शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : कृष्ण जन्माष्टमी

गीताको व्यावहारिक तथा मनोवैज्ञानिक पक्ष

बुधबार, २० भदौ २०८०, १२ : ५५
बुधबार, २० भदौ २०८०

श्रीकृष्णले महाभारत युद्धको पूर्वसन्ध्यामा कुरुक्षेत्रको रणभूमिमा सर्वश्रेष्ठ धनुर्धारी अर्जुनलाई पात्र बनाई मनुष्य मात्रको कल्याणको निम्ति दिएका उपदेशको सङ्ग्रह भगवद्गीता आध्यात्मिक दृष्टिले मात्र नभई सामाजिक, मनोवैज्ञानिक, एवं व्यावहारिक दृष्टिकोणले पनि एक महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । 

अठार अध्यायमा विभक्त सात सय श्लोकमा वर्णित गीताका अमृतवाणी अहिले मानिसले पृथ्वी, आकाश, चन्द्रमालगायत विविध क्षेत्रमा विजय हासिल गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा मानवीय प्रयास उच्चतम बिन्दुमा पुगेको अवस्थामा समेत समयसापेक्ष तथा सान्दर्भिक मान्न सकिन्छ । 

श्रीकृष्ण द्वैपायन अर्थात् वेदव्यासद्वारा लिपिबद्ध गरिएको गीता अर्थात् ईश्वरको गीत चारै वेद एवं उपनिषद्हरूको सार हो । भनिन्छ, श्रीकष्ृणरूपी ग्वालाले चारवेदरूपी चौपाया गाई, अर्जुनरूपी बाच्छोलाई पात्र बनाएर गीताका रूपमा अमृतमय दूध दुहेर सम्पूर्ण मानव समुदायको निम्ति उपलब्ध गराएका हुन् ।

गीताको महत्त्व दर्साउँदै महात्मा गान्धीले भनेका छन्– जब कुनै समय मलाई केही कुरामा संशय हुन्छ र अनुहारमा चिन्ताका रेखा देखिन थाल्छन् र आशाको एउटा पनि किरण देख्दिनँ, तब म भगवद्गीता पल्टाउँछु । त्यसमा एउटा त्यस्तो श्लोक फेला पर्छ, जसले मलाई दुःखको क्षणमा पनि हर्षित तुल्याइदिन्छ र मेरो अनुहारमा मुस्कानका रेखाहरू देखापर्न थाल्छन् ।

यहाँ गीताबाट हामीले पाउन सक्ने केही प्रेरणा तथा शिक्षाका बारेमा शङ्करभाष्यमा आधारित भई बुँदागत विश्लेषण गर्ने प्रयास गरिन्छ ।

मानिसलाई गलत कार्य गर्न कसले प्रेरित गर्छ ?

गीतामा ज्ञान, कर्म र भक्तिका बारे मात्र होइन, मानिसको मनोविज्ञानबारे पनि निकै रहस्यपूर्ण तथा गहना कुरा उल्लिखित छन् । अर्जुनले श्रीकृष्णलाई प्रश्न गर्छन्, मानिस किन नचाहँदा, नचाहँदै पनि कसैले बलपूर्वक लगाए जस्तै गलत कार्य गर्न प्रवृत्त हुन्छन् ? (गीता ३।३६)

वास्तवमा हाम्रो मन कतिपय अवस्थामा आफ्नो अधीनमा हुँदैन । हामीले कुनै कार्य खराब वा हानिकारक छ भन्ने थाहा हुँदै हुँदै पनि त्यसलाई रोक्न सकिरहेका हुँदैनौँ । यसको समाधानका उपाय पनि गीतामै पाइन्छ । श्रीकृष्ण भन्छन्, मानिसले इन्द्रियका विषय जस्तै सुगन्ध, सुन्दर दृश्य, मधुरो आवाज आदिबारे निरन्तर चिन्तन गरिरहेमा ती विषयप्रति उसको आशक्ति उत्पन्न हुन्छ, आशक्तिले गर्दा कामना वा इच्छा उत्पन्न हुन्छ र त्यो इच्छा पूर्ति गर्ने क्रममा कतैबाट बाधा, अवरोध आएमा क्रोध उत्पन्न हुन्छ अनि क्रोधले गर्दा कर्तव्य, अकर्तव्यको विवेक नष्ट हुन्छ अर्थात् कुन सही र कुन गलत भन्ने कुराको ज्ञान नष्ट उसको बुद्धि भ्रष्ट हुन्छ र त्यसले मानिसलाई पतन गराउँछ । (गीता २।६२, ६३, ६४) तसर्थ राम्रो नतिजा चाहने मानिसले राम्रो कुराको मात्र चिन्तन गर्नुपर्छ, खराब कुराको चिन्तन गरेमा त्यसले मानिसको पतन गराउँछ । यसरी हामीले पूर्वकालमा गरेको चिन्तनले हाम्रो मनलाई अनुबन्धित बनाएको हुन्छ, त्यही अनुरूप व्यवहार गर्न हामी बाध्य हुन्छौँ ।

शरीर नचलाईकन मनले कामना गर्नु पनि कर्म नै हो

गीताका अनुसार हातखुट्टा आदि कर्मेन्द्रीयले गरेका क्रियाकलापलाई मात्र कर्म भनिँदैन मनद्वारा गरिने कामना वा चिन्तनलाई पनि कर्म नै मानिएको छ, जसबाट हामीलाई खराब, असल फल प्राप्त हुन्छ ।

श्रीकृष्ण भन्छन्, ‘जो मानिस हातखुट्टा बाँधेर बस्छन्, तर इन्द्रियहरूले विषय भोगको चिन्तन गरिरहन्छ, त्यस्तो मानिस ढोँगी हो । जो मानिस हातखुट्टा नचलाईकन मनले अनेक विषय, वासनाहरूको कल्पना गरेर मजा लिन्छ, त्यसले पनि कर्म नै गरेको ठहर्छ । कसैले अरू कसैको अहित हुने कामना गर्छ, उसको बारेमा नराम्रो कुरा सोच्छ वा गाली गर्छ भने त्यो पनि कर्म नै ठहर्छ, जसको फलको भागी ऊ हुन्छ । यसरी कर्मेन्द्रियले वास्तविक कर्म गर्ने व्यक्ति ज्ञानेन्द्रियले कामना गरी रस लिने भन्दा श्रेष्ठ हुन्छ ।’ (गीता ३।६,७)

कर्मयोगी र साधारण मानिसबीच भेद दर्साउँदै श्रीकृष्ण भन्छन्, बुद्धिमान् मानिस कर्ममा अकर्म देख्छन् र अकर्ममा कर्म देख्छन् । भन्नुको तात्पर्य कर्मले केवल शारीरिक क्रियाशीलतालाई मात्र जनाउँदैन शरीर नचलाए पनि मानिसको मनले कामना गरिरहन्छ भने त्यसले कर्म गरेको ठहर्छ । आत्मज्ञानीले साधारण मानिसले कर्म नगर्दा पनि कर्मको चिन्तन गरिरहँदा त्यहाँ कर्म देख्छन् । तर जो ज्ञानी छ, उसमा अहङ्कारको अभाव हुने हुँदा ऊ शारीरिक रूपमा क्रियाशील हुँदा पनि मन शान्त हुन्छ । उसले केही गरेको ठहर्दैन र ऊ त्यस कर्मफलको भागीदार हुँदैन । तर सामान्य मानिसले त्यस प्रकारको अकर्ममा पनि कर्म देखिरहेको हुन्छ । (गीता ४।१८)

आफूलाई शरीर ठान्नु नै दुःखको कारण

गीतामा श्रीकृष्ण भन्छन्, ‘नजायते मृयते वा कदाचिन्नायं भूत्वाभविता वा न भूयः’ (गीता २।२०) अर्थात् यो आत्मा न जन्मन्छ, न मृत्यु नै वरण गर्छ । किनकि यो नित्य, अजन्मा र शाश्वत छ । मानिस जन्मछ, हुर्कन्छ, जवान र वृद्ध हुन्छ अनि एक दिन उसको मृत्यु हुन्छ । ऊ कहिले दुब्लो हुन्छ त कहिले मोटो, कहिले होचो त कहिले अग्लो । त्यसै गरी ऊ कहिले बिरामी हुन्छ त कहिले स्वस्थ, कहिले हर्षित हुन्छ त कहिले चिन्ता र तनावले ग्रस्त । यी सबै परिवर्तन जुन मानिसमा देखापर्छ, त्यो शरीरमा मात्रै हो, आत्मा वा चेतनामा हैन । त्यसै गरी गीतामा भनिएको छ, यो आत्मालाई न कसैले जलाउन सक्छ, न शस्त्रले काट्न वा न नष्ट गर्न नै सक्छ । जब मानिसले आफूलाई शरीर भनी त्यससँग जोड्छ, त्यहीँबाट सबै प्रकारका दुःख सुरु हुन्छन् । बुद्धिमान् मानिसहरू बाँचेकाहरूका निम्ति पनि शोक गर्दैनन् र मरेकाहरूको निम्ति पनि शोक गर्दैन भन्ने उपदेश दिँदै श्रीकृष्ण भन्छन्, तिमीले त्यस्तो विषयमा शोक गर्दैछौ जुन शोक गर्न लायकको छैन । मानिस बाल्य अवस्थाबाट जवान अवस्था हुँदै वृद्ध अवस्था प्राप्त गर्छन् । तर त्यो आत्माको अवस्था नभई शरीरको परिवर्तन मात्र हो । पहिलो अवस्थाको नाश हुँदैमा आत्मा नष्ट हुँदैन । त्यसै गरी दोस्रो अवस्था वा तेस्रो अवस्थाको नाश हुँदैमा आत्मा नष्ट हुँदैन । शरीर त लुगा समान हो, मृत्युको समय शरीर मात्र फेरिने हो । आत्मा त अविनाशी छ, निर्विकार र नित्य छ । तिमी यो कुरा बुझेर शरीरप्रति मोहित नहोऊ, श्रीकृष्ण सम्झाउँछन् । सबै दुःखको जड हामीले आफूलाई निर्विकार र नित्य आत्मा वा चेतनासँग नजोडीकन, नाशवान् शरीरसँग जोड्नाले नै हो, भन्ने यसको निष्कर्ष हो ।

स्वधर्म नै सर्वश्रेष्ठ धर्म हो

श्रीकृष्ण अर्जुनलाई उनको क्षत्रिय धर्मबारे सम्झाउँदै भन्छन्, स्वधर्म नै सर्वोत्कृष्ट धर्म हो । अर्काको धर्म जतिसुकै राम्रो भए पनि आफ्नो धर्ममा स्थिर भई लाग्नाले नै मानिसको कल्याण हुन्छ, गीतामा भनिएको छ । कुरुक्षेत्रको युद्ध भूमिमा धनुषवाण लिएर धर्मयुद्धको निम्ति उभिएका अर्जुन अज्ञान र मोहका कारण युद्धभूमि छाडेर जाने स्थितिमा पुगेका बखत श्रीकृष्णले उनलाई क्षेत्रिय धर्मबारे सचेत गराउँछन् र आफ्ना प्रजा तथा राज्यको रक्षा गर्ने क्षत्रिय राजाको कर्तव्य बोध गराउँछन् । 

दुर्योधनलगायत कौरव सेनाहरूको विरुद्ध रणभूमिमा उभिएका अर्जुन आफूहरूलाई विगतमा गरिएका अन्याय र अत्याचारका घटनाहरू बिर्सेर आफ्ना मामा, काका, हजुरवा, भाइ, गुरु आदिको साम्मुख उभिँदा उनको हात थर्थर काँपेर गाण्डिव धनुषसमेत भुइँमा खस्छ । शोक र मोहले ग्रस्त भएका अर्जुनले आफ्नो क्षत्रिय धर्मसमेत बिर्सेर भिक्षा मागेर खाने जस्तो अर्काको धर्म अँगाल्न ऊ प्रवृत्त भएपछि श्रीकृष्णले उनलाई सम्झाएर युद्धभूमिमा आफ्नो क्षत्रिय धर्म पालना गर्न अभिप्रेरित गर्दछ । यहाँ अर्जुनलाई श्रीकृष्णले युद्ध गर भनी आदेश दिएको नभई आफ्नो क्षत्रिय धर्म पालना गर्नका निम्ति युद्धलाई अपनाउने अनुमति मात्र दिएको हो, आदि शङ्कराचार्य गीतामाथि टिप्पणी गर्दै भनेका छन् । 

सुखदुःखमा जो समभाव राख्छ, उही योगी हो

गीतामा भनिएको छ, जो सुख, दुःख, हर्ष, विष्मात्, जाडो, गर्मीमा समभाव राख्छ उसलाई धीर पुरुष भनिन्छ र त्यस्ता व्यक्ति नै मुक्तिको हकदार हुन्छन् । अर्थात् हामीले जीवनमा समय, समयमा आइपर्ने उतार, चढावसँग आत्तिएर वा मात्तिएर हैन, दुवै अवस्थाप्रति समान भाव राखेर र त्यसबाट अविचलित भई जो आफ्नो कर्तव्यपथमा अगाडि बढ्न सक्छ, उसैले जीवनमा सफलता हासिल गर्न सक्छ । 

इन्द्रियहरूको विषयहरूसँगको स्पर्शले सुख, दुःख, शीत, उष्ण आदि अवस्था उत्पन्न भइरहन्छन् तर ती नित्य हैनन् । तसर्थ त्यो अनित्य कुरालाई सहन गर्ने क्षमता राख, श्रीकृष्ण भन्छन् । जो मानिस सानो कुराले आत्तिन्छ र सानो कुराले मात्तिन्छ त्यस्ता व्यक्तिले कहिल्यै प्रगति गर्न सक्दैन र त्यस्ता व्यक्ति सत्य प्राप्तिको मार्गमा कदापि अगाडि बढ्न सक्दैन । जसको अन्तःकरण ज्ञान र विज्ञानले तृप्त छ, जसले मनलाई विकाररहित बनाई इन्द्रियहरूमाथि विजय प्राप्त गरेको छ र जसकालागि ढुङ्गा, माटो र सुनबीच केही भेद छैन, त्यस्तो व्यक्ति योगी कहलाउँछ, गीता शास्त्रमा भनिएको छ ।

संयमित मन मित्र हो, असंयमित मन शत्रु

जसले आफ्ना मन र इन्द्रियमाथि विजय प्राप्त गरेको छ उसको निम्ति आफ्नो मन नै मित्र हो । जसले मन, इन्द्रियहरूलाई जित्न सकेको छैन, उसको निम्ति आफू नै शत्रु समान हुन्छ । (गीता ६।६) 

त्यसै गरी गीतामा भनिएको छ, आफूद्वारा आफँैलाई उद्धार गरोस् किनभने आफूनै आफ्नो मित्र हो र आफू नै आफ्नो शत्रु हो । तसर्थ गीतामा मनलाई वशमा पार्ने सल्लाह दिँदै श्रीकृष्ण अर्जुनलाई सर्वप्रथम इन्द्रियहरूलाई वशमा पारेर ज्ञान र विज्ञानलाई नष्ट गर्ने पापी कामनालाई बिदा गर्न आग्रह गर्छन् । त्यसै गरी श्रीकृष्ण भन्छन्, जसको मन समभावमा स्थित छ, उसले संसारमाथि नै विजय प्राप्त गर्दछ । (गीता ५।१८)

मानिसले आनन्दको स्रोत कतै बाहिर खोज्ने हैन, त्यो आफैँभित्र हुन्छ । जो सुख बाहिरी वस्तुबाट प्राप्त हुन्छ, त्यो क्षणिक हुन्छ र त्यसरी बाहिर सुख खोज्ने व्यक्ति परनिर्भ हुन्छ । तसर्थ श्रीकृष्ण भन्छन्, जुन मानिस अन्तरात्मामा नै सुखी छ, जसले आत्मामा नै रमण गर्दछ, त्यस्तो पुरुषले अनन्त शान्ति अर्थात् परमात्मभाव प्राप्त गर्दछ । (गीता ५।२४)

त्रिगुणात्मक प्रकृतिको रहस्य

प्रकृति तीन प्रकारका गुणहरू सत्व, रज र तमद्वारा सञ्चालित हुन्छ । यी तीन गुणहरूको व्याख्या गर्दै गीतामा भनिएको छ, सत्वगुणले सुख प्रदान गर्छ, रजोगुणले कर्ममा लगाउँछ भने तमोगुणले ज्ञानलाई ढाकेर आलस्य, क्रोध तथा मूढ अवस्था उत्पन्न गराउँछ । सत्वगुणले चेतना र विवेकशक्ति उत्पन्न गराउँछ भने रजोगुणले लोभ र विषयभोगको इच्छा वृद्धि गराउँछ । त्यस्तै तमोगुणले क्रोध, आलस्य र अकर्मण्यता वृद्धि गराउँछ । त्यसै गरी महेश्वरलाई तमोगुणी अर्थात् संहारकर्ता, ब्रह्मालाई रजोगुणी अर्थात् सृष्टिकर्ता र विष्णुलाई सत्वगुणी अर्थात् पालनकर्ता पनि भनिएको छ । श्रीकृष्ण अर्जुनलाई भन्छन्, जसले यी तीनै गुणलाई केवल साक्षी भएर हेर्छ र जीवनको उतार, चढावमा जो विचलित हुँदैन, त्यस्ता व्यक्ति गुणातीत अवस्थामा पुगेर परम् शान्ति प्राप्त गर्दछ ।

गीतामा किन फललाई भन्दा कर्मलाई जोड दिइएको ?

गीताज्ञानमा अर्जुनलाई उपदेश दिँदै श्रीकृष्ण भन्छन्ः कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन, मा कर्मफलहेतुर्भूमा ते संगोऽस्त्वकर्मणि ।। (गीता २।४७)

अर्थात् कर्म गर्नमा मात्र तिम्रो अधिकार छ नकि फल प्राप्तिमा । त्यसो भनेर कर्म नगर्नमा पनि तिमी आशक्ति नराख ।

गीताको सबैभन्दा महत्त्वपूर्ण मानिने यस श्लोकमा व्यावहारिक, सामाजिक, मनोवैज्ञानिक तथा आध्यात्मिक पक्षहरू छन् ।

मानिसले कर्म गर्दा फलबारे धेरै चिन्तन गर्न थाल्यो भने कर्ममा उसले ध्यान दिन सक्दैन । त्यस्तो कर्मले उचित नतिजा प्राप्त हुँदैन । यहाँ फल प्राप्तिको आश नगर भन्नुको तात्पर्य फलको उपभोग नगर वा फल प्राप्त नै नगर भन्ने होइन । कर्म गरेपछि अवश्यम्भावी फल प्राप्त हुन्छ नै । तर फलप्रति आशक्ति नराखीकन कर्म गर्दा ऊ राम्रो नराम्रो जस्तोसुकै फल प्राप्त हुँदा पनि विचलित हुँदैन, अर्थात् उसको मनले सन्तुलन गुमाउँदैन । कुनै उद्देश्य मनमा राखेर काम सुरु गरेपछि बार, बार त्यो उद्देश्य वा फलको चिन्ता गर्न थाल्यो भने त्यसले कर्ममा एकाग्रता रहँदैन, जसले गर्दा उसको कार्य सफल हुँदैन । अर्को कुरा हामीले सधैँ आफ्नो स्वार्थ पूर्तिको उद्येश्यले मात्र कार्य गर्ने हैन कहिलेकाहीँ परोकारी दृष्टिले पनि कर्म गर्न पर्ने हुन्छ । जस्तै व्यावसायिक कम्पनीहरूले कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीको निम्ति कतिपय सेवामूलक काम गरिरहेको हुन्छ, जसले त्यस कम्पनीको ख्याति बढ्न गई अन्ततोगत्वा कम्पनीलाई नै लाभ प्राप्त हुन्छ । 

यसको आध्यात्मिक पक्ष भनेको फलको आससहितको कर्म मानिसको बन्धनको कारण बन्नु हो । कर्म फलमा आशक्ति भएपछि मानिस बारबार जन्ममृत्युको चक्रमा फसिरहन्छ । त्यसबाट कहिल्यै मुक्त हुन सक्दैन । किनभने त्यो फल उपभोग गर्ने इच्छाले गर्दा उसले अर्को जन्म लिन्छ । त्यस जन्ममा पनि फलप्रति आशक्ति राख्नाले फेरि अर्को कर्म गर्नुपर्ने हुन्छ । त्यो कर्मफल भोग गर्न, पुनः पुनः जन्म लिइरहनुपर्ने हुन्छ । तसर्थ फलमा आशक्ति नराखीकन कर्म गर्नाले फलको उपभोग गर्दा पनि ऊ बन्धनमा बाँधिँदैन ।

अन्त्यमा

ज्ञानद्वारा मुक्ति प्राप्त हुन्छ कि कर्मद्वारा ?

गीतामा अर्जुनलाई श्रीकृष्णले कर्म गर्न बारम्बार आग्रह गरिरहँदा अर्जुनले प्रश्न गर्छन्, भगवान्, कर्मको अपेक्षा ज्ञान श्रेष्ठ हो भनेर तपाईंले कुनै बखत भन्नुभएको थियो तर मलाई किन यस्तो हिंसारूपी क्रुर कर्म गर्न लगाउनुभएको हो ?

त्यसको प्रत्युत्तरमा श्रीकृष्ण भन्छन्, संसारमा दुई प्रकारका मानिस हुन्छन्, एउटा त आत्म, अनात्म विवेक भएको ज्ञाननिष्ठा भएका ज्ञानीहरू अर्को चाहिँ कर्ममा निष्ठा भएका कर्मयोगी । ज्ञान प्राप्त भएका व्यक्तिले मात्र कर्मसन्न्यास लिने हो, अरूले हैन, श्रीकृष्ण यसबारे प्रष्ट भन्छन् । उनले अर्जुनको चरित्र ज्ञानीको नभई कर्मयोगीको हुनाले कर्ममा लाग्ने आदेश उनलाई दिएका हुन् । ज्ञान मात्रै मुक्तिको कारक तत्त्व हो । कर्म हैन भन्ने प्रष्ट पार्दै गीतामा श्रीकृष्ण भन्छन्, तर जो ज्ञानी हैन उसले सञ्चित पापहरूलाई नष्ट गर्न कर्मयोगको अनुसरण गर्नै पर्छ । कर्म नगरीकन मानिस एक क्षण पनि बस्न सक्दैन । जसले निष्काम कर्मद्वारा सम्पूर्ण सञ्चित पाप नष्ट गरिसकेको हुन्छ, उसको चित्त मात्र निर्मल भई ज्ञान प्राप्त गर्नको निम्ति योग्य हुन्छ । श्रीकृष्ण यसरी सम्झाउँछन् । मलाई केही हासिल गर्नु छैन, मेरा केही उद्देश्य छैनन् तर पनि म लोक व्यवहारको निम्ति निरन्तर कर्म गरिरहन्छु, श्रीकृष्ण भन्छन् ।

गीताको अन्तिम अध्यायमा भनिएको छ–

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।। (गीता १८।६६)

अर्थात् सबै प्रकारका धर्म वा अधर्मलाई त्यागेर सबै कर्महरूबाट सन्न्यास लिई सबैको आत्मास्वरूप एक मात्र म परमात्माको शरणमा तिमी पर । अरू कुनै चिन्ता नलेऊ । म नै तिमीलाई सबै प्रकारका पापकर्महरूबाट मुक्त गराइदिन्छु । गीतामा अन्यत्र पनि श्रीकृष्णले भनेका छन्– तिमी सबै कर्म तथा कर्मफलहरू मलाई नै समर्पित गर, जसले गर्दा तिमी असल वा खराब सबै प्रकारका कर्मफलको बन्धनबाट मुक्त हुने छौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप