शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

मोहन्याल गाउँपालिकाको केन्द्रको विवाद चुलियो, अध्यक्ष र उपाध्यक्ष आमनेसामने

आइतबार, १७ भदौ २०८०, १५ : ५३
आइतबार, १७ भदौ २०८०

धनगढी । गाउँपालिकाको केन्द्रलाई लिएर कैलालीको मोहन्याल गाउँपालिकामा विवाद चुलिएको छ । गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ र उपाध्यक्ष कमल बहादुर साउद गाउँपालिकाको केन्द्रलाई लिएर आमनेसामने भएपछि विवाद चुलिएको हो ।

२०८० असार १० गते साबिकको पालिका केन्द्र वडा नंं ४ को खिमडीबाट वडा नं. १ को भकुण्डेटार सार्ने निर्णय गाउँपालिकाको १२ औं गाउँसभाले पारित गरेको थियो । भकुण्डेटारमा केन्द्र सार्ने प्रस्ताव बहुमतले पारित भएपछि सभामै स्थानीय जनताबाट जनप्रतिनिधिहरु कुटिएका थिए । उक्त घटना मत्थर नहुँदै गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ को फेसबुक स्टाटसले फेरि विवाद सतहमा ल्याएको हो ।

विवाद बढ्दै गएपछि हाल गाउँपालिकाको काम कारबाही समेत प्रभावित भएको छ ।

के लेखेका थिए अध्यक्षले ?

भदौ १५ गते आफ्नो फेसबुक वालमा अध्यक्ष हिमशिखरले हार्दिक अपिल भन्दै केन्द्र सार्ने विषय अब सम्भव नभएकाले हाल कायम भएकै खिमडीमा थप संरचना बनाई स्थायी कार्यालय सञ्चालन गर्ने र सबै वडाबाट खिमडीसम्म आउने सडक पूर्वाधार निर्माणलाई तीव्रता दिएर खिमडीलाई सबै वडाको दुरीबाट छोट्याउने बताएका थिए । साथै केन्द्र हेरफेरको च्याप्टर क्लोज गरेर सबै जनप्रतिनिधिहरुले बाँकी रहेका वडाबाट योजना कार्यक्रम पेस गरेर बजेट कार्यान्वयन गर्न र जनताका दैनिक विकास निर्माण जनजीविकाका कुरामा सहजीकरण गर्दै नियमित बैठकमा उपस्थित हुन उनले अनुरोध गरेका थिए ।

उनले आफ्नो अपिलमा लेखेका छन्, ‘मोहन्याल गाउँपालिकाको केन्द्रलाई लिएर विगत ६/७ वर्षदेखि बहस विवाद छलफल हुँदै आएको तर एउटा निष्कर्षमा पुग्न नसकिएको विषय हो । गत बजेट अभिवेशनको गाउँसभामा सहमति नजिक पुगे पनि कानुनी हिसाबले मत विभाजनको डकुमेण्टमा हालसम्म आवश्यक दुई तिहाइ सदस्यको हस्ताक्षर नपुगेकाले २०८० असार १० गतेदेखि आज २०८० भाद्र १५ गतेसम्म पनि दुई तिहाइ सदस्यको (बैठकमा उपस्थित अनुपस्थित सबैको) हस्ताक्षर गरेर बुझाउन मैले समय उपलब्ध गराएको सबैलाई जानकारी नै होला । दुई तिहाइ सदस्यको हस्ताक्षर अहिलेसम्म प्राप्त हुन सकेन । मैले ठूलो जोखिम लिएर कार्यालय सबैको पायक पर्ने गरी केन्द्र तोक्न विषयमा नेतृत्वदायी भूमिका खेल्दा खेल्दै पनि त्यो कुरा सम्भव हुन नसकेकोले अब एउटै विषयमा अनन्तकालसम्म छलफल बहस र विवाद गरिरहनु उपयुक्त देखिएन । जसका कारणले मोहन्यालको विकास निर्माण लगायत जनताका आधारभूत जनजीविकाका काममा समय खर्च गर्न गाह्रो भयो । अब उप्रान्त एउटै विषयमा जनप्रतिनिधिहरु विभाजित हुनुभन्दा हाल कायम भएकै खिमडीमा थप संरचना बनाई स्थायी कार्यालय सञ्चालन गर्ने र सबै वडाबाट खिमडीसम्म आउने सडक पूर्वाधार निर्माणलाई तीव्रता दिएर खिमडीलाई सबै वडाको दुरीबाट छोट्याउने कार्य गर्नु नै हामी सबैको विकल्प हो भन्ने मेरो बुझाइ छ । अब केन्द्र हेरफेरको च्याप्टर क्लोज गरेर सबै जनप्रतिनिधिहरुले बाँकी रहेका वडाबाट योजना कार्यक्रम पेस गरेर बजेट कार्यान्वयन गर्न र जनताका दैनिक विकास निर्माण जनजीविकाका कुरामा सहजीकरण गर्दै नियमित बैठकमा उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

कानुनी लडाइँका लागि अख्तियार र अदालतमा जान्छौँ : उपाध्यक्ष साउद

Press meet ma upadyasha saud

अध्यक्षको त्यो अपिलपछि खिमडीको विपक्ष अर्थात भकुण्डेटारमा केन्द्र सार्ने पक्षमा हस्ताक्षर गरेका गाउँपालिका उपाध्यक्षसहितका जनप्रनिधिहरु विरोधमा उत्रिएका छन् । उनीहरुले गाउँपालिकाको केन्द्र भकुण्डेटार सार्ने गरी भएको निर्णय गाउँपालिका अध्यक्ष ‘हिमशिखर’ ले गायब पारेको आरोपसमेत लगाएका छन् । उनीहरुले न्यायका लागि अख्तियार र अदालतसम्म जाने चेतावनी दिएका छन् ।

शनिबार कैलालीको बौनियामा पत्रकार सम्मेलनमार्फत् गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउद, वडा नं. १ का वडाध्यक्ष प्रेम बुढा, वडा नं. ३ का वडाध्यक्ष नन्दाराम गिरी, वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर शाही र वडा नं. ७ का वडाध्यक्ष नवराज कठायतले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले दोहोरो चरित्र देखाएको आरोपसमेत लगाएका छन् ।

मोहन्याल गाउँपालिकाका उपाध्यक्ष साउदले भने, ‘गत असार १० गतेको गाउँसभाबाट मोहन्याल केन्द्र हेरफेर र बजेटको प्रस्ताव दुई तिहाइ सदस्यको हस्ताक्षरसहित पारित भइरकेको छ । यो निर्णय हुबहु कार्यान्वयन हुनुपर्छ । लामो समयदेखि विवादित मोहन्यालको केन्द्रका विषयमा अध्यक्ष हिमशिखरज्यूले जुन ढंगले पारित नभएको र कार्यालय खिमडीबाटै सञ्चालन गर्ने अभिव्यक्ति दिनुका साथै उहाँको पछिल्लो फेसबुक स्टाटसले जनतामा नैराश्यता र भ्रमित बनाएको छ ।’

गाउँ सभामा गएका दुवै प्रस्ताव पारित हुनुपर्ने उनको भनाइ छ । ‘ एउटा पारित हुने र अर्काे प्रस्ताव पारित नहुने हुँदैन,’ उनले भने, ‘अध्यक्षको अभिव्यक्ति र बलमिच्याइँविरुद्ध कानुनी लडाइँका लागि अख्तियार र अदालतमा जान्छौँ ।’

यस्तै, वडा नं.३ का वडाध्यक्ष नन्दराम गिरीले असार १० गतेको गाउँ सभामा २२ जनाले विपक्षमा र २८ जना सदस्यले भकुण्डेटारको पक्षमा मतदान गरेको दाबी गरे । तत्कालीन पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीको समेत मिलेमतोमा योजनाबद्ध ढंगले सो निर्णयको पाना गायब गरिएको उनले आरोप लगाए ।

मलाई संगीन आरोप लगाए : अध्यक्ष हिमशिखर

यसैबीच अध्यक्ष हिमशिखरले आफू अझै पनि पालिका केन्द्र भकुण्डेटारको पक्षमा रहेको बताउँछन् । तर आफूलाई पत्रकार सम्मेलन नै गरेर भकुण्डेटारको पक्षमा छ भनेर संगीन आरोप लगाएको दुखेसो उनले सुनाए ।

रातोपाटीसँग अध्यक्ष हिमशिखरले भने, ‘भकुण्डेटार सार्नु पर्छ भन्ने प्रस्तावक नै मै हुँ । अझै पनि त्यसैको पक्षमा छु । तर उत्पन्न परिस्थितिका कारण अब यस विषयलाई थाती राखेर विषयमा ध्यान दिनुपर्छ भनेको हुँ । जिल्लाको विकट पालिका भएकोले धेरै काम गर्नुछ । यहाँको जनजीविकाको सवालमा काम गर्नुछ । विकास निर्माणलाई अगाडि बढाउनु छ । एउटै विषयमा अल्झिनु हुन्न भन्ने मेरो मान्यता हो ।’

त्यस्तै, उनले आफूविरुद्ध गए त्यसको प्रतिवाद पनि गर्ने चेतावनी दिए । उनले अगाडि थपे, ‘ठिक छ, उहाँहरु बहुमत छ भनेर म विरुद्ध लागिरहनुभएको छ अहिले । तर यसको प्रक्रिया लामो छ । यो विकासको काम गर्ने बेला त्यसैमा अल्झिराखे पालिकावासी पनि चुप लागेर बस्नेवाला त छैनन् होला नि !’

विवादको चुरो र कानुनी प्रक्रिया

संघीयता कार्यान्वयनकै चरणमा २०७३ सालमा स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा स्थानीय तहको नाम, साँध, सीमाना र केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ५० भन्दा बढी निवेदन परे । राजनीतिक दलले आफ्नो स्वार्थअनुरूप वडाको सिमाना र केन्द्र तोकेको भन्दै सोको हेरेफरको माग गरिए पनि कार्यान्वयन हुन सकेन ।

त्यसयता, २०७४ मा पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए । स्थानीय तहको पुनःसंरचनाको क्रममा मोहन्यालमा वडा नम्बर २ को खिमडीमा गाउँपालिकाको केन्द्र तोकिएको थियो । सुरुमा साबिकका पण्डौन, सुगरखाल र मोहन्याल गाविस मिलाएर गाउँपालिका बनाइएको थियो ।

सोही क्रममा पालिका केन्द्र खिमडीसम्म पैदल हिँडेर ३/४ दिन लाग्ने र सेवाग्राहीलाई सेवा प्रदान गर्न सास्ती भएपछि पालिकाको केन्द्र पायक पर्ने ठाउँमा सार्न आवाज उठ्न थाल्यो । भौगोलिक विकटता, सेवा प्रवाहमा असहजता, भौतिक पूर्वाधार, टेलिफोन, स्वास्थ्य, बिजुली, खानेपानी, यातायात लगायतको पहुँच नभएकाले सबैलाई पायक पर्ने गरी केन्द्र सार्नुपर्ने माग उठेको हो ।

तर, २०७४ देखि नै मोहन्यालको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेन । यसअघि गाउँपालिकाको ११ औँ गाउँसभामा सहमति जुट्न सकेको थिएन । त्यसयता पटक–पटक कार्यपालिका बैठक स्थगित भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५, दफा ६ र ७ मा स्थानीय तहको सीमाना हेरफेरसम्बन्धी व्यवस्था छ । सो ऐनको दफा ५ मा वडाको साँध, सीमाना र केन्द्रसम्बन्धी व्यवस्था गरिएको छ ।

स्थानीय तहको सीमाना हेरफेर वा गाभ्न तथा केन्द्र स्थानान्तरणका लागि पालिकाले दुई तिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने हुन्छ । सो निर्णय प्रदेश सरकारमा पठाउनुपर्ने व्यवस्था छ । प्रदेश सरकारबाट पारित गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने र मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेपछि मन्त्रिपरिषद्को निर्णयबाट मात्रै टुङ्गो लाग्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप