शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा दासलाई सम्मान

मङ्गलबार, १९ भदौ २०८०, ११ : ४७
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो । उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरे । 

कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले रेडक्रसले विभिन्न आरोह–अवरोह गर्दै अहिलेको अवस्थामा आएको भन्दै यसलाई अगाडि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे। रेडक्रसप्रतिको लगनशीलता र इमान्दारितालाई अगाडि बढाउने उनको भनाइ छ  । “मानवताको सेवाका लागि हामी निरन्तर लाग्छौँ”, उनले भने ।

अध्यक्ष नेपालले आफू अध्यक्ष भएर आएपछि वार्षिक साधारणसभा सम्पन्न गरेकाले अब संस्थालाई नवीकरण गर्ने, विधान संशोधन गरेर अगाडि बढ्ने बताए । संस्थालाई सुमधुर वातावरणमा असल नियतले काम गरेर अगाडि बढाउने उनको भनाइ छ । “हामी सबैको एउटै मिसन र धारणा छ, हामी संस्थालाई पूर्णरूपमा मानव सेवामा लगाउँछौँ”, उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष मानन्धरले नेपालमा रेडक्रस स्थापनामा डा दासको भूमिका महत्वपूर्ण रहेको बताए । “व्यक्तिको कारणले रेडक्रसमा दाग आउने काम गर्न दिन हुँदैन, मेरो कारणले रेडक्रसलाई बदनाम गर्न दिन्न भन्ने प्रतिबद्धता सबै रेडक्रसमा आबद्ध सदस्यले गर्नुपर्छ”, उनले भने । उनले रेडक्रसलाई हरेकको मन–मनमा ल्याउने काममा लाग्न सबै लाग्नुपर्ने बताए ।

विसं २०७२ को विनाशकारी भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ छ  । डा दासलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रवक्ता मानन्धरले बताए । सम्मानित व्यक्तित्व डा दासले काठमाडौँ शाखाले आफ्नो योगदान सम्झेर सम्मान गरेकामा धन्यवाद व्यक्त गरे ।

सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, सोसाइटीका केन्द्रीय कोषाध्यक्ष वीरबहादुर बस्नेत, सोसाइटी बागमती प्रदेशका उपमहासचिव राजेन्द्र बानियाँलगायतले देशभर नेपाल रेडक्रस सोसाइटीको अभियानलाई अगाडि बढाउन डा दासको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले विश्वमा रेडक्रस स्थापना भएको एक सय वर्षपछि नेपालमा स्थापना भएको रेडक्रसले मानवतासँग जोडिएका हरेक क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे । उनले काठमाडौँ रेडक्रसले डेङ्गु नियन्त्रण, रक्तदान, विपन्न तथा गरिबलाई आर्थिक तथा खाद्यान्न सहयोग, युवालाई तालिम प्रदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

विसं १९८१ मा सिरहाको इनरुवामा जन्मनुभएका डा दासले काठमाडौँ जिल्ला शाखामा बसेर नेपाल रेडक्रस सोसाइटीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रसहित सात प्रदेश ७७ जिल्ला र एक हजार छ सय उपशाखा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप