शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

आइतबार, १७ भदौ २०८०, २० : ५३
आइतबार, १७ भदौ २०८०

म्याग्दी ।  जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो
। 
जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए । “मौसममा सुुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।”

तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुुईजना आन्तरिक पर्यटक मुुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । 

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । 

आर्थिक वर्ष २०७९–८० मा ७१ हजार जना विदेशी पर्यटकले मुुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । केही दिनयता बेनी–जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप