बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

शुक्रबार, १५ भदौ २०८०, ०८ : ४६
शुक्रबार, १५ भदौ २०८०

गण्डकी । पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय ।

समुदायको सक्रियतामा २०५८ सालमा बाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको थियो । पाठकहरूलाई लक्षित गरी पुस्तकालयलाई समयसापेक्ष थप व्यवस्थित बनाइएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।

उनका अनुसार पुस्तकालयमा विभिन्न कक्षाहरू तयार गरिएको छ । ती कक्षहरूमा दिनानुदिन विद्यार्थी तथा पाठकहरू आउने गरेका छन् । पुस्तकालयमा प्रवेश गर्नासाथ भित्तामा झुन्ड्याइएका पोखरा र आसपासका तालतलैयाका तस्वीर, यस आसपासका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका तस्वीर तथा वेषभूषा आदिले जो कोहीलाई यस क्षेत्रको मौलिकता बुझ्न सहयोग पुर्याउने गरेको छ ।

पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौनालगायतका सामान राखिएका छन् । यसका अतिरिक्त पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आएको भण्डारीले जानकारी दिए । पुस्तकालयमा आएर बालबालिकाले आफ्ना रुचिअनुसारका पुस्तक पढ्नुका साथै खेल्ने र विभिन्न मौलिक सिर्जनासमेत गर्ने गरेको उनले बताए ।

पुस्तकालयको महिला कक्षमा महिलासम्बन्धी बैठक, तालिम, गोष्ठी गरिनुका साथै त्यहाँ महिला अधिकार, महिला स्वास्थ्य, शिशु स्वास्थ्यजस्ता पत्रपत्रिका, पाठ्यसामग्री आदि राखिएको छ । उक्त कक्षबाटै हरेक महिना महिला तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ । पुस्तकालयकै सक्रियतामा दीपशिखा महिला कृषि सहकारीसमेत सञ्चालनमा आएको र सहकारीमा हाल चार सय ५० जना महिला आबद्ध रहेको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिए । सहकारीले कृषिसम्बन्धी तालिम साथै आलुको बीउ उत्पादन गर्दै बिक्री–वितरणसमेत गर्दै आएको छ । यस वर्षमात्रै सहकारीले आफ्ना सदस्यलाई वितरण गरी ५० किलोग्राम तौलका एक सय १४ बोरा आलुको बीउ बिक्री गरेको थियो ।

पुस्तकालयले रिड नेपालसँगको सहकार्यमा ५५ जना किरोशीलाई प्रविधि, नेतृत्व विकास, सशक्तीकरण एवं जीवनोपयोगी तालिमसमेत सञ्चालन गर्दै आएको छ । उक्त तालिमले उनीहरूमा सशक्तीकरण एवं विभिन्न क्षमता अभिवृद्धि गराएको पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले बताए।

पुस्तकालयमा रहेको श्रव्यदृश्य कक्षमा कृषि, वातावरणजस्ता उपयोगी श्रव्यदृश्य सामग्री देखाइने र निरक्षर व्यक्तिसमेत यसबाट लाभान्वित बन्ने गरेका छन् । पुस्तकालयमा श्रव्यदृश्यसमेत देखाउन मिल्ने सुविधा सम्पन्न ८० जना व्यक्ति बस्न सक्ने किसिमको तालिम कक्षको व्यवस्था गरिएको छ । तालिम कक्षमा विभिन्न सङ्घसंस्थाले बैठक तथा सेमिनार गर्ने गरेका छन् । बैठक तथा सेमिनार कक्ष प्रयोग गरेवापत सेवा शुल्क रु दुई हजार ५०० लिने गरिएको र उक्त रकमले पुस्तकालयको सञ्चालनमा राहत पुग्ने गरेको छ ।

खेलकुद तथा सङ्गीत कक्षमा युवाहरूलाई लक्षित गरी विभिन्न खेलकुद र वाद्यवादनका सामग्री राखिएका छन् । पुस्तकालय क्षेत्रका बाल क्लब तथा युवा क्लबहरू यस कक्षबाट लाभान्वित भएका छन् । पुस्तकालयको कम्प्युटर कक्षबाट इमेल, इन्टरनेट, कम्प्युटर शिक्षा उपलब्ध गराइएको छ । यस कक्षमा महिला, शिक्षक, बालबालिका र युवाहरूलाई कम्प्युटर शिक्षा तथा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उहाँले बताउनुुभयो । पुस्तकालयमा आएर आधारभूत कम्प्युटर तालिमसमेत निःशुल्क उपलब्ध गराइने गरिएको र त्यसबाट धेरै व्यक्तिहरू स्वरोजगार बन्न सफल बनेका छन् ।

पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार पाँच सयभन्दा बढी पुस्तक रहेका छन् । पुस्तकालयमा एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको बताउँदै कार्यालय प्रमुख पहारीले विभिन्न विधाका पुस्तकका अतिरिक्त विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध रहेको जानकारी दिए ।

पुस्तकालयमा समाजमा प्राचीनकालदेखि दैनिक जीवनमा प्रयोगमा आउने गरेका सामग्रीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ सङ्कलन गरी राखिएको छ । “पुस्तकालयमा पाठक सदस्यता निःशुल्क व्यवस्था गरिएको छ, परिचयपत्रवापत रु एक सयमात्र लिने गरेका छौँ”, उनले भने, “विद्यार्थी तथा पाठकका लागि पुस्तक घरमा लान सकिने व्यवस्था मिलाइएको छ ।”

पुस्तकालयले अघिल्लो वर्ष देशकै नमूना सामुदायिक पुस्तकालयको कदरपत्र  नेपाल  सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट पाएको थियो । नगर विकास कोष, तत्कालीन लेखनाथ नगरपालिका र स्थानीय जनसहयोगबाट पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भएसँगै यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुगेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगसँगै भवनमा रहेका सटरलाई भाडामा लगाएर पुस्तकालयको सञ्चालनमा आर्थिक स्रोत जुटाउने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

“सानो–सानो सहयोगबाट बचत गर्दै पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि रु १८ लाखको अक्षकोष स्थापना गरेका छौँ”, उनले भने, “पुस्तकालयको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नका लागि करार सेवामा एक र स्थायी सेवामा दुई जना कर्मचारीको व्यवस्था गरिएको छ ।”

पुस्तकालयमा हालसम्म एक सय ५२ जना आजीवन सदस्य रहेका छन् भने २५ वटा संस्था संस्थागतरूपमा आजीवन सदस्य रहेका छन् । हाल साधारण सदस्यको सङ्ख्या दुई सय रहेको छ भने दैनिक पुस्तकालयमा आउने पाठकको सङ्ख्या ४० देखि ५० जना रहेको छ । पुस्तकालयले वार्षिकपमा पाठकको रुचिअनुसारका नयाँ–नयाँ पाठ्पुस्तक नियमित किन्दै आएको छ ।

नवीनतम् प्रविधिको प्रयोग गरिएको पुस्तकालयले प्रत्येक वर्ष पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ, हिज्जे, निबन्ध, वक्तृत्वकला, वादविवाद प्रतियोगिताका साथै निरन्तर शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ । पुस्तकायलकै सक्रियतामा युवाका लागि जीवनोपयोगी सीपमूलक तालिम, मोबाइल मर्मत, हाउसवायरिङ, ब्यूटीपार्लर, सिलाइकटाइ, गुडिया बनाउने मौरीपालनजस्ता थुपै तालिम प्रदान गरिसकिएको छ ।

समाजमा पढ्ने भावनाको विकाससँगै आयोगको तयारी गर्ने पनि लाभान्वित
पुस्तकालय सञ्चालनले आसपासका युवाहरू आफ्नो फुर्सदको समयलाई पढ्ने काममा उपयोग गर्ने गरेका छन् । विश्वविद्यालय तथा क्याम्पसको थप अध्ययन एवं छात्रवृत्तिका लागि तयारी एवं लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीले पुस्तकालयको उपयोग गर्ने गरेको भण्डारीले जानकारी दिए । “समाजमा जथाभावी हिँड्ने, होहल्ला गर्ने प्रवृत्तिलाई पनि पुस्तकालयले न्यूनीकरण गर्न मद्दत पुर्याएको छ”, उनले भने, “सामाजिक सचेतनासँगै पठन संस्कृतमा जागरण ल्याउन पुस्तकालय बरदान सावित बनेको छ ।”

सामुदायिकस्तरबाट सञ्चालनमा आएको दीपशिखा पुस्तकालयले समाजमा सचेतनासँगै जागरणका लागि पुर्याएको योगदान देशका अन्य स्थान र समुदायका लागि पनि प्रेरणादायी रहेको पत्रकार विष्णुहरि पौडेलले बताउछन् । “दीपशिखा पुस्तकालय समाजमा सचेतना अभिवृद्धि र जागरणका लागि सेतु बनेको छ”, पौडेलले भने, “सामुदायिक प्रयासबाट स्थापित बनेको यसको दीर्घकालीन सञ्चालन र प्रभावकारी व्यवस्थापनका लागि राज्यको सहयोग अपहिरार्य छ ।”

संस्थागत रुपमा नै पुस्तकालय दिवस
पछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा सरकारले संस्थागतरूपमा नै पुस्तकालय दिवस मनाउन थालेको १५ वर्ष पुगिसकेको छ । प्रत्येक वर्षको भदौ १६ गते मनाइने पुस्तकालय दिवस यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरिएको छ । 
सरकारले देशैभरका स्थानीय तहलाई पठन संस्कृतिको विकासमा सहयोग गर्न विभिन्न कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन निर्देशन दिएको छ ।

नेपालमा १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्ध विक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ स्थापना गर्नुभएको थियो । उक्त समयमा पुस्तकालयको रेखदेखका लागि पं केदारनाथ झालाई जिम्मेवारी दिइएको थियो ।

पुस्तक चिताइ तहबिलका रूपमा पुस्तकालयसम्बन्धी पहिलो कानुन बनेको उक्त त्यही दिनको स्मरण गर्दै नेपालमा २०६५ सालदेखि औपचारिकरूपमा पुस्तकालय दिवस मनाउँदै आइएको हो । पछिल्लो तथ्याङ्कले नेपालमा सामुदायिक पुस्तकालयको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ ।

सामुदायिक जागरणका लागि पुस्तकालय अपरिहार्य भएको ठहर गर्दै तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बौद्धिक व्यक्तित्वहरूले प्रधानमन्त्री भीमशम्शेरका पालामा पुस्तकालय स्थापना गर्दा १९८७ सालमा ‘लाइब्रेरी पर्व’ भएको थियो । त्यस समयमा पुस्तकालय स्थापना गरेवापत तत्कालीन सरकारबाट उनीहरूलाई जनही रु एक–एक सय जरिवाना तिराइएको थियो । सोह्रौँ पुस्तकालय दिवसका अवसरमा दीपशिखा पुस्तकालयमा नाटक प्रदर्शनी, गायन तथा नृत्य, कविता वाचन, पुस्तकालयसम्बन्धी चित्र प्रदर्शनी आदि कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप