सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक एक, गतिविधि अनेक

आइतबार, ११ चैत २०७४, १३ : १७
आइतबार, ११ चैत २०७४

काठमाडाै- नेपाली काँग्रेसका लागि नयाँ रक्तसञ्चार प्रवाह गर्ने ठानिएको केन्द्रीय समितिको बैठक कर्मकाण्डी पारामै सकिने चिन्ता काँग्रेसीजनमा बढेको छ । गत शुक्रबारदेखि सुरु भएको कार्यसमिति बैठकमा आक्रमणको तारो सभापति शेरबहादुर देउवा भएका छन् । दुई दिनको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले देउवाको आलोचना गरेका छन् भने केहिले देउवाको बचाउ गरेका छन् ।
 
ईयूको विषयमा बोलेन काँग्रेस 
मङ्गलबार ईयूले सार्वजनिक गरेको प्रतिवेदनप्रति सरकार तथा अन्य दलले आपत्ति जनाएर कडा वक्तव्य जारी गर्दासमेत प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन । शुक्रबार र शनिबार बैठकमा शीर्ष नेताहरूले पनि बोल्ने क्रममा ईयूप्रति मौन देखिए । 

काँग्रेसले बैठक स्थगितपछि जारी गरिएको सूचनामा पनि ईयूको विषयमा कुनै धारणा बाहिर ल्याइएको छैन । नेताहरू कृष्ण सिटौला, अर्जुननरसिंह केसी तथा नविन्द्रराज जोशी र धनराज गुरुङले बाहिर पत्रकारहरूसँग बोल्ने क्रममा ईयूको प्रतिवेदनप्रति आपत्ति जनाए तर बैठकमा उक्त विषयले प्रवेश नै पाएन । ईयूको प्रतिवेदनलगत्तै केन्द्रीय समितिको बैठक डाकिएकाले बैठकको समापनसँगै आधिकारिक धारणा ल्याउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

ईयूले आरक्षणका लागि समावेश गरिएका समूहबाट खस आर्यलाई हटाउन सुझाव दिएको थियो । साथै निर्वाचन कार्यालय र प्रेस काउन्सिलको कामप्रति पनि असन्तुष्टि व्यक्त गरेको थियो । सरकार, निर्वाचन आयोग, प्रेस काउन्सिलले ईयूको प्रतिवेदनप्रति आपत्ति जनाइसकेका छन् । तर प्रतिपक्ष दलले यस विषयमा आधिकारिक धारणा बाहिर ल्याउन विलम्ब गरेको छ । 

कर्मकाण्डी पारामा बैठक 
चुनावी समीक्षाका लागि शुक्रबारदेखि बोलाइएको बैठक निर्धारित समयभन्दा एक घण्टापछि मात्रै सुरु भएको थियो । पहिलो दिन बैठक सुरु हुने वित्तीकै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आठ पेजको लिखित मन्तव्य सुनाए । ३५ मिनेट बोलेका सिंहको लगत्तै अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना धारणा राखे । अलिखित रूपमा प्रस्तुत भएका सिटौलाले करिब ५० मिनेट खर्चेका थिए । पहिलो दिनको तेस्रो वक्ताका रूपमा डा. नारायण खड्का केही मिनेट बोले । 

तीन नेता बोलेपछि २ बजेतिर सभापति देउवा खानका लागि बाहिरिए ।  देउवा बाहिरिएपछि स्थगित बैठकका नेताहरू बेकामे भए । टी ब्रेकसँगै नेताहरू यताउता रल्लिन र गफगाफमा भुलेका थिए  । २ बजे निस्किएका देउवा ४ बजे मात्रै केन्द्रीय कार्यालयमा फर्के । देउवा फर्केसँगै सुरु भएको बैठकमा कुनै पनि वक्ता नभएका कारण स्थगित गरिएको थियो । बोल्ने क्रममा रहेका भिष्मराज आङदम्बे र नविन्द्रराज जोशी कार्यालयबाट निस्किसकेकाले शनिबार बस्ने गरी बैठक टुङ्याइयो । 

शनिबारका लागि ११ बजे बोलाइएको बैठक पनि निर्धारित समयमा सुरु हुन सकेन । मध्यान्ह १२ बजेपछि सुरु भएको बैठकको प्रारम्भमा अस्वस्थ नेता नरहरि आचार्यलाई सुरुमा बोल्न दिइएको थियो । आचार्यपछि नविन्द्रराज जोशी, किरण गुरुङ, दिलेन्द्रप्रसाद वडु, हरि नेपाल र जीवनबहादुर शाहीले आफ्ना धारणा राखे । दोस्रो दिन पनि २ बजेपछि सभापति देउवा खानाका लागि बैठक स्थगित गरियो । 
सभापति देउवा करिब दुई घण्टापछि मात्रै कार्यालय फिरेका थिए । अपरान्ह सुरु भएको बैठकमा वीरबहादुर वलाएर र गुरुराज घिमिरे बोले पछि सोमबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । 

बैठकका तारो देउवा
स्थानीय, प्रदेश तथा केन्द्र सरकारमा ‘लज्जास्पद’ हार बेहोरेको नेपाली काँग्रेसमा हारको जिम्मेवारी सभापतिले लिनुपर्ने भन्दै देउवाको चर्को आलोचना भएको छ । केन्द्रीय समिति बैठकको पहिलो दिन पहिलो वक्ता भएर बोलेका प्रकाशमान सिंहले अधिकांश समयमा देउवाको कार्यशैलीमा प्रश्न उठाएका थिए । देउवा अराजक र अराजनीतिक भएको सिंहले आरोप लगाएका थिए । 

पूर्व महामहामन्त्री रहेका अर्का नेता सिटौलाले पनि देउवाको कार्यक्षमताको प्रश्न उठाए । सिटौलाले सभापतिलाई विधान विपरीत समिति तथा पदाधिकारी चयन गरेर पार्टी कब्जा गर्नसक्ने तर वापपन्थीको कब्जाबाट भने मुलुकलाई मुक्त गर्न नसक्ने दाबी गरे । अर्का नेता डा. नारायण खड्काले गुटको सुरुवात देउवाबाट भएको आरोप लगाँउदै देउवाबाटै गुटको अन्त्य हुनुपर्ने बताए । 


दोस्रो दिन बोलेका वीरबहादुर वलायर र जीवनबहादुर शाहीले देउवाको बचाउ गरे पनि अन्य नेताहरूले नेतृत्वको कमजोरी देखाए । नविन्द्रराज जोशी र कल्याण गुरुङले देउवालाई विधान पढाउने काम गरे । 

संयुक्त प्रस्ताव तयार गर्दै युवा नेताहरू 
लिखित र अलिखित धारण राख्ने क्रममा केही युवा नेताहरूले सोमबारको बैठकमा संयुक्त रूपमा प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन् । बैठकको सुरुवातदेखि नै संयुक्त प्रतिवेदनका लागि जुटेका युवाहरूले प्रस्ताव तयारिका लागि आज संयुक्त बैठक बस्ने बताइएको छ । संयुक्त प्रतिवेदनमा २२ युवाहरूको हस्ताक्षर हुने बताइएको छ । 
युवाहरूले नेतृत्वलाई दबाबसहित अग्रिम महाधिवेशनको माग गर्ने बताइएको छ । संयुक्त प्रस्तावका लागि नविन्द्रराज जोशी, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परियारलगायतका नेताहरू जुटेका छन् । संयुक्त प्रस्तावका अभियानकर्ता जोशीले युवा नेताहरू छलफलका क्रममा रहेको वताए । ‘महासमिति हुँदै अग्रिम महाधिवेशनका मागसहितको प्रस्ताव प्रस्तुत गरिने उनले बताए । 

‘संसदमा प्रभावकारी भूमिका भएन’


नेता कृष्ण सिटौलाले पहिलो दिनको बैठकमा काँग्रेसको भूमिका संसदमा प्रभावहीन भएको भन्दै नेतृत्वको आलोचना गरे । संविधान विपरीत वाम गठबन्धनका कार्यहरू अघि बढेको बताउँदै देउवाले काँग्रेस प्रभावहीन भएको बताए । सिटौलाले संविधानमा व्याख्या गर्दै सभामुख र उपसभामुख एउटै दलको सदस्य हुनु नहुने बताए । संविधानको  स्पष्ट व्यवस्थालाई काँग्रेसले उठाउन नसकी निरिह भएको भएको बताए । ‘यसै विषयले दुई चार दिन संसद अवरुद्ध गरिदिएको भए के हुन्थ्यो ?’ नेतृत्वलाई प्रश्न गरे । 

प्राङ्गण र चमेना गृहमा पनि काँग्रेसकै चिन्ता 
बैठकका लागि नेताहरूसँगै कार्यालयमा सहयोगी हुन् वा नेता भेट्न जम्मा भएका कार्यकर्ताले काँग्रेसको भावी अवस्थाका बारेमा चिन्तित देखिन्थे । सल्यानबाट आएका एक कार्यकर्ताले जिल्लाको अवस्थाबारे बताउँदै भने ‘काँग्रेसको बेहाल छ ।’

क्यान्टिनमा भेला भएका एक कार्यकर्ताले देउवाले नै काँग्रेसको नेतृत्व गरिरहने हो भने काँग्रेस अर्को पाँच वर्षमा अझ तल पुग्ने दाबी गरे । टी ब्रेकका लागि रोकिएको समयमा गफिएका नेताहरू पनि काँग्रेसको चिन्तामै व्यस्त थिए । नेपाली काँग्रेसको पछिल्लो समय गुटहरूको समन्वय गरिरहेका अर्जुननरसिंह केसीले बाउको अधिकार हत्याउन छोरालाई त हम्मेहम्मे पर्छ भने सानो बलले सभापतिले छोड्छन् भनी पत्याउन गल्ती हुने बताउँछन् । 

निर्वाचन पराजयको समीक्षाका लागि तीन महिनापछि डाकिएको बैठकमा काँग्रेसले नयाँ विधि तय गरेको छ । बैठकमा वक्ताहरूलाई समयको बन्देज लागू गरिएको छैन ।  लिखित तथा अलिखित धारणा राख्ने क्रममा चाहे जति समय नेताहरूलाई उपलब्ध गराइएको छ । विचारहरू विस्तारित रूपमा प्रस्तुत गरियोस् भनेर नै समयको बन्देज नगरिएको शर्माले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप