलो हुँदा आज मात्र अन्त्येष्टि गर्न लागिएको हो ।
उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुन् । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिको क्रममा गुरुङले ताप्लेजुङ र पाँचथरमा क्रान्तिको नेतृत्व गरेका थिए ।
गुरुङले क्रान्तिकै क्रममा २०१८ मा सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा गरी कारागारका कैदी बन्दीहरूलाई भगाएका थिए । त्यसपछि उनी लामो समय भारत निर्वासित भए ।
२०३६ सालमा आममाफी पाएपछि नेपाल फर्किएका उनी केही समय पञ्चायतमा पनि लागेका थिए । २०४६ सालसम्म जिल्ला पञ्चायतको सभापति भएका उनी २०४६ सालको आन्दोलनपछि कांग्रेसमै फर्किएका थिए ।
२०५१ सालमा ताप्लेजुङका निर्वाचन क्षेत्र २ बाट चुनाव लडेका उनी एमालेका अम्बिकाप्रसाद साँवासँग पराजित भए । २०५६ सालमा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका गुरुङ फेरि एमालेका तिलकुमार मेन्याङबोसँग पराजित भए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा भने उनले माओवादीका राम कार्कीलाई पराजित गरेका थिए । २०७० मा भएको दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सभासद भएका उनी २०७३ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र पछि स्थानीय विकासमन्त्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित