सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी

पछिल्लो ३ वर्षमा १७१९ चोरीका घटना
बिहीबार, २७ वैशाख २०८१, ०९ : ३८
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । पर्साको वीरगन्जस्थित नबिल बैंकबाट १७ वैशाखमा राति एउटा समूहले चोरी गर्‍यो । ग्यास वेल्डिङ गर्ने मेशिनले टिनको बाकस र दराज काटेर आरोपीहरूले बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख चोरी गरेका हुन् । चोरेपछि उनीहरू बोरामा रकम लिएर भागेको सीसीटिभी फुटेजमा देखिन्छ ।

चोरीमा संलग्न मध्ये ६ जना पक्राउ परेका छन् । नेपालतर्फ पक्राउ पर्नेमा रौतहट घर भएका २३ वर्षका छोटेलाल साह कलवार र रौतहट मौलापुरका विश्वम्भर शाह उर्फ सञ्जय छन् । उनीहरूलाई रौतहटबाट पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।

चोरीमा संलग्न ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतमा पक्राउ पर्नेमा विहार घर भएका मन्टु कुमार, अर्जुन पासवान, यार जी भनेर चिनिने राज कुमार र भुलन महतो छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसन्धान अधिकृतहरू सो घटना अनुसन्धान गर्न भरतस्थित मोतिहारी जिल्लामा गएका थिए । बैंक चोरी गर्दा छोटेलालले रेकी गरेको र विश्वम्भर शाहले नेपालमा बसेर चोर्ने योजना बनाएको एसपी ढुङ्गेलले बताए । चोरीमा संलग्न भारतीहरू बिहार घोडासानका हुन् । घोडासान समूह ग्याँसको सहयोगमा ताला काटेर चोर्नमा ‘माहिर’ मानिन्छन् ।

पछिल्लो समय तराईका जिल्लामा चोरी र डाँकाचोरीका घट्नामा वृद्धि भएको छ । वैशाख २४ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ मा सहकारी कर्मचारीको साथबाट लुटेरा समूहले ८० लाख लुटपाट गरे । हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका हुन् । धनुषाको छुमौनामा भएको डाँकाचोरीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसपी) सुवास चन्द्र बोहराले रातोपाटीलाई बताए । उनले भने–‘केही शङ्कास्पदलाई सोधपुछका लागी नियन्त्रणमा लिएका छौँ ।’

  • मधेस प्रदेशको त्रिवर्षीय डाँकाचोरीको तथ्याङ्क ः

२०८० साउनदेखि चैतसम्ममा १४ वटा डाँकाचोरीको घटना भएका छन् । धनुषामा ८० लाख लुटपाट र पर्साको नबिल बैंक चोरी भएको घटना पछिल्लो समयको सबैभन्दा ठुला घटना मानिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सबैभन्दा धेरै डाँकाचोरी बरामा हुने तथ्याङ्कबाट देखिन्छ । २०७९–०८० मा तराईमा २६ वटा डाँकाचोरीका घटना भएका थिए । २०८० साउनयता ९ महिनामा १४ वटा डाँकाचोरी भएका छन् ।

  • ३ वर्षमा १७ सय १९ ठाउँमा चोरी

पछिल्लो ३ आर्थिक वर्षमा तराईमा १ हजार ७१९ वटा चोरीका घटना भएका छन् । आर्थिक वर्ष २०७८–०७९ मा ६४७ वटा चोरीका घटना भएका छन् । २०७९–०८०मा ६७८ र चालु आर्थिक वर्षमा ३९४ वटा चोरीका घटना भएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास चन्द्र बोहराले रातोपाटीलाई बताए ।

धनुषामा सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोलाई ३ जना पेस्तोलधारीले लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवा भन्छन्, ‘पीडितले पेस्तोल देखाएर लुटेको जाहेरी दिनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप